१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुरक्षाकर्मीकै भरमा रक्तसञ्चार केन्द्र

‘बिरामीका आफन्त वा अन्य स्थानीय रक्तदान गर्नै मान्दैनन्, रक्तदान गरे कमजोर भइन्छ भन्ने आम–धारणाले जरो गाडेको छ’
मनोज बडू

दार्चुला — जिल्ला अस्पतालमा ४ वर्षअघि स्थापना गरिएको रक्तसञ्चार केन्द्र सुरक्षाकर्मीहरूको भरमा चलेको छ । यहाँका स्थानीय बासिन्दा रक्तदान गरे कमजोर भइने धारणाका कारण आफ्नै बिरामीलाई पनि रक्तदान गर्दैनन् ।

सुरक्षाकर्मीकै भरमा रक्तसञ्चार केन्द्र

आफन्तहरूले बिरामीलाई रगतको व्यवस्था आफैं गर्नुपर्ने भए पनि रगत दिन कोही तयार हुँदैनन् । रक्तसञ्चार केन्द्रका कर्मचारी दीपक विष्ट भन्छन्, ‘बिरामीका आफन्त वा अन्य स्थानीय रगत दिन मान्दैनन् । रक्तदान गरे कमजोर भइन्छ भन्ने धारणाले जरो गाडेको छ । यस्तो अवस्थामा सुरक्षाकर्मीको भर पर्नुको विकल्प हुन्न ।’


नेपाल रेडक्रस सोसाइटीको पहलमा अस्पतालभित्र रक्तसञ्चार स्थापना गरिएको थियो । ‘नेपाली सेना, प्रहरी र जनपद प्रहरीले रगत नदिए जुनसुकै समयमा केन्द्र बन्द हुनसक्छ,’ केन्द्रका इन्चार्ज रामप्रसाद ओझाले भने, ‘बिरामीका आफन्तहरूले त कहिल्यै रगत दिन मान्दैनन् । बिरामीलाई चाहिएको रगतको समूह जानकारी गराएर सुरक्षाकर्मीलाई गुहार्छौं ।’


असारदेखि रगत बढी चाहिन्छ । विभिन्न किसिमका दुर्घटना, भीरबाट लडेर घाइते भएका घटना बढी आउने हुँदा रक्त भण्डारण आवश्यक हुने उनी बताउँछन् । जिल्ला अस्पतालमा सुत्केरी, रक्तअल्पता, सख्त घाइतेको उपचारका लागि रगतको माग बढी हुने गरेको छ । रेडक्रस सोसाइटी र जिल्ला अस्पतालको संयुक्त लगानीमा स्थापना गरिएको केन्द्रमा रगत सञ्चित गर्ने र स्टोर गर्ने उपकरण पनि छैन । दाताबाट झिकेर सीधै बिरामीलाई दिने प्रविधि मात्रै हो ।


जिल्लाका ग्रामीण क्षेत्रमा पनि निःशुल्क तथा सुरक्षित प्रसूति केन्द्रहरू छन् । तर अधिकांश स्थानीय बासिन्दा गर्भवतीलाई जिल्ला अस्पतालमै प्रसूति गराउन ल्याउँछन् । यही कारणले पनि रगतको बढी खाँचो पर्ने गरेको ओझाको भनाइ छ । रक्तसञ्चार केन्द्रमा सुरक्षाकर्मीहरूको नाम, नम्बर, रक्त समूहसहितको नाम राखिएको छ । ‘सुरक्षाकर्मीहरूको रक्त समूह पहिचान गरी केन्द्रमा विवरण राखेका छौं,’ ओझाले भने, ‘आवश्यक परेका बेला फोनबाट बोलाएर तत्कालको समस्या टार्दै आएका छौं ।’


अशक्त, एकल महिलालाई निःशुल्क रगत दिइने गरेको छ । अन्य बिरामीलाई शुल्क तोकिएको छ । जनचेतना अभावले यहाँका बासिन्दाले रक्तदान गर्न नमान्ने समस्या रहेको रेडक्रसका जिल्ला सभापति गोपालसिंह महरा बताउँछन् ।


रगत जाँच गर्ने, रगत सञ्चित गर्ने उपकरणलगायत फर्निचरसमेत अभाव रहेको केन्द्रले जनाएको छ । केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जनशक्ति र उपकरण व्यवस्था गर्न सम्बन्धित विभाग र निकायसँग पहल भइरहेको सभापति महराले बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?