कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सर्पदंशबाट ३ वर्षमा ३८ को मृत्यु

निर्मला खडायत

धनगढी — बर्खा लागेसँगै विषालु सर्पले डसेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।  सेती अञ्चल अस्पतालका अनुसार सर्पदंश उपचार केन्द्रको सहज सुविधा नभएकोले बर्सेनि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको हो । ३ वर्षयता सर्पको डसाइपछि उपचारका लागि सेती अस्पतालमा ल्याइएका ३८ जनाको ज्यान गइसकेको छ । 

गत मंगलबार घर नजिकैको खोलामा घाँस काट्ने क्रममा गोदावरी नगरपालिका अत्तरियाकी ४० वर्षीया पशुपति बोहरालाई सर्पले डसेको थियो । उनलाई आफन्तहरूले उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरे । उपचारपछि उनी राम्रो भएर घर फर्किन् ।

अस्पतालको आकस्मिक कक्षका स्वास्थ्यकर्मी कृष्ण बोहराले बर्खायाम सुरु भएसँगै अस्पतालमा सर्पदंशका बिरामी बढै गएको बताए । उनले सेतीमा मात्रै होइन्, पछिल्लो समय सबै अस्पतालमा सर्पदंशका विरामी बढेको बताए ।


बर्ष ०७५/७६ मा १० जनाले सर्पदंशका कारण ज्यान गुमाएका छन् । अस्पतालमा उपकरण अभाव र बिरामी ढिला पुग्ने गरेका कारण ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको बोहराले बताए । ‘यो बेला हरेक वर्ष सर्पदंशका बिरामी बढ्छन् । वर्षात भएको दिन १० देखि १२ जना सर्पदंशका बिरामी आउँछन्’ बोहराले भने ‘सर्पले टोकिसकेपछि बिरामीहरू ढिलोगरी उपचारका लागि आउँछन्, केही त गाउँमै झारफुककापछि लागेर बिरामी अन्तिम अवस्थामा पुगिसकेपछि आउँछन् । त्यही कारण बिरामीलाई बचाउन सकिंदैन ।’


अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा २ सय १५ जना सर्पदंशका बिरामी आएका थिए । तीमध्ये ७ जनाको मृत्यु भएको छ । यस्तै, वर्ष ०७३/७४ मा १ सय ९४ जना सर्पदंशका बिरामी आएका थिए । तीमध्ये १० जनाको ज्यान गएको छ । वर्ष २०७४/७५ मा १ सय ९० जनालाई सर्पले डसेको थियो । ती मध्ये ११ जनाको ज्यान गएको छ । गत आर्थिक वर्ष ०७५/७६ मा २ सय १९ जना सर्पले टोकेर उपचारका लागि अस्पताल आएका थिए । जसमा १० जनाको मृत्यु भएको बोहराले बताए ।


बिरामीहरू भने अस्पताल आउँदा सहज रूपमा उपचार नपाएको गुनासो गर्ने गरेका छन् । उनीहरूले अस्पताल आइसक्दा पनि डाक्टर उपचारका लागि ढिलो आउने गरेको बताए । ‘सर्पले डसेपछि उपचार गर्न अस्पताल पुग्दा चाँडो सेवा पाइँदैन’ सर्पदंशकै बिरामी कुर्न आएकी अत्तरियाकी सुना दमाईले भनिन् ‘अस्पतालमा उपचार पाइएला र छिटै बिरामीलाई निको होला भनेर यहाँ लिएर आउँछौं । डाक्टर समयमा आइदिंदैनन् ।’


हाल कैलालीमा सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा सर्पदंशको उपचारको व्यवस्था रहेको छ । उपचारको

सुविधा रहेका अस्पतालमा पनि आवश्यक उपकरण नहुँदा समस्या भइरहेको हो ।


वर्षायाममा सर्पले टोक्ने सम्भावना बढी हुने भएकाले सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् । ‘बर्खाको समयमा सर्पले डस्ने सम्भावना बढी हुने भएकोले साँझ हिंड्डुल नगर्न, जुत्ताचप्पलको प्रयोग गर्न र घर वरिपरिका प्वालहरू टाले सर्पको टोकाइको जोखिम घट्छ’ सेती अञ्चल अस्पतालका डा. कृष्ण बोहराले भने । उनले सर्पले डसेमा पनि धामीझाँक्रीको भर नपरेर तुरुन्त नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताउँछन् ।


धामीझाँक्रीकै भरपर्दा बिरामीलाई उपचारका लागि ढिलो हुने भएकोले स्वास्थ्य संस्थामा लैजानुपर्ने उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?