बाँझो जग्गामा नमुना खेती

डीआर पन्त

डडेलधुरा — एक शताब्दी अघिदेखि उब्जनी नहुने भनेर छाडेको टाँटरको बन्जड जमिन भाडामा लिएर कृषिमा स्नातकोत्तर उत्तीर्ण २ जनाले नमुना कृषि फार्म सुरु गरेर उदाहरणीय काम गरेका छन् ।


कृषि विषयमा स्नातकोत्तर पाल्पाका महेश क्षेत्री र कञ्चनपुरकी तारा जोशीले डडेलधुरा सदरमुकाम नजिक बाँझो रहेको जमिनमा तरकारी खेती सुरु गरेका हुन् । खानेपानीको समेत समस्या हुने ठाउँमा कसरी तरकारी खेती गर्न सकिन्छ भन्ने उदाहरण पनि उनीहरूले प्रस्तुत गरेका छन् । स्थानीयले उब्जनी नहुने भन्दै गौचरनमा प्रयोग गर्दै आएको बाँझो जमिनमा अहिले लटरम्म तरकारी फलेको छ ।


‘व्यावसायिक मुनाफा र अरूलाई प्रोत्साहन गर्ने दुवै उद्देश्यले हामीले यो कृषि फार्म सुरु गरेका हौं,’ महेश क्षेत्रीले भने, ‘दैनिक ३ घण्टा समय दिने हो भने तरकारी उत्पादनबाट महिनामा लाखौं कमाउन सकिन्छ भन्ने रोजगारीका लागि विदेशिने युवालाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य पनि हो ।’ नेपालबाटै कृषि विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आफूहरू दुवैले जागिर खोज्नुभन्दा उत्पादन क्षेत्रमा लाग्ने उद्देश्यले जग्गा खोज्दै डडेलधुरा आइपुगेको क्षेत्रीले बताए । क्षेत्रीले भने, ‘तरकारी उत्पादनका लागि डडेलधुरा सबैभन्दा राम्रो हावापानी र मौसम भएको क्षेत्र भएकाले हाम्रो रोजाइमा परेको हो ।’


डडेलधुरा मात्र नभई देशका अन्य भागमा पनि यसरी नै बाँझो जग्गा प्रयोग गरी उत्पादनशील क्षेत्रमा युवाको आकर्षण बढाउन विभिन्न खाले खेती गर्ने योजना पनि उनीहरूले बनाएका छन् । पहिलो चरणमा उनीहरूले बजारमा महँगो मूल्य पर्ने अकबरे खुर्सानी र टमाटर खेती सुरु गरेका छन् । सदरमुकामनजिकै भएका कारण कृषि फार्ममा तरकारी खेतीका विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।


‘दैनिक विभिन्न अवलोकन गर्ने टोली अध्ययन भ्रमणका लागि कृषि फार्ममा आउने गरेका छन्,’ स्थानीय बासिन्दा प्रमोद जोशीले भने, ‘मुनाफासँगै अरू युवाका लागि पनि यो कृषि फार्म ज्ञान हासिल गर्ने थलो भएको छ ।’ सुरु गरेको एक वर्ष नपुग्दै धेरै युवाले प्रेरणा लिएर सामूहिक तरकारी खेती सुरु गरिसकेका छन् । जोशीले भने, ‘गन्यापधुरा, भागेश्वर, नवदुर्गालगायतका गाउँपालिकामा पनि क्षेत्री र जोशीबाट प्रेरणा लिएर धेरै युवाले बाँझो जग्गामा उत्पादन सुरु गरिसकेका छन् ।’ उक्त कृषि फार्म सञ्चालकबाट प्राविधिक सहयोग लिएर युवाले सामूहिक तरकारी खेती गर्ने जिल्लामा अभियान नै सुरु भएको छ ।


दुवै जनाले ५ लाखको लगानीमा सुरु गरेको गौलोचन कृषि फार्म अहिले कृषि अध्ययन गर्ने विद्यार्थीका लागि पनि प्रयोगात्मक अध्ययनको थलो बनेको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा निजी र सरकारी कृषि विषय अध्ययन गराइने कलेजका विद्यार्थीले यसै फार्ममा प्रयोगात्मक ज्ञान हासिल गरिरहेका छन् । तरकारी बीउ उत्पादन केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरु पनि उक्त कृषि फार्मले विद्यार्थीका लागि मात्र नभई स्वरोजगार गर्न चाहने सबैलाई सहज बनाएको बताउँछन् । प्रमुख पनेरुले भने, ‘उत्पादनशील क्षेत्रमा युवालाई लगानी गर्न र काम गर्न निकै प्रोत्साहन मिलेको छ ।’


डडेलधुराको ठूला होटलमध्ये एक क्लासिक होटलका सञ्चालक नवराज भट्टले पनि उनीहरूवाटै प्रेरणा लिएर भागेश्वर गाउँपालिकामा ५० रोपनी बाँझो जग्गा भाडामा लिएर कृषि फार्म सुरु गरेका छन् । ‘पहिलो चरणमा ५० रोपनी जग्गा भाडामा लिएका छौं,’ भट्टले भने, ‘ब्रोयर जातका बाख्रासँगै तरकारी खेती सुरु गर्न थालेका हौं ।’ ४ जनाको समूह बनाएर कम्तीमा १ सय ५० रोपनी जग्गामा आधुनिक तरकारी खेती गर्ने योजनामा काम गरिरहेको उनले बताए ।


उनी मात्र होइन जिल्ला सदरमुकाममा विभिन्न व्यवसाय गरिरहेका अरू युवाले पनि ग्रामीण क्षेत्रमा बाँझो जग्गा खोज्दै तरकारी खेती सुरु गर्न थालेका छन् । नवदुर्गाका अर्जुन साउदले भने, ‘पछिल्लो एक वर्षमा हाम्रो गाउँपालिकामा पनि युवाको ५ वटा समूहले विभिन्न कृषि खेती सुरु गरेका छन् ।’ सम्भावनाअनुसार अदुवा, हलेदो, आलु बीउ, विभिन्न तरकारीका बीउ, चन्दन, चुकजन्य फलफूल खेती सामूहिक रूपमा सुरु भएको उनले बताए । प्रकाशित : श्रावण १७, २०७६ ०९:१८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाभारत क्षेत्रमा दिनहुँ सयौं रूख काटिंदै

डीआर पन्त

डडेलधुरा — जिल्ला सदरमुकामदेखि एनडी प्रकाश राजमार्ग हुंँदै तल ओर्लिन सुरु भएपछि विभिन्न ठाउंँमा महाभारत वन क्षेत्र फँडानी गरी थुपारिएका सल्लाका गोलिया देख्न सकिन्छ ।

अमरगढी नगरपालिकाको आइतदेखि बगरकोट हुंँदै साविकको रूपाल गाविस जाने मूल सडक छेउमा यसरी फँडानी गरी यत्रतत्र छरिएका सल्लाका काठ वर्षभरि नै देखिन्छन् । कतै आवादीका नाममा, कहीं वैज्ञानिक वनका नाममा त कहींँ राष्ट्रिय वनका नाममा महाभारत संरक्षित वनमा फँडानी गर्ने लहर नै चलेको छ ।

जिल्लाका तरकारी खेती हुने गाउंँमा पुग्ने हो भने वन फँडानीको चर्को रूप देखिन्छ । महाभारत जंगलबाट हुर्कन थालेका साना पोथ्रा र मझौला खाले रूख काटेर तरकारी बारीमा प्रयोग नहुने कुनै गाउंँ बांँकी छैन । सदरमुकामको बसपार्कबाट डोटी घटाल गाउंतिर हेर्ने हो भने जताततै यसरी वन फँडानी गरी तरकारी बारीमा प्रयोग गरेको सहज देख्न सकिन्छ । जंगलमा हुर्कन थालेका साना पोथ्रा काटेर तरकारी बारीमा थाक्रा बनाउन प्रयोग गर्नेको निकै ठूलो संख्या रहेको छ ।

वन डिभिजन कार्यालयको छेउबाट दैनिक महाभारत वनबाट दाउरा काटेर बजारमा बिक्री गर्न आउनेको संख्या सयभन्दा बढी छ । सदरमुकामका होटलमा मात्र होइन घर घरमा दैनिक यसरी दाउरा बिक्री गर्नेको ठूलो संख्या छ । अघिल्लो दिन महाभारत जंगलमा दाउरा काट्ने र बिहान उज्यालो नहुंँदै वन डिभिजन कार्यालय छेउको बाटोबाट दाउरा बिक्री गर्न आउनेको लर्को नै लाग्ने गरेको छ ।

जिल्लाका ४ वटा स्थानीयतहका वासिन्दाले घरायसी प्रयोजनका लागि पनि महाभारत वनक्षेत्रमा नै काठ काट्ने गर्छन । अमरगढी नगरपालिका, भागेश्वर गाउंपालिका, आलीताल गाउंँपालिकाको आधा भूभाग र गन्यापधुरा गाउंँपालिकाका उपभोक्ता सबै महाभारत वन क्षेत्रमा नै आश्रित रहेका छन । घाँंस दाउरा मात्र होइन घर निर्माण देखि ब्यबसायिक रुपमा काठ विक्रीका लागि महाभारत जंगल क्षेत्रमा दैनिक ठूलो फडानी हुने गरेको छ ।

जनस्तरमा गठित महाभारत संरक्षण अभियानको तथ्यांक अनुसार डडेलधुराको महाभारत जंगल क्षेत्रवाट दैनिक ३ सय देखि ४ सय साना ठूला रुख फडानी भइरहेको छ । यसमध्ये वन डिभिजन कार्यालयको आदेशमा सवैभन्दा वढी सल्लाका जंगल फडानी भइरहेका छन भने उपभोक्ताले तरकारी खेती र अन्य घरायसी प्रयोजनका लागि पनि दैनिक ठूलो संख्यामा रुख काट्ने गरेका छन ।

‘दैनिक ३ सय भन्दा वढी साना ठूला रुख महाभारत जंगलमा फडानी भइरहेको छ’ महाभारत संरक्षण अभियानका सदस्य राजेन्द्र जोशीले भने ‘वनकर्मी, उपभोक्ता र सामुदायिक वनका पदाधिकारी सवैलाइ जानकारी हुँंदाहुंँदै पनि फडानी जारी छ ।’ वन डिभिजन प्रमुख बिष्णु आचार्य भने महाभारत संरक्षणका लागि दीर्घकालीन प्रयास सुरु भएको दावी गर्छन ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×