३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गाउँपालिका सार्वजनिक यातायात : टोल–टोलमा जिप

डीआर पन्त

डडेलधुरा — पछिल्लो समय दलबहादुर खड्का एक घण्टामै गाउँपालिका केन्द्र पुग्न सक्छन् । राजुल गाउँको मन्दिर छेउमै हरेक दिन गाउँपालिकाको गाडी आउँछ । कार्यालय खुल्नुअघि केन्द्रमा पुग्ने गाउँपालिकाको गाडी कार्यालय समय सकिनेबित्तिकै सांँझ फर्कन्छ ।

गाउँपालिका सार्वजनिक यातायात : टोल–टोलमा जिप

साबिक समैजीका बासिन्दाले पनि आधा दिनको पैदल हिँडे मात्र गाउँंपालिका केन्द्र पुग्न सक्थे । गाउँपालिकाले गाडी सञ्चालन गरेपछि त्यस क्षेत्रवाट पनि २ घण्टामै सर्वसाधारण केन्द्र पुग्न थालेका छन । समैजीका यज्ञबहादुर ऐरले भने, ‘सामान्य कामका लागि पनि गाउँंपालिका पुग्नै पर्ने, पुग्न र फर्किन ४ घण्टा पैदल हिँड्नुपर्थ्यो ।’


पहिले ३ घण्टा हिँडेर उनी अजयमेरु गाउँपालिकाको केन्द्र पुग्थे । वडाको केन्द्र पुग्न पनि उनले डेढ घण्टा पैदल हिंड्नु पर्थ्यो । सानोतिनो कामका लागि वडाको केन्द्रमा पुग्नै पर्थ्यो । गाउँपालिका पुग्न त साबिकका २ गाविस छिचोलेर पुग्नुपर्ने वाध्यता थियो । पालिकाको एउटा किनारवाट अर्को किनार पुग्न दिनभरिको पैदल हिँडेर पनि पुग्न सकिँदैनथ्यो । सर्वसाधारणलाई मात्र होइन गाउँपालिकाका प्रतिनिधिले पनि दैनिक केन्द्र पुग्न सक्ने अवस्था थिएन ।


सदरमुकामवाट चल्ने सार्वजनिक यातायातमा गाउँपालिका केन्द्र पुगेर काम गर्न एक दिन बास वस्नुपर्ने बाध्यता थियो,’ ऐरले भने, ‘सांँझ ३/४ बजे २ सार्वजनिक जिप मात्र केन्द्रसम्म चल्थे ।’ सांँझ सार्वजनिक यातायातमा केन्द्र पुगेर अर्कोदिन काम सकेर फर्कनुपर्ने वाध्यता रहेको पनि उनले बताए ।


गत आवको बजेटबाट गाउँपालिकाले आफ्नै यातायातका साधन सञ्चालन सुरु गरेपछि सर्वसाधारणका लागि दूरी छोटिएको छ । गाउँपालिकाले २ जिप खरिद गरि आफ्नो क्षेत्रमा सञ्चालन गरेपछि सर्वसाधारण खुसी भएका छन । राजुलका खड्का भन्छन्, ‘अजयमेरु गाँउपालिका भौगोलिक रुपमा ठूलो भएकाले सर्वसाधारणका लागि गाउँपालिका केन्द्र पुग्न कठिन थियो । गाडी सञ्चालन गरेपछि टोल–टोलमा उपलब्ध हुन थालेको हो ।’


पूर्वतिर सदरमुकामको अमरगढी नगरपालिका र पश्चिमतिर बैतडी सीमाना सुरनाया नदी किनारासम्म फैलिएको अजयमेरु गाउँंपालिकाका बासिन्दाले केन्द्र पुग्न निकै सास्ती भोग्नुपर्ने अवस्था थियो । सदरमुकामसंँग जोडिएको साबिकको समैजी गाविस, अजयमेरु, भद्रपुर, चिपुर र देवल गाविस मिलेर वनेको अजयमेरु गाउँपालिका केन्द्र पुग्न सहज हुनेगरी गाउँपालिकाले आफ्नै लगानीमा यातायात सेवा सुरु गरेपछि सर्वसाधारणलाई सहज बनेको हो ।


आफ्नो क्षेत्रमा यातायात सञ्चालन गर्ने अजयमेरु जिल्लामा पहिलो गाउँपालिका भएको छ । गाउँपालिकाको वडा १ खतेडा र अन्तिम किनारको वडा ६ राजुलबाट बिहान गाउँपालिकाको लागि जिप छुट्ने ब्यबस्था मिलाइएको छ । यसैगरी बैतडीसंँग सीमा जोडिएको वडा ६ को राजुलबाट साविकको देवल, चिपुर र भद्रपुर गाविसका दर्जनौं गाउँंका बस्ती हुंँदै अर्को जिप पनि दैनिक गाउँंपालिका केन्द्र पुग्न थालेको छ ।


२ वर्षसम्म अधिक बजेट सडकमा खर्च गरी गाउँपालिकाका हरेक टोल–टोलमा सडक पुर्‍याएपछि यस वर्षदेखि गाउँपालिकाले यातायात सञ्चालन गरेको वडा ५ का अध्यक्ष दानबहादुर खड्काले वताए । उनले भने, ‘०७५/७६ को घोषित कार्यक्रम अनुसारै गाउँपालिकाले यातायात सञ्चालन गरेको हो ।’


भाडा पनि सार्वजनिक यातायातभन्दा सस्तो भएको उनले बताए । अजयमेरु गाउँपालिकाको मध्य भागवाट निर्माणाधीन उग्रतारा मेलौली राजमार्ग र भागेश्वर गाउँपालिका हुंदै निर्माण भइसकेको एनडीप्रकाश राजमार्गले गाउँपालिकालाइ छोए पनि दुवैमा सञ्चालन हुने सार्वजनिक यातायातले सदरमुकाम पुग्न मात्र सहज थियो ।

प्रकाशित : श्रावण १७, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?