चुरे दोहनले संकट

मोहन बुढाऐर

(धनगढी) — गुल्मीका टिका सिंह ठकुरीले तत्कालीन राणाबाट विसं. १९६५ मा कैलालीमा रोजी बिर्ता पाए । उनी सिपाही थिए । उनीबाट राणा महाराज खुसी भएर कैलालीको कुनै ठाउँमा रोजेर बस्न भनेकाले अवकाश जीवन बिताउन भारतको बाटो हुँदैं कैलाली आएका थिए । 

चुरे दोहनले संकट

त्यतिबेला उनले अहिलेको गौरीगंगा ३ कुचौनीको फाँट रोजेर गुल्मी फर्के । विसं. २०१३ मा उनले रोजेको जमिन आफ्नो नाममा दर्ता गरे । कैलालीको हसुलियामा बसेका ७/८ परिवार थारूलाई आफ्नो छिमेकी र सहयोगीका रूपमा यहाँ लिएर बसाले । थारूलाई जमिन कोठारी दिएर उनी पुर्खौली घर गुल्मी गए । उनका नाति ६० वर्षे ज्ञानबहादुर सिंह भन्छन्, ‘२०२३ सालदेखि स्थायी रूपमा गुल्मीबाट यता सरेका हौं ।’


‘घाँसे मैदानको चारैतिर जंगल र पूर्वतर्फ शिव गंगा नदी कलकल बग्थ्यो,’ उनले भने, ‘पानीका लोभले जिजुबुबाबाट यो ठाउँ रोजिएको हो ।’ उनका अनुसार गाईगोरु र मान्छेका लागि पनि पानी पिउन हुन्थ्यो । नजिकै घाँसदाउरादेखि गाईगोरु चराउन मिल्ने जंगल पनि थियो ।


‘सुदूरका पहाडीहरू पछि सम्म, हिउँदमा गोठ सर्ने भनेर तराई झर्दथे, बर्खामा उतै पहाड उक्लन्थे,’ उनले भने, ‘तीसको दशकतिर मात्रै सुदूरका पहाडीहरूले पनि जिजुबुबासंँग जमिन मागेर बस्न थालेका हुन् ।’

बस्तीमा बसोवास गर्नेको संख्यामा वृद्धि भएपछि वनजंगलको विनाश हुन सुरु भएको हो । पूर्व पश्चिम राजमार्ग बनेपछि यहाँ बसोवास बढेको हो । ‘पहिला जिजुबुबाको बिर्ता जग्गा ४/५ सय बिघा जति मात्रै थियो होला,’ उनले भने, ‘जिजुबुबाले डेढ सय परिवारलाई जति बाँडे ।’ बाँकी जमिन बसाइ सराइँ गरी आउनेको आफ्नै आवादी हो ।’


उनका अनुसार त्यसबेला आवादी गरेको स्थानबाट शिवगंगा करिब एक किलोमिटर दूरीमा बग्थिन् । १७ वर्षे उमेरमा यहाँ बसाइ सरेका सिंहलाई अहिले बुढ्यौलीले छुन थालिसक्यो । ‘केही वर्षअघिसम्म शिवगंगा नदीले घर बगाउला भन्ने कल्पना समेत गरिएन,’ उनले भने, ‘समयको दुष्चक्र हो, हेर्दाहेर्दै बस्ती बगाउन थाल्यो । कति परिवारको त यहाँबाट उठिबास भइसक्यो ।’


गौरीगंगा नगरपालिका–३ अन्तर्गत पर्ने कुचौनी, पूर्व पश्चिम राजमार्गको पुलछेउको बस्ती हो । कुचौनीमा शिवगंगा नदीको बाढी लाग्न थालेको धेरै वर्ष भएको छैन । ‘दस/पन्ध्र वर्ष जति भयो गाउँमा नदी पस्न लागेको’ गाउँका पुराना बासिन्दा बाधुराम चौधरीले भने, ‘नदीको सिरानमा भएको वन फडानी र ढुंगागिट्टीको दोहन सुरु भएपछि बाढी लाग्न थालेको हो ।’ उनी शिवगंगा नदी तटबन्ध उपभोक्ता समितिका अध्यक्ष पनि हुन् ।


पूर्व पश्चिम राजमार्गको निर्माणपछि कुचौनीमा घनाबस्तीको विकास भएको थियो । पाँच/सात सय घरधुरी भएको कुचौनी गाउँमा अहिले बाढीको समस्याको कारण डेढ सय घरपरिवार मात्रै रहेको अध्यक्ष चौधरी बताउँछन् । जसमध्ये ३५ परिवार अति जोखिममा छन् । कुनै पनि बेला नदीले उनीहरूको उठिबास हुन सक्छ । उनले बर्सेनि ३/४ हेक्टर जमिन नदीले कटान गर्दै लगेको बताए ।


उनका अनुसार चुरेबाट उत्पन्न शिवगंगा नदीको चौडाइ उतिबेला बढीमा १४ मिटर जतिको थियो । अहिले राजमार्ग दक्षिण हजार मिटर फराकिलोमा बग्ने गरेको छ । राजमार्गको पुल नै २ सय ५८ मिटरको लम्बाइको छ ।


अनियन्त्रित दोहन र वनजंगल विनाशले गर्दा शिवगंगाले एउटा पुरानो बस्ती कुचौनीको अस्तित्व संकटमा मात्रै पारेको छैन् दीपनगर, डुमंलीया, शान्तीकटान, उर्मा, करैघाट लगायतका बस्ती जोखिममा परेका छन् । तल्लो तटिय क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको उर्मा, फूलबारीलगायतका बस्तीमा नदी पस्छ ।


उर्वरभूमि बगरमा परिणत

चुरेबाटै निस्केका खुटिया, गौरीगंगा, पथरिया, कान्द्रा र काँडा नदीमा पनि बर्खामा आउने बाढीले जिल्लाको दक्षिण भेगमा ठूलो उर्वरक्षेत्र बगरमा परिणत भइसकेको छ । ती नदीले बर्सेनि १५/२० हेक्टर जमिन बगरमा हुँदै गएको छ ।

कैलालीको चुरेबाट उत्पन्न भएको गोदावरी धनगढीदेखि मोहना नदीले चिनिन्छ । जिल्लाको दक्षिण पूर्व भएर १०२ किलोमिटर लम्वाईमा बग्ने मोहना नदीले गोदावरी देखी भजनी सम्म दुई दर्जन बस्ती बगरमा परिणत गरिसकेको छ । कैलारी गाउँपालिका—७ मा पर्ने बेलापरसुवाको ३ सय परिवारको उठिबास भएको छ । बस्तीको आधा जमिन काटेर आधा जमिन पाटेर उर्वरक्षेत्र बगर बनाएको छ ।


स्थानीय जग्गु चौधरी मोहनामा साठीको दशकपछि बस्ती बगाउने गरी बाढी आउन थालेको बताउँछन् । त्यस्तै खुटिया, गौरीगंगा, कान्ध्रा र पथरिया नदीले कैलालीको मध्य पूर्व र दक्षिणी भेग डुबानको समस्या निम्ताएको भजनीका स्थानीय बिजयलाल श्रेष्ठ बताउँछन् ।


भजनी नगरपालिकाभित्र चुरेबाट बग्ने खोलानालाले हालसम्म एक हजार हेक्टर जति खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको श्रेष्ठको दाबी छ ।


जिल्लाकै सबैभन्दा बढी अन्न उत्पादन गर्ने तल्लो तटीय क्षेत्रमा अहिले उत्पादन क्षेत्र बाढीकै कारण घटदै गएको पनि छ । कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा ७२ हजार हेक्टरमा धान खेती लगाइने भए पनि अहिले त्यतिमा लगाइँदैन । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार हेक्टर क्षेत्रफल कममा धानखेती गरिएको ज्ञानकेन्द्रका सूचना अधिकारी रामचन्द्र भट्ट बताउँछन् ।


‘चुरेमा भएको वन विनाश र जथाभावी भइरहेको ढुंगागिट्टी उत्खननले कैलालीमा बाढीको समस्या विकराल रूपमा देखापर्न थालेको हो,’ भन्छन्, वन तथा वातावरण विज्ञ पूर्व डिएफओ रमेश चन्दले बताए ।


चुरे कमजोर : तराईको भविष्य संकट

पूर्व डीएफओ चन्दले चुरेमा वनफडानी, अतिक्रमण, खोलानालाबाट ढुंगागिट्टी उत्खनन र मानवीय क्रियाकलापहरूले चुरे कमजोर हुँदै गएको बताए । ‘चुरे तराईको टाउको हो,’ उनले भने, ‘अहिले टाउकोमा प्रहार भइरहेको छ । फुट्या , भत्कियो भने के होला ? सहजै अनुमान लगाउन सक्छौं । त्यसैले चुरे संरक्षणको उपाया गरिएन भने तराई मरुभूमि बगरमा प्रणित हुन बेर लाग्दैन ।’


‘चुरेमा भू–क्षय, बस्ती जोखिम , पानीका मुहान सुक्दै जानु र तराईमा बाढीको प्रकोप चुरे दोहनले निम्ताएको संकट हो,’ उनले भने, ‘चुरेको दोहनलाई नियन्त्रण गर्न नसकिए तराईको भविष्य समेत संकटमा निश्चित पर्छ ।’


भावर क्षेत्रमा पानीको अभाव

चन्दका अनुसार चुरेको फेद भावर प्रदेशमा पर्छ । भावर तराईको पानीको भण्डारण गर्ने ठाउँ हो । उनले भने ‘पानी रिचार्ड हुने भावर क्षेत्रको बचाउन नसकिए तराई मरुभूमिमा परिणत हुन बेर लाग्दैन ।’


चुरे फेदका बस्तीमा पानीको संकट भएको खानेपानीका योजना अलपत्र परेका छन् । ‘पानीका मूलहरू सुकेर कयौ योजनाहरू अलपत्र परेको अवस्था छ,’ खानेपानीका एक जना इन्जिनियरले भने, ‘विभिन्न प्रकारले चुरे र खोलानालाको दोहनले रिभर बेल्टको रिचार्डलाई असर पार्छ ।’ वनविज्ञ चन्दले राष्ट्रपति चुरे कार्यक्रम पनि प्रभावकारी नभएको बताए ।


विकासले विनाश

सडक निर्माणका नाममा जभाभावी डोजर प्रयोगले चुरेमा भु—क्षण बढेको छ । चुरेका कयौं बस्ती पहिरोको जोखिममा परेका छन । गोदावरी देखी फुलबस्ती र भ्यागुतो पानी जाने सडक निर्माणले ११ ठाउँमा पहिरो गएको छ । पानीको मुल पुरिएको स्थानीय कैलास कुमार जोशी बताउँछन ।


‘विकास भन्दा बढी विनाश भएको छ’ उनले भने, ‘गोदावरी नदी माथिको चुरे डोजर लगाएर सडकका नाममा चुरे पहाड भत्काउने काम मात्रै भएको छ ।’


डिभिजन वन अधिकृत रामचन्द्र कडेँलले चुरे भावर क्षेत्रमा सडक लगायत पूर्वाधार विकासका योजना समेत वातावरणीय प्रभाव मूल्यांकन बिनाका अघि बढाउन ठिक नभएको बताए ।

प्रकाशित : श्रावण १९, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?