महाभारत क्षेत्रमा दिनहुँ सयौं रूख काटिंदै

डीआर पन्त

डडेलधुरा — जिल्ला सदरमुकामदेखि एनडी प्रकाश राजमार्ग हुंँदै तल ओर्लिन सुरु भएपछि विभिन्न ठाउंँमा महाभारत वन क्षेत्र फँडानी गरी थुपारिएका सल्लाका गोलिया देख्न सकिन्छ ।

अमरगढी नगरपालिकाको आइतदेखि बगरकोट हुंँदै साविकको रूपाल गाविस जाने मूल सडक छेउमा यसरी फँडानी गरी यत्रतत्र छरिएका सल्लाका काठ वर्षभरि नै देखिन्छन् । कतै आवादीका नाममा, कहीं वैज्ञानिक वनका नाममा त कहींँ राष्ट्रिय वनका नाममा महाभारत संरक्षित वनमा फँडानी गर्ने लहर नै चलेको छ ।


जिल्लाका तरकारी खेती हुने गाउंँमा पुग्ने हो भने वन फँडानीको चर्को रूप देखिन्छ । महाभारत जंगलबाट हुर्कन थालेका साना पोथ्रा र मझौला खाले रूख काटेर तरकारी बारीमा प्रयोग नहुने कुनै गाउंँ बांँकी छैन । सदरमुकामको बसपार्कबाट डोटी घटाल गाउंतिर हेर्ने हो भने जताततै यसरी वन फँडानी गरी तरकारी बारीमा प्रयोग गरेको सहज देख्न सकिन्छ । जंगलमा हुर्कन थालेका साना पोथ्रा काटेर तरकारी बारीमा थाक्रा बनाउन प्रयोग गर्नेको निकै ठूलो संख्या रहेको छ ।


वन डिभिजन कार्यालयको छेउबाट दैनिक महाभारत वनबाट दाउरा काटेर बजारमा बिक्री गर्न आउनेको संख्या सयभन्दा बढी छ । सदरमुकामका होटलमा मात्र होइन घर घरमा दैनिक यसरी दाउरा बिक्री गर्नेको ठूलो संख्या छ । अघिल्लो दिन महाभारत जंगलमा दाउरा काट्ने र बिहान उज्यालो नहुंँदै वन डिभिजन कार्यालय छेउको बाटोबाट दाउरा बिक्री गर्न आउनेको लर्को नै लाग्ने गरेको छ ।


जिल्लाका ४ वटा स्थानीयतहका वासिन्दाले घरायसी प्रयोजनका लागि पनि महाभारत वनक्षेत्रमा नै काठ काट्ने गर्छन । अमरगढी नगरपालिका, भागेश्वर गाउंपालिका, आलीताल गाउंँपालिकाको आधा भूभाग र गन्यापधुरा गाउंँपालिकाका उपभोक्ता सबै महाभारत वन क्षेत्रमा नै आश्रित रहेका छन । घाँंस दाउरा मात्र होइन घर निर्माण देखि ब्यबसायिक रुपमा काठ विक्रीका लागि महाभारत जंगल क्षेत्रमा दैनिक ठूलो फडानी हुने गरेको छ ।


जनस्तरमा गठित महाभारत संरक्षण अभियानको तथ्यांक अनुसार डडेलधुराको महाभारत जंगल क्षेत्रवाट दैनिक ३ सय देखि ४ सय साना ठूला रुख फडानी भइरहेको छ । यसमध्ये वन डिभिजन कार्यालयको आदेशमा सवैभन्दा वढी सल्लाका जंगल फडानी भइरहेका छन भने उपभोक्ताले तरकारी खेती र अन्य घरायसी प्रयोजनका लागि पनि दैनिक ठूलो संख्यामा रुख काट्ने गरेका छन ।


‘दैनिक ३ सय भन्दा वढी साना ठूला रुख महाभारत जंगलमा फडानी भइरहेको छ’ महाभारत संरक्षण अभियानका सदस्य राजेन्द्र जोशीले भने ‘वनकर्मी, उपभोक्ता र सामुदायिक वनका पदाधिकारी सवैलाइ जानकारी हुँंदाहुंँदै पनि फडानी जारी छ ।’ वन डिभिजन प्रमुख बिष्णु आचार्य भने महाभारत संरक्षणका लागि दीर्घकालीन प्रयास सुरु भएको दावी गर्छन ।

प्रकाशित : श्रावण ८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?