आलोपालो काममा महिला

मेनुका ढुंगाना

अछाम — जिल्लाका धेरै गाउँमा पुरुष भेटिँदैनन् । कामको सिलसिलामा पुरुष भारतमा गएका छन् । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै छन् । पुरुष प्रायः कम भएका गाउँका महिलाहरूले खेतीपातीको अधिकांश काम आलोपालो गर्ने नियम बसाएका छन् ।

आलोपालो काममा महिला

खेती गर्ने जग्गा धेरै र काम गर्ने मान्छे कम भएपछि यहाँका महिलाहरूले आलोपालो काम गर्नैपर्ने अवस्था रहेकाले पनि यो चलनलाई निरन्तरता दिएका हुन् ।

गोडमेल, रोपाइँ र अन्य कामको चटारो भएको बेला यहाँका महिलाको दैनिकि आलोपालो काममा बित्ने गर्छ । ‘पहिले देखि नै महिलाले आलोपालो काम गर्ने गरेका छन् । आज एकको भोलि अर्को छिमेकीको काम गर्छौं,’ मंगलसेन ५ कि खन्टी विकले भनिन्, ‘पहिले जस्तो आलोपालो काम अहिले कम भएको छ । पहिलेको तुलनामा अहिले घटेको छ ।’

पुस्ता परिवर्तनसंँगै काम गर्ने शैली बदलिए पनि पहिलेका महिला पुस्ताले मिलिजुली काम गर्ने गरेको उनको भनाइ छ । ‘बिहानै उठ्छौं । जसको काम बाँकी छ सबै उतै जान्छौं । कहिले धान कहिले, कहिले कोदो गोड्ने काम गर्छौं,’ मंगलसैनकै रुप्सी विकले भनिन्, ‘काम पनि हुन्छ । सुख दुःखका कुरा हुन्छन् । यो चलन जोगाइ राख्न मुस्किल छ ।’ दैनिक ज्याला दिएर काम गर्ने आर्थिक अवस्था नभएपछि महिलाहरू नै समूहमा आबद्ध हुनुपरेको रुप्सीको भनाइ छ । ‘एक दिन काम गर्न बोलाए ४ सय सम्म ज्याला दिनुपर्छ । हामी सबैको आर्थिक अवस्था एउटै भएकाले समूहमा काम गर्छौं,’ उनले भनिन् ।

महिलाहरू समूहमा आबद्ध भएर विभिन्न अभियान आरम्भ गर्न थालेपछि घरको काममा पनि आपसी सहयोगको भावना विकास भएको मंगलसैन ५ धौली विक बताउँछिन् । ‘पैसा बचत गर्ने, विकृतिविरुद्ध बोल्न थालेपछि सामूहिक काम गर्न थालेका हौं । पहिले यस्तै चलन थियो । बीचमा हरायो । हामीले फेरि यसलाई निरन्तरता दिएका छौं,’ उनले भनिन् ।

उनका अनुसार यो क्षेत्रका अधिकांश बस्ती रित्तिन थालेका छन् । गाउँघरमा पहिले जस्तो खेती गर्ने युवा भेटिन छाडेका छन् । पहिले उब्जनी हुने फाँटसमेत अहिले बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्ति अभाव छ । वस्तुभाउ पाल्ने र घाँस काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ ।

‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ मंगलसैन १ कि वडासदस्य भुन्टी विकले भनिन्, ‘आयआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म सरकारको उपस्थितिका लागि हामी लागेका छौं । बसाइँसराइ रोक्ने उपाय यही नै हो ।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् । महिलाहरूले गाउँमा चलाएका आलोपालो काम गर्ने चलनहरूलाई जोगाउन सक्यो भने पनि बसाइसराई रोक्न सकिने उनको भनाइ छ ।

मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले कृषिमा लगानी बढाएर बसाइँसराइ रोक्न गाउँमै काम गर्ने वातावरण बनाउन थालेको बताए । शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छौं,’ उनले भने, ‘सहकारीमार्फत आर्यआर्जनका अवसर बढाएर आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउने कार्यक्रमको तयारीमा जुटेका छौं ।’

माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बढाएपछि बसाइँसराइ घटाउने नगरप्रमुख बोहराले बताए । ‘गाउँमा गठन भएका महिला समूहले पनि सामूहिक काम गर्न थालेका छन् । उनीहरूलाई प्रोत्साहन दिने खालका कार्यक्रम बन्दै छन्,’ उनले भने ।

प्रकाशित : श्रावण ११, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?