१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गनैरगौडा दरबार भग्नावशेष मात्रै

नगारपालिका प्रमुख मन्जु मलासी भन्छिन्, ‘दरबार भएको स्थानमा डोटेली राजाको पहिचान झल्कने संग्रहालय बनाउने तयारी छ’
मोहन शाही

डोटी — ऐतिहासिक महत्त्व बोकेको दिपायलस्थित गनैरगौडा राजदरबारको संरक्षण हुन सकेको छैन । कतैबाट संरक्षणको प्रयास नै नभएपछि दरबार भग्नावशेषमा परिणत भएको छ ।

गनैरगौडा दरबार भग्नावशेष मात्रै

दिपायलको भैरवमन्दिर डाँडास्थित यो दरबारको छाना, पर्खाल भत्किएको छ । दरबार परिसरमा रूख–विरुवा झाँगिएका छन् । तत्कालीन डोटी राज्यको मूल दरबार डडेल्धुराको अजयमेरुमा थियो । जसलाई अहिले अजयमेमेरु कोट भनिन्छ । अजयमेरुबाट डोटी राज्य व्यवस्था सञ्चालन हुँदै आएकोमा डोटेली राजा भूपति शाहको शासनकालमा गनैरगौडा डाँडामा राजदरबार

बनेको थियो ।


अजयमेरुकोटमा हिउँदका बेला ज्यादै चिसो हुने भएपछि शीतकालीन दरबारका रूपमा दिपायलमा कोट निर्माण गरिएको थियो । विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा आएका गोर्खाली फौजद्वारा तत्कालीन राजा दीप शाही तेस्रोपटकको आक्रमणबाट परास्त भएपछि मात्र शक्तिशाली डोटी राज्य विशाल नेपालको एक अंग बनेको थियो ।


डोटीबाट ३१ राजाले राजकाज सञ्चालन गरेका थिए । यस्तो ऐतिहासिक महत्त्व बोकेको दरबारको संरक्षणका लागि पटक–पटक सरकारसँग अनुरोध गरे पनि कुनै सुनुवाइ नगरेको डोटी राजाका सन्तान प्रेमबहादुर शाहको गुनासो छ । उनले राजा दीप शाही परास्त भएपछि तत्कालीन गोर्खाका सेनाहरूले दरबार भत्काएको बताए । १२ खण्ड रहेको यो दरबारको केही भाग अझै छ ।


अवशेषका रूपमा दरबारका जग र भित्ता भए पनि आन्तरिक र बाह्य पर्यटकका लागि हेर्न उपयुक्त रहेको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र खड्काले बताए । अहिलेको संरचनालाई मात्र संरक्षण गर्दा पनि पर्यटकहरू हेर्न आउन सक्ने उनले बताए । सेती नदीमा नुहाउनका लागि रानीले डाँडामा रहेको दरबारबाट आउने सुरुङबाटो पनि पुरिसकिएको छ । ‘दरबार खण्डहर भइसक्यो,’ नेपाली कांग्रेसकी स्थानीय नेतृ पार्वती चन्दले भनिन्, ‘संरक्षण अभावमा दरबारमा रहेका ऐतिहासिक कुरा पनि हराएका छन् ।’


दरबारलाई खण्डहर देख्दा भने पर्यटकहरू दुःखी भएर फर्किने गरेका छन् । ‘दरबार स्वरूप हेर्दा साह्रै राम्रो रहेछ,’ अवलोकनपछि मकवानपुरका सरोज कटुवालले भने, ‘अहिलेसम्म यसको संरक्षणका लागि पहल नहुँदा खण्डहर बनेछ ।’ दरबारमा प्रयोग गरिएका १६ हात लामा कलात्मक ढुंगाहरू पनि चोरी भइसकेका छन् । स्थानीय बासिन्दाले व्यक्तिगत घर निर्माण गर्दा दरबारको एउटा ढुंगा हाल्नुपर्ने परम्परा बसालेकाले दरबारका आकर्षक पत्थरहरू चोरी हुने गरेको छ ।


दरबारको मर्मतका लागि नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख मञ्जु मलासी बताउँछिन् । उनले दरबार भएको स्थानमा डोटेली राजाको पहिचान झल्कने गरी संग्रहालय बनाउने बताउँदै आएकी छिन् । गत वर्ष नगरपालिकाले दरबारसम्म पुग्न बनाइएको सिँढीको रङरोगन र मर्मत गरेको थियो ।

प्रकाशित : श्रावण १७, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?