रोकिएन अतिक्रमण

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले गत वर्ष सुरु गरेको खोलानाला अतिक्रमण क्षेत्र खाली गर्ने अभियान बीचमै तुहिएको छ । मनपरि अतिक्रमणकै कारण बर्खाको पानी निकास हुन नपाएर धनगढी क्षेत्रमा जताततै डुबान हुने गरेको छ ।

‘जनप्रतितिनिधिहरू निर्वाचित भएर आएपछि सुरु गरिएको पहिलो कामै खोलानालामा गरिएको अतिक्रमण हटाउने अभियान हो,’ वडा १ का अध्यक्ष एवं धनगढी नगरका प्रवक्ता सन्तोष मुडभरीले भने, ‘विभिन्न कठिनाइले अभियानलाई गति दिन सकिएको छैन ।’ धनगढीमा खोलानाला अतिक्रमण गरी घरघरेडी बढाउने क्रम रोकिएको छैन ।

उनका अनुसार बनेका संरचना हटाउनभन्दा पहिला खोलानालाको क्षेत्र नाप्नुपर्ने भएकाले ढिलाइ भएको हो । ‘प्राविधिक टोलीले प्रतिवेदनै बुझाउन ढिलो गरेको छ,’ उनले भने, ‘प्राविधिक टोलीको प्रतिवेदनमा खोलानालाको कति क्षेत्र अतिक्रमणमा परेको नरपेको आउँछ । त्यसका आधारमा मात्रै एक्सनमा जान सकिन्छ ।’

उपमहानगरका इन्जिनियर कमल ओझाको संयोजककत्वमा कार्यदल गठन गरिएको छ । कार्यदल सदस्य कृष्ण शाहीले नगरपालिकाले खोलानाला अतिक्रमण क्षेत्र नाप्न प्राविधिक टोली गठन गरेको भए पनि त्यही काममा खटिएर काम गर्न नपठाएको बताए । ‘कार्यालयको कामसँगै बाँकी समय निकालेर खोलानाला अतिक्रमण क्षेत्र निकाल्न भन्यो,’ उनले भने, ‘त्यसरी वर्ष दिन होइन ५ वर्षमा पनि नगर क्षेत्रभित्रका खोलानाला नाप्ने काम सकिँदैन ।’

उनका अनुसार कार्यदलले कैलाली खोला मात्रै नापेर सकेको बताए । ‘उक्त खोलामा धेरैका घर र पर्खाल परेका छन्,’ उनले भने, ‘स्पेसल म्याडेन्ट दिएर टोलीलाई खोलानाला नाप्ने काम मात्रै दिइयो भने सम्पूर्ण अतिक्रमित क्षेत्र ६ महिनामा नाप्न सकिन्छ ।’ उनले साँझ–बिहान फुर्सदमा टोलीले काम गर्दा वर्ष दिनमा एउटा खोला नाप्न सकेको बताए ।

तर अहिले पनि कैलाली खोलाको त्रिनगर विद्यालयपछाडि देव तालिम केन्द्रमा माटो भरेर पुर्ने काम भइरहेको स्थानीयको आरोप छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बड भने ढिलो भए पनि अतिक्रममित क्षेत्र खाली गरेर छाडने बताउँछन् । नगर प्रमुखको आश्वासन र कार्यशैलीप्रति नगरवासी भने विश्वस्त छैनन् ।

स्थानीय पुष्पराज ओझाले अतिक्रमण गराउन उद्धत भएको नगरपालिकाले हटाउन नसक्ने बताए । ‘खोलानाला अतिक्रमण गरी बनेका घरहरूको नक्सापास नगरपालिका आफैंले गरेको छ,’ उनले भने, ‘कसरी हटाउन सक्छ ।’

नगरपालिकाकाले खोलामा बनेका घरको नक्सापास गर्‍यो । नगर विकास समितिले पैसा खाएएर खोलानाला, तालतलैया व्यक्तिका नाममा पास गरेको स्थानीय विष्णु भट्ट बताउँछन् । उनले खोलानाला मासिएपछि पानीको निकास नभएर धनगढी बजार क्षेत्र डुबानमा पर्ने गरेको बताए । ‘नगर क्षेत्र भित्रका साना–ठूला गरी दर्जन बढी खोला थिए,’ धनगढी उत्तर बेहडीका ७० वर्षीय रामबहादुर शाहीले भने, ‘२/४ खोला नालामा प्ररिणत भई अस्तित्वमा मात्र छन् ।’

उनका अनुसार साना खोल्सा सबै पुरिसकेका छन् । ठूला भनिएको कैलाली खोलाको क्षेत्रसमेत अतिक्रमिणत भई ठुल्ठूला घर बनेका छन् । त्यस्तै धनगढी ४ का सुरेन्द्र विष्टले घुस्याहा कर्मचारीतन्त्र र भ्रष्ट नेताको सहयोगमा खोलानाला मासिएको बताए ।

‘जहिलेदेखि नगर विकासमा राजनीतिक नियुक्ति भएर अध्यक्ष बन्न थाले,’ उनले भने, ‘उहिलेदेखि खोलाको जमिन पनि आफन्तलाई र पैसा खाएर बाँड्न थालेका हुन् ।’ उनले नगरपालिकाका कर्मचारीहरूले मापदण्डविपरीत रकम असुलेर घरको नक्सापास गरेको आरोप पनि लगाए ।

‘एकातिर खोलानाला मासिँदै गएका छन्, अर्कोतिर नगरमा व्यवस्थित ढल निकासको व्यवस्था भएन,’ राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष हरि रेग्मीले भने, ‘त्यसैले धनगढी डुबानको समस्यामा पर्दै आएको हो ।’उनले मापदण्डविपरीत घर निर्माणर खोला नालामा हुने अतिक्रमण रोकिनुपर्ने बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

काम नसकिँदै भासियो सडक

भवानी भट्ट

कञ्चनपुर — बहुचर्चित भारतको टनकपुर ब्यारेज जोडने ब्रह्मदेव लिंक रोड निर्माण पूरा नहुँदै भासिएको छ । असार अन्तिम साता कालोपत्रे गरिएको लिंक रोड भीमदत्त नगरपालिका ८ र १० को सीमानामा रहेको खन्या खोलाको पुल छेउमै भासिएको हो ।

खन्या खोला पुल छेउमा करिब ३ मिटर चौडा र ३० मिटर लामो क्षेत्रमा सडक भासिएको छ । स्थानीयका अनुसार गत साता वर्षाका बेलाउक्त सडक भासिएको हो । ‘भर्खर सडक पिच भएको हो, तर अहिले नै चर्किन थाल्यो,’ तिलकेनीका करसिंह धामीले भने, ‘पुल छेउमा खोलाको बालुवाभरान भएको थियो, त्यहि बगेर गयो, सडक चर्कियो ।’

चुरेबाट बग्ने खन्या खोलाको एउटा भंगालो तिलकेनीतर्फ जान्छ । सोही खोलाको पुल छेउमा सडक भासिएको हो । खोला किनारमा बलियो खालको पर्खाल निर्माण नभएकै कारण भासिएको स्थानीय बताउँछन् । ‘सडक भासिएपछि पुलको छेउमा बनाइएको पर्खाल पनि चर्किन लागेको छ,’ स्थानीय रामसिंह धामीले भने, ‘कालोपत्रे भएको महिनादिनमै सडक पुरै चर्कियो ।’

उक्त सडकको निर्माण ९५ प्रतिशत पूरा भएको छ । भीमदत्त नगरपालिका १, भासीदेखि ब्रह्मदेवसम्मको १२ किमि सडक निर्माणका लागि २०७३ फागुन ९ मा लामा/राजेन्द्र जेभी निर्माण कम्पनीसंँग २३ करोड ६६ लाख ४३ हजारमा ठेक्का सम्झौता भएको थियो । ०७६ भदौ ५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने समयावधि छ ।

‘भासिएको ठाउँसंँगै सडकमा अन्त पनि बीचमा ग्याप भएकाले मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन गरिसकिएको छ, ‘सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्ष्मण दत्त जोशीले भने, ‘सडकको निर्माण सकिएको छैन, काम जारी छ ।’ उनकाअनुसार सडकमा बायो इन्जिनियरिङ र दोस्रो तहको कालोपत्रे गर्ने कार्य बाँंकी छ । दोस्रो तहको कालोपत्रे यहि ठेक्काअन्तर्गत हुन्छभने बायो इन्जिनियरिङका लागि छुट्टै ठेक्का गरिनेछ ।

लिंक रोडका साइड इन्जिनियर योगेन्द्र अधिकारीका अनुसार पुलका दुवैतर्फ निर्माण भएको पर्खालहरू सानो भएकै कारण सडक भासिएको हो । पुल र सडक निर्माण गर्ने कम्पनी फरक–फरक भएकाले अहिले सडक निर्माण गर्ने कम्पनीलाई मर्मतका लागि निर्देशन दिइएको उनले बताए । पुल एमके नीरज र सडक लामा राजेन्द्र जेभी कम्पनीले निर्माण गरेको हो ।

महाकाली सन्धिअनुसार ब्रह्मदेव नजिक टनकपुर ब्यारेजदेखि भासीसम्म १३ दशमलव २ किमि सडक भारतले नै निर्माण गर्नुपर्ने हो । तर लामो समयसम्म भारतीय पक्षले चासो नदिएपछि नेपाली पक्षले आफैले सडक निर्माण गर्न लागेको हो । अहिले पनि टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १२ सय मिटर सडक निर्माणको काम भारतीय पक्षले सुरु गरेको छैन ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्