कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उकाली–ओराली धर्मशालाको भर

 पुराना धेरै धर्मशाला मासिए  बटुवा र तीर्थालु बास बस्ने भवन जीर्ण

डडेलधुरा/बझाङ — ‘तेल्याको धरमशाला रम्शिलाको पानी’
यै जुनी भइन भिट आउंँलो अर्की जुनी

‘जति कठिन तेल्याको लेकमा भएका धर्मशालामा वास पाउन गाहो हुन्छ ,अनि तेल्या काटेपछि आउने रम्शिलामा पानी पाउन जति कठिन हुन्छ हाम्रो मिलन हुन पनि त्यति नै कठिन छ । अर्को जन्ममा भेटौंला’ डडेलधुराका कालु सार्कीले ८१ बर्षअघि आफ्ना बाजेसँग पहिलो पटक तराइ झर्दा तेल्याको लेकमा सुनेको गीतको अर्थ बताउँदै कुरा सुरु गरे । 

उकाली–ओराली धर्मशालाको भर

‘म १२ वर्षको थिएँ, बैतडीदेखि ब्रम्हदेव पुग्दासम्म ७ वटा धर्मशालामा बास बसेको सम्झना छ,’ उनले भने, ‘त्यतिबेलाको समाज त्यसैमा पनि हामी दलित हाम्रा लागि धर्मशालामा बास पाउन कति कठिन हुन्थ्यो भन्ने कुरा गीत आफै बोल्छ ।’ सताब्दीअघि पहाड र तराइको मूल बाटोमा बास बस्न धर्मशालाहरू बनाइएका थिए ।


पछिल्ला पुस्ताका लागि ती किंवदन्ती जस्तै बन्न थालेका छन् । त्यतिबेला जति कठिन तिनमा बास पाउन हुन्थ्यो, अब धर्मशाला देख्न त्यतिकै कठिन भइसकेको सार्की बताउँछन् । सुदूरपश्चिमका पहाडी जिल्लामा होटल, लज थिएनन्, धर्मशालाकै भर हुन्थ्यो ।


पहाडी जिल्लालाई सडक यातायातले छुनुअघि २०३२ सालसम्म तराइ झर्दा र पहाड उक्लँदा ठाउँ ठाउँमा बटुवाका लागि बास बस्न बनाइएका धर्मशालामध्ये धेरै नासिएका छन् । अहिलेसम्म रहेकाहरू पनि जीर्ण भएर पुरिन थालेका छन् ।


‘सडक यातायातले पहाडी जिल्ला छोएपछि धर्मशालाको प्रयोग हुन छाड्यो,’ सार्की भन्छन्, ‘०४९ सालसम्म बझाङदेखि डडेलधुरा आउने मूल बाटोका धर्मशाला चल्तीमा थिए । पछि गएर यी धर्मशाला चरेस लुकाउने ठाउँका रुपमा परिणत हुन थालेपछि सर्वसाधारणले प्रयोग गर्न छाडेका हुन् ।’ २०५३ पछि त प्रायः पहाडी जिल्लाका सबै धर्मशाला प्रयोग हुन छाडे । त्यसपछि न समाजले संरक्षण गर्‍यो, न त सरकारी निकायले । उनी भन्छन् ‘अब त धर्मशाला किंवदन्ती जस्तै छन् ।’


बझाङदेखि बैतडी हुँदै डडेलधुराको तेल्यालेक (तेलको लेक) भएर तराइ निस्कने प्राचीन बाटोमा दुइ दर्जनभन्दा बढी धर्मशाला थिए । बाजुरादेखि अछाम हुँदै डोटीबाट तेल्या छिचोल्दै तराइ झर्ने बाटोमा पनि त्यतिकै संख्यामा धर्मशालाहरू थिए । ‘त्यतिबेला बास बस्ने प्रयोजनमा भएपनि सुदूर संस्कृतिका धेरै पाटाहरू यी धर्मशालाहरूसँग जोडिएका छन्,’ डोटेली संस्कृतिमा विद्यावारिधी गरेका प्रा. मोहन भट्ट भन्छन् ‘पुर्खाको इतिहासका साक्षी मात्र होइनन्, संस्कृति र सभ्यताका प्रतीक पनि हुन यी धर्मशाला ।’


डोटेली गीत, डेउडा, कविता, कथा र इतिहासमा ठाउँठाउँमा यिनको उल्लेख पाइन्छ ।’ पहिलोपटक जंगबहादुर राणा डडेलधुरा आउँदा कञ्चनपुरको बेतकोटदेखि डडेलधुरासम्म एक दर्जन बढी धर्मशाला बनेका थिए । ‘डडेलधुरादेखि माथि बैतडी दार्चुला बझाङहुँदै चीनको सीमा नाका ताक्लाकोटसम्म धर्मशाला बनेको इतिहास छ । त्यसबेला राज्यको लगानीमा पनि धर्मशाला बने, दानदाताहरूले बनाएका धर्मशाला पनि थुप्रै छन्,’ भट्ट भन्छन् ‘धर्मशालासँगै त्यसको रेखदेखका लागि धेरै ठाउँमा गुठीको जग्गा दिइएको पनि पाइन्छ ।’ गाउँघर नजिक बनेका धर्मशाला ०३३ सालकै नापीमा धेरैले आफ्नो नाममा नाप्न लगाए । जंगल क्षेत्रमा भएकामध्ये धेरै धर्मशाला अतिक्रमण भए भने बाँकी रहेका संरक्षण नहुँदा पुरिएर भत्किए ।


हाल डडेलधुरा सदरमुकाम रानी धारा नजिक विष्टहरूका पुर्खाले बनाएको धर्मशाला पनि मासियो । धर्मशाला भएका ठाउँमा तले होटल सञ्चालनमा छ । तेले लेकको मूलद्वार डोटी घटालको सोल्परीमा रहेको धर्मशाला नाम मात्रको बाँकी छ । तेले लेक उक्लेपछि सतकटा, घंगारु कोट, तेल्या, धुरा, चिर्किटे, गोगन, लिपना र बेतकोटमा रहेका धर्मशालामध्ये गोगनमा मात्र अवशेष देख्न पाइन्छ ।


डडेलधुरादेखि बैतडी बझाङ जाने मुल बाटोमा भएका अधिकांश धर्मशाला पनि केही नासिएका छन् । केही धर्मशाला स्थानीयले आफना नाममा गरेर जग्गा उपभोग गर्दै आएका छन् । डडेलधुराको बेलापुरदेखि सेती नदी किनारैकिनार पैदल मार्गमा रहेका कुनै पनि धर्मशाला अहिले देख्न पाइँदैन । धर्मशालामा प्रयोग भएका कलाकृति कुँदिएका ढुंगाहरूसमेत चोरी भइसकेका छन् ।


पलेटा लेकको धर्मशालाका ढुंगाहरूमा तत्कालिन इतिहास लिपिबद्ध गरिएको सम्झना बूढापाका गर्छन् । ‘यस्ता सम्पदाको अब स्थानीय तहले संरक्षण गर्नुपर्छ,’ भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्ट भन्छिन्, ‘हरेक स्थानीय तहले यी प्राचीन धर्मशाला मात्र होइन, अन्य ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणमा लगानी गर्नुपर्छ ।’ आफ्नो गाउँपालिका क्षेत्रमा भएका यस्ता सम्पदाको संरक्षणमा लगानी सुरु गरेको उनले बताइन् ।


भोट (तिब्बत) जाने यात्रुलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले झन्डै ७५ वर्षअघि निर्माण गरिएका धर्मशालाहरू संरक्षण अभावमा जीर्ण भएका छन् । तत्कालीन बझाङी राजा राम जंगबहादुर सिंहले आफ्नो गद्दी आरोहणको अवसरमा विस १९९८ ताका बनाएका उत्तरी क्षेत्रका धर्मशालाहरू संरक्षण हुन नसकेर भत्किँदै छन् । कतिपय धर्मशालाहरू जीर्ण भएपनि अन्यत्र बस्ने ठाउँ नहुँदा जोखिम मोलेरै भए पनि त्यहाँ बस्नुपर्ने बाध्यता रहेको यस क्षेत्रमा यात्रा गर्नेहरू बताउँछन् ।


राजा रामजंगले बझाङ सुनिकोट हुँदै तिब्बत जाने बाटोमा पर्ने रामकोट, कालंगा र साइपाललगायत ठाउँमा चारवटा धर्मशाला बनाएका थिए । निर्माण भएयता कसैले पनि रेखदेख र मर्मतमा ध्यान नदिँदा सबैजसो भत्किने अवस्थामा पुगेको बझाङी राज्यको इतिहासका जानकार विष्णुभक्त शास्त्री बताउँछन् ।


‘रामजंगले तिब्बत र भारत जाने बाटोमा पर्ने विभिन्न ठाउँमा धर्मशाला बनाउन लगाएका थिए । यातायात पुगेका कारण भारत जानेबाटोमा अहिले धर्मशालाको आवश्यकता छैन,’ उनले भने, ‘तर तिब्बत जाने बाटोको अवस्था उस्तै भएकाले यहाँका धर्मशालाहरू जीर्णोद्धार गर्नुपर्ने हो । कसैले ध्यान दिएका छैनन् ।’


हुन पनि उच्च हिमाली बाटो भएर भोट र यार्सागुम्बु संकलनका लागि हिमाली क्षेत्रमा जानेहरू धर्मशाला नभएका कारण धेरै समस्या हुने गरेको बताउँछन् । काँडाका लालसिंह बोहरा भन्छन् ‘हिमाली क्षेत्रमा हावा चलेको चल्यै हुन्छ । सामान्य वर्षा हुँदा पनि हिउँ झर्न थाल्छ । त्यस्ता बेला खुला ठाउँमा रात विताउन निकै खतरा हुन्छ ।’


आफूहरू पनि धेरैपटक यस्तो अवस्थामा धर्मशालाको सहारा लिएर बसेको उनले बताए । ‘बाहिर बसौं भने हिउँले ठिहिर्‍याउने हुन्छ,’ उनले भने, ‘धर्मशालाभित्र पनि कति बेला भत्किन्छ भन्ने डर लागिरहन्छ ।’ छानोमा पनि ठुला ढुंगा राखिएको र विभिन्न ठाउँको गारो खसेकाले भित्र बस्न जोखिम हुने भए पनि विकल्प नभएको उनले बताए ।


बर्खाका केही महिना त्यस क्षेत्रमा अस्थायी होटलहरू हुने भएपनि भदौ अन्त्यतिर जाडो बढ्ने भएकोले त्यस क्षेत्रका सबै होटलहरू उठिसक्छन् । असारदेखि भदौ महिनापछि त्यस क्षेत्रको यात्रामा जानेहरूले बासका लागि धर्मशालाकै भर पर्नुको विकल्प हुन्न ।


मानसरोवर जाने धेरैजसो तीर्थयात्री शुद्ध भएर जानुपर्ने भएकाले अरूले पकाएको नखाने र धर्मशालामा बस्नुपर्ने बाध्यता छ । अवश्यक ठाउँमा धर्मशाला मर्मतका लागि सरोकारवालाले चासो देखाउनुपर्ने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?