१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

६ लेन सडकको म्याद थप अस्वीकृत

निर्मला खडायत

धनगढी — धनगढीको मोहना–अत्तरिया ६ लेन सडक योजनामा निर्माण कम्पनीहरूले निर्माण अवधि डेढ वर्ष थपका लागि गरेको माग अस्वीकृत भएको छ । संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालयले स्पष्ट आधार नभएको जनाउँदै अस्वीकार गरेको हो ।

१ महिनाअघि धनगढीस्थित आयोजना कार्यालयमार्फत निर्माण कम्पनीहरूले अवधि थपको फाइल पेस गरेका थिए । उक्त फाइल फिर्ता आएको आयोजना कार्यालयका इन्जिनियर खगेन्द्रबहादुर शाहीले बताए । ‘म्याद थप गर्नुपर्ने स्पष्ट आधार नदेखिएकाले उक्त अनुरोध अस्वीकार भएको जानकारी भएको छ,’ उनले भने । उनले फाइल फिर्ता आइसकेपछि निर्माणमा संलग्न ठेकेदारहरूलाई पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको बताए ।


सम्झौतामा आयोजनाको अवधि २ वर्ष तोकिएको थियो । गत जेठसम्म सबै काम सक्नुपर्ने सर्तमा कम्पनीहरूले सहमति गरी ठेक्का लिएका थिए । ‘२ वर्षभित्र सक्नुपर्नेमा काममा अझै डेढ वर्ष थप गर्नुपर्ने कारण र ढिलाइको आधार पुष्टि नभएकाले अस्वीकृत भएको हो,’ शाहीले भने । उनले ६ लेन सडकमा पनि बढीमा १ वर्ष मात्र म्याद थप हुन सक्ने सम्भावना भए पनि ठेकेदार कम्पनीहरूले काम सम्पन्न गर्ने आधार प्रस्तुत गर्न नसकेको बताए ।


सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनमा पूर्वाधारतर्फका पुराना योजनाको हकमा सुरुको अवधिको ५० प्रतिशत बढी म्याद थप गर्न नपाउने व्यवस्था गरिएको छ । समयमै सडक नबन्दा यात्रा र हिँडडुल लामो समयदेखि कठिन छ । हालसम्म पनि निर्माण व्यवसायीहरूले कारण खुलाएर निवेदन पेस नगरेको शाहीले बताए । ‘उनीहरूले काम पूरा नगरेसम्म म्याद थपको प्रक्रिया अगाडी बढदैन,’ शाहीले भने । फिर्ता आएको फाइल सडक डिभिजन कार्यालय कैलालीको कार्यालयमा थन्किएको छ ।


ठेकेदार कम्पनीहरूले भने आफूहरूले डेढ वर्षका लागि म्याद थपको माग गरे पनि कार्यालयले एक वर्षका लागि म्याद थप गर्नेगरी कारण मागेको बताएका छन् । राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्टले १ वर्षभित्र काम सम्पन्न गर्ने आधारहरू तयार पारेर एक सातभित्रै फाइल पुनः म्याद थपका लागि कार्यालयमा पठाउने बताए ।


‘काम सुरु गरेदेखिकै कारणहरू स्पष्ट पार्नुपर्छ, एकपटक त्यो प्रस्तुत गर्दा उहाँहरूले कारण अस्पष्ट भएको भन्दै फाइल फिर्ता पठाउनुभएको छ,’ अधिकृत भट्टले भने, ‘जसका लागि विभिन्न परीक्षण गर्नुपर्दा समय बढी लागेको हो । अब १ वर्षभित्र काम सम्पन्न गर्ने योजनासहित ठोस आधारहरू भएको फाइल छिटै प्रस्तुत गर्छौं ।’


माग गरिएको एक वर्ष म्याद थप भए सडक निर्माण कार्यले पूर्णता पाउने उनले बताए । सडकमा अहिले पनि निर्माणकार्य सञ्चालन भइरहेको उनले बताए । विगतमा सडकको वरिपरिको जमिन घरहरू खाली नहुनु, विद्युतका पोल सार्न ठेक्का प्रक्रियामा ढिलाइ हुनु, खानेपानीको पाइप लाइन नसारिनु र सडकमा परेका रुख कटानीमा भएको ढिलाइले सोचेअनुसारको काम गर्न नसकिएको उनको भनाइ छ । अब भने त्यस्तो कुनै बाधा नरहेकोले काम द्रुत गतिमा भइरहेको उनले बताए ।


धनगढी–अत्तरियालाई जोड्ने सडकलाई ६ लेनमा फराकिलो गर्ने यो यस क्षेत्रकै ठूलो सहरी सडक आयोजना हो । ०७६ जेठभित्र काम पूरा गर्नेगरी भ्याटसहित १ अर्ब ६८ करोड ६५ लाखमा मल्टीलेन निर्माणको ठेक्का सम्झौता भएको थियो । ०७४ जेठमा ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको मोहनादेखि अत्तरियासम्मको खण्डमा १० किमि खण्ड ६ लेनको बन्ने छ । अन्य ४ दशमलव १९७ किमि खण्ड ४ लेनको निर्माणको योजना छ ।


बस्ती भएको क्षेत्रमा ६ लेन, सडकको दुबैतर्फ नाली र फुटपाथ निर्माण हुदैछ भने बस्ती नभएको खुला क्षेत्रमा ४ लेनको सडक हुने योजना हो । ‘६ लेन भएको खण्ड ३८ मिटर चौडा हुनेछ भने ४ लेन भएको खण्डमा २३ मिटर चौडा हुनेछ,’ इन्जिनियर शाहीले भने, ‘निर्माण कार्य पुरा भएपछि धनगढी सहरको सडक संरचना भने नमुना हुनेछ ।’


मोहनादेखि बोराडाडीसम्मको साढे ४ किमि खण्डमा शर्मा अम्मर नागार्जुन जेभी कम्पनीले ५८ करोड १७ लाख १६ हजारमा ठेक्का सम्झौताअनुसार काम गरिरहेको छ । साढे ४ किमिदेखि ९ किमिमा पर्ने गेटा नजिकसम्मको खण्डमा लुम्बिनी राजेन्द्र डाँफे जेभी कम्पनीले ५२ करोड १४ लाख ३९ हजारमा सम्झौता गरेको छ ।


यस्तै लामा राजेन्द्र जेभी कम्पनीले ९ किमिदेखि १४ दशमलव १९७ किमि पर्ने अत्तरियासम्मको निर्माण गर्दैछ । उसले ५२ करोड ३३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । म्याद सकिदासम्म पहिलो ठेक्का खण्डमा ६० प्रतिशत र दोस्रो र तेस्रो खण्डमा ५५ प्रतिशत मात्र प्रगति भएको योजना कार्यालयले जनाएको छ । आयोजना समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती, चालकले जोखिम र त्यस क्षेत्रका ब्यवसायीहरूले व्यवसायसमेत घाटा बेहोर्नुपरेको बताएका छन् । उनीहरूले जतिसक्दो चाँडो सडक निर्माण कार्य सम्पन्न गरिदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?