भारतीय कब्जामा नेपाली धर्मशाला

व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक धर्मशाला कब्जा भइरहे पनि सरकारी संयन्त्र भने यसबारे बेखबर
मोहन शाही

डोटी — दिपायल सिलगढी नगरपालिका ३ को पुलबजार स्थित राणाकालीन समयको सरकारी धर्मशाला अहिले व्यक्तिले कब्जा गरेका छन् । तत्कालीन समयमा हिँडेरै गन्तव्य सम्म पुग्नुपर्ने भएकाले बटुवाहरूको आवासका लागि सरकारले बनाएको धर्मशाला अहिले भारतीय नागरिकले कब्जा गरी बसेका छन् ।

भारतीय कब्जामा नेपाली धर्मशाला

गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायत ठाउँमा आवत–जावत गर्ने बटुवाहरूलाई बास बस्न सजिलो होस भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि सुब्बा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासको रुपमा प्रयोग गरेको पिपल्लाका तेजबहादुर डुम्रेलले बताए ।

‘सुब्बाले धर्मशाला पुरै आफनो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले प्रयास गरेको छैन,’ उनले भने, ‘यसमा त सरकार आफैंले पनि चासो दिनु पर्ने होइन र ?’ उता शिखर नगरपालिका १ नापानी स्थित धर्मशाला पनि वर्षौदेखि व्यक्तिको कब्जामा छ ।

पर्यटकीय क्षेत्रका रूपमा नगरले प्रबर्द्धन गरिरहेको नापानीमा दिवंगत राजा वीरेन्द्र शाहको पालामा पक्की धर्मशाला निर्माण गरिएको थियो । उक्त धर्मशाला स्थानीय तथा लेकमा गोठ निर्माण गरी बसेका भैंसी गोठालाहरूले वर्षौंदेखि आफ्ना भैसी बाँध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका १, गुठीउरीका करन नेपालीले बताए ।

तर वडाध्यक्ष खड्क शाहीले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न गइरहेकाले धर्मशालाको मर्मत कार्य भइरहेको बताए । ‘विगतमा उपयोग विहीन थियो, व्यक्तिगत प्रयोजनमा थियो,’ वडाध्यक्ष शाहीले भने,‘ धर्मशालाको मर्मत रंगरोगन गरिरहेका छौं, अब त्यसलाई सदुपयोगमा ल्याउन योजना बनाइरहेका छौं ।’ यी त नमुना मात्र हुन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सरकारी धर्मशालाहरू पछिल्लो समय धमाधम कब्जा हुन थालेका छन् । व्यक्तिगत प्रयोजनका लागि कब्जा भइरहे पनि सरकारी संयन्त्र भने यसबारे बेखबर रहेको छ । कतिपय धर्मशालाहरू भने उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएका छन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटी पौवा र धर्मशाला सार्वजनिक सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले कुन ठाउँमा भएको धर्मशाला कसले प्रयोग गरेको छ, त्यो सम्बन्धित स्थानीय तहले रेखदेख गर्नुपर्ने बताए ।

‘कसैले अटेर गरी नीजि प्रयोजन गरेको भए कानुनबमोजिम कारबाही हुन्छ,’ प्रजिअ पौडेलले बताए । जिल्लाभरिका सरकारी रूपमा निर्माण भएका पुराना धर्मशाला, पाटी, पौवा कति छन् भन्ने यथार्थ तथ्यांक कुनै कार्यालयमा छैन । जिल्ला भरीमा कुल सय भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटी पौवा हुन सक्ने जिल्ला समन्वय समिति संयोजक रामबहादुर ऐर बताउँछन् ।


‘संरक्षणको दायित्व सबैको’

टेकनारायण पौडेल, प्रमुख जिल्ला अधिकारी (डोटी)


जिल्लामा भएका पाटी पौवा र धर्मशाला सार्वजनिक सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु सबैको दायित्व हो । कुन ठाउँमा भएको धर्मशाला कसले प्रयोग गरेको छ, त्यो सम्बन्धित स्थानीय तहले रेखदेख गर्नुपर्ने हो । कसैले अटेर गरी निजी प्रयोजन गरेको भए कानुनबमोजिम कारबाही हुन्छ ।

प्रकाशित : श्रावण १३, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?