१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

रासस

डोटी — शिखर नगरपालिका–७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन् । 

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएकाे जानकारीअनुसार अज्ञात समूहले राति करिब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । आगजनी किन, कस्ले गर्‌यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक माझीले बताए । उनले भने, 'घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी गर्‌यो अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।'

आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए । नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने डोटी प्रहरीको अनुमान रहेको छ । अज्ञात समूहको आगजनीपछि उक्त क्षेत्रमा अहिले जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ ।

प्रकाशित : श्रावण १२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?