२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बसाइ वारि, निर्भर पारि

गाउँका मुखिया रबेन्द्र चौधरी भन्छन्, ‘हामी नेपालको भूमिमा बसेका मात्रै हौं, सबै सम्बन्ध भारतीय गाउँमै छ’
मोहन बुढाऐर

हौसलपुर, कैलाली — नेपालको एउटा यस्तो बस्ती छ, जहाँका बासिन्दा नेपाली भाषा बोल्न जान्दैनन् । उनीहरूको मातृभाषा थारू र हिन्दी मात्रै हो । कैलारी गाउँपालिका ७ मा पर्ने हौसलपुर सीमावर्ती बस्ती हो । यहाँका २८ थारू परिवारको रहनसहन बोलीभाषा र संस्कृतिमा पनि भारतीय प्रभाव छ ।

बसाइ वारि, निर्भर पारि

भारतको बेलापुरसुवा र यो नेपाली बस्तीको साँध खेतको आली हो । नेपाल र भारतको सीमा भई बग्ने नदीले हौसलपुरलाई नेपालको भूमिबाट अल्गाएको छ ।


नेपालको नक्सामा यो बस्ती जंगलमै पर्छ । नेपालको नजरमा यो बस्ती वर्षौंदेखि ‘गुमनाम’ जस्तै छ । यहाँका थारूले आफू बसेको जमिनको लालपुर्जा पाएका छैनन् । सरकारी संरचना कुनै पनि छैन । कुनै समय यहाँ भारतीय सरदारहरूको बसोबास थियो ।

अन्तर्राष्ट्रिय सीमांकनमा नेपालको भूमिमा परेपछि सरदारले यो ठाउँ छाडेका हुन् ।


कैलालीको हसुलिया, पवेरा र रतनपुर क्षेत्रबाट भूमिहीन थारूहरू आएर बसेको ६५ वर्षीय रामबहादुर चौधरीले बताए । ‘सुरुमा नेपालसँगको सम्बन्ध नातेदारका कारण रहन्थ्यो,’ उनले भने, ‘पुस्तौं बितिसकेकाले अहिले सम्बन्ध घटेको छ ।’ पछिल्लो समय यहाँका थारूमा नेपालीपन पनि घटदै गएको उनले सुनाए ।


भारतीय बस्तीसँग नाता र ऐंचोपैंचोका सम्बन्ध बढदै गएकाले नयाँ पुस्ताले आफ्नो देशबारा जानकारीसमेत नपाउने अवस्था आएको उनले बताए । यहाँका बालबालिकाको पढाइ भारतीय विद्यालयहरूमै हुन्छ । भारतीय शिक्षा भएकाले बालबालिकाहरूमा त्यहाँकै इतिहास र राष्ट्रियताको प्रभाव परेको छ । ‘नेपालको नक्सा कस्तो छ भन्नेसम्म उनीहरूलाई थाहा छैन,’ उनले भने । स्वास्थ्य सेवाका लागि पनि यहाँका बासिन्दा भारतीय स्वास्थ्य केन्द्रमै निर्भर छन् ।


उनीहरूको गाउँदेखि सहरको सम्बन्ध भारतमै हो । त्यसैले उनीहरूले चलाउने सवारी साधन, खेत जोत्ने ट्र्याक्टर पनि भारतीय नम्बरका छन् । उब्जेको अनाज बिक्री गर्ने र दैनिक उपभोग्य वस्तु किनमेल पनि भारतीय बजारमै हुन्छ । गाउँका मुखिया रबेन्द्र चौधरीले भने, हामी नेपालको भूमिमा बसेका मात्रै हौं, सबै सम्बन्ध भारतसँग राख्नुपर्ने बाध्यता हो ।’


जुठेन्लामा भाँडा माझ्दै एक महिला ।


चोरडाँकादेखि बर्खामा बाढीबाट बच्न भारतीय सुरक्षाकर्मीद्वारा उद्धार माग्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार बर्खामा मोहनाको बाढी गाउँ पस्छ ।


गाउँमा पढेलेखेका युवामध्येका ३२ वर्षीय मिखराम चौधरीले सीमामा बस्ने नेपालीको राष्ट्रियता बचाउन र बलियो बनाउन यो बस्तीमा नेपाल सरकारको उपस्थिति आवश्यक भएको बताए । त्यसका लागि नेपाल सरकारले सबैभन्दा पहिला गाउँको लालपुर्जा दिनुपर्‍यो,’ उनले भने, ‘त्यसपछि मोहना नदीमा पुल बनाउनुपर्‍यो ।’


उनी स्कुल, स्वास्थ्य चौकी, सीमा प्रहरी चौकी स्थापना गर्नुपर्ने बताउँछन् । ‘नेपालसँगको सम्बन्ध जोडिएपछि मात्रै सीमावर्ती क्षेत्रको राष्ट्रियता बलियो हुन्छ,’ मिखरामले भने । उनका अनुसार नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै जोडिने गरेको छ । अझ भन्नु पर्दा नेपाली नागरिकता बनाउन मात्रै उनीहरू जिल्ला सदरमुकाम धनगढी पुग्ने गरेका छन् । राजधानी काठमाडौं देख्ने कोही छँदै छैन ।


यो बस्तीको दक्षिण कुनो भारतको दुदुवा नेसनल पार्क (निकुञ्ज) सँग जोडिएको छ । पश्चिममा नेपालको मोहना नदी पर्छ । पूर्वमा भारतको बेलापरसुवा बस्ती पर्छ । घाँस दाउराका निकुञ्जभित्रै पस्छन् । सिँचाई गर्न कुलो पनि निकुञ्जभित्रैको तालको पानी प्रयोग गरिन्छ । निकुञ्जका वनककर्मी तथा कर्मचारीको दया–माया नभए उनीहरूको खेतमा सिँचाइ हुँदैन । गाउँमा पालना गर्नुपर्ने नियम कानुन निकुञ्जले तोकेअनुसार गर्नुपर्छ ।


पुरुषहरूलाई निकुञ्जभित्र प्रवेश निषेध छ । महिलाहरूले मात्रै घाँस दाउरा र पशुचौपाया चराउन निकुञ्जभित्र जान पाउँछन् । त्यसक्रममा महिलामाथिको दुर्व्यवहार पनि सहेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए । निकुञ्जभित्र केही काम गराउनु परे यहाँका कर्मचारीले यही गाउँका बासिन्दालाई बोलाउने गर्छन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?