परदेशबाट फर्केर आलु खेती

डीआर पन्त

डडेलधुरा — रोजगारीका लागि तेस्रो मुलुक पुगेर फर्किएका युवाको एक समूह गाउँमै आलुखेती गर्ने विचारमा लागे । विभिन्न विषयमा स्नातक ५ जनाको कुरा मिल्यो । ४० रोपनीको सिंगो प्लट जग्गा खोजे । परिवारको अंशबन्डाले टुक्र्याउने र घडेरीका लागि खण्डीकरणको चलनले सिंगो एउटै ठूलो प्लट फेला परेन । भागेश्वर–४ को नौगाउँमा मुस्किलले २७ रोपनी जग्गा पाए । 

गत वर्ष गन्यापधुरा गाउँपालिकामा ४ जनाको समूहले २ सय रोपनीमा गरेको आलुखेतीवाट एकै सिजनमा ५० लाखभन्दा बढी आम्दानी गरे । अमरगढीका एक जना युवाले २० रोपनीभन्दा कम जमिनमा गरेको आलुखेतीवाट २ सिजनमा २० लाख आम्दानी गरेर चर्चा कमाए । आलु खेतीमा मात्र होइन २ वर्षयता डडेलधुरामा विभिन्न व्यावसायिक तरकारी खेतीमा युवाहरूको संलग्नता निकै बढेको छ ।

ग्रामीण सडक सञ्जाल विस्तारसँगै कृषिउपजले बजार पाउन थालेपछि व्यावसायिक कृषिमा युवाको रुचि बढेको हो ।
‘सधैं विदेश नै जानुभन्दा तरिका पुर्‍याएर खेती गर्न सके गाउँघरमै आम्दानी हुन सक्ने रहेछ,’ जग्गा खोज्दै भागेश्वर पुगेका युवामध्ये अमरगढी–५ का रमेश भट्टले भने ‘बजार, फलाउने तरिका, धेरै फल्ने ठाउँ आदिका बारेमा बुझेर नै हामी पनि आलु खेती गर्ने निर्णयमा पुग्यौं ।’ सुरुमा १० लाख लगानी गरेर खेती थाल्ने योजना बनाएको उनले बताए ।

तरकारीको व्यावसायिक खेतीमध्ये आलुमा मात्र यहाँका सयौं युवाहरू समूहगत रूपमा जुटेका छन् । पछिल्लो समय करिब १७ सय जना युवा व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । यिनमा १३ सय युवा कृषक आलुखेतीमा संलग्न छन् । ‘हाम्रो तथ्यांकमा १३ सय जनाभन्दा बढी कृषक आलुखेतीमा संलग्न छन्,’ आलु सुपरजोन कार्यक्रम डडेलधुराका प्रमुख खेमराज जोशीले भने, ‘आलुबाहेक विभिन्न तरकारी खेतीमा संलग्न युवाहरूको संख्या १७ सयभन्दा बढी छ ।’ परम्परागत रूपमा आलुखेती गर्ने तथ्यांकमा समेटिन नसकेका कृषकको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।

वर्षमा दुई सिजन उत्पादन गर्न सकिने तरकारीबाट राम्रो मुनाफा लिन लगानी र परिश्रम पनि आवश्यक छ । संलग्न कृषकहरूले तरिका पुर्‍याएर लगानी गर्दा तरकारीले मनग्ये आम्दानी दिने अवस्था रहेको बताएका छन् । केही समययता उत्साही कृषकलाई आलु सुपरजोन कार्यक्रमले विभिन्न प्रकारका सहयोग गर्न थालेपछि पनि युवा सामूहिक आलु खेतीमा आकर्षित भएका हुन् ।

‘राम्रो मुनाफा गर्न सकिने सम्भावना भएकाले आलुखेती युवाहरूको रोजाइमा परेको छ,’ भागेश्वर ४ जिल्लाकै अगुवा कृषक गणेश बुढाऐरले भने ‘आलुखेतीका माध्यमले भए पनि उत्पादनशील क्षेत्रमा युवाहरूको संलग्नता निकै बढेको छ ।’ परम्परागत रूपमा तरकारी खेती गरिरहेकाहरूलाई पनि युवाहरूको संलग्नताले व्याववायिक र आधुनिक बन्ने प्रेरणा दिएको उनले बताए ।

डडेलधुरामा पछिल्लो २ वर्षदेखि १ हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती भइरहेको सरकारी तथ्यांक छ । आलु सुपरजोन र विभिन्न स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार गत वर्षसम्म ६ सय हेक्टरमा मात्र आलु खेती भइरहेको थियो । यस आर्थिक वर्षमा थप ५ सय हेक्टर जमिनमा आलु खेती गर्न आलु सुपर जोन कार्यक्रमले योजना बनाएको छ ।

जिल्लाका ५ वटा स्थानीय तहमा ४७ वटा सहकारी तथा समूह मार्फत सामूहिक रूपमा आलुखेती गरिरहेका छन् । समूह र सहकारीका माध्यमले सामूहिक आलु खेती गर्नेको संख्या मात्रै एक हजारभन्दा बढी रहेको छ ।

युवाहरूलाई प्रोत्साहन गर्न विभिन्न स्थानीय तहले यस आर्थिक वर्षमा ५० देखि ४ सय हेक्टर जमिनमा आलु खेतीका लागि सहयोग गर्न बजेटसमेत छुट्टयाएका छन् । जिल्लाका ७ वटै स्थानीय तहले १ हजार ४ सय रोपनीमा कृषकलाई सहज रूपमा आलुको बीउ उपलब्ध गराउन बजेट छुट्टयाएका हुन् । कृषि सुपरजोन कार्यक्रमका प्रमुख जोशी भन्छन्, ‘आलु खेतीमा युवाहरूको संलग्नता बढेसँगै उत्पादनमा पनि निकै वृद्धि भएको छ ।’

विगत वर्षहरूभन्दा यस वर्ष दोब्बरले आलु उत्पादन बढेको पनि उनले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकमा पछिल्लो सिजनमा मात्र ७ करोडसम्मको आलु जिल्लाबाहिर गएको छ ।

कृषि विभागका वरिष्ठ प्राविधिक टेकबहादुर विष्ट कुल उत्पादनको ४० प्रतिशत आलु तराई निकासी हुने गरेको र बाँकी पहाडी जिल्लामा खपत हुने गरेको बताउँछन् । विष्टले भने, ‘जिल्लामा अनुमानित ९ सय मेट्रिक टन आलु उत्पादन भइरहेको छ ।’ उनका अनुसार यो विगतका वर्षभन्दा दोब्बरले बढी उत्पादन हो । ‘व्यावसायिक रूपमा जसरी कृषक उत्पादनमा लागेका छन्, त्योअनुरूप उत्पादन भने हुन सकेको छैन ।’ वरिष्ठ प्राविधिक विष्टले भने, ‘उत्पादनका क्षेत्रमा व्यावसायिक रूपमा युवाहरूको उल्लेख्य प्रवेशले गर्दा यस क्षेत्रमा कार्यरत सबै उत्साहित भएका छन् ।’

यस वर्ष डडेलधुरामा रहेको शीत भण्डारमा मात्र कृषकहरूले ४ सय ५० मेट्रिक टन आलु भण्डारण गरेका छन् । वरिष्ठ कृषि प्राविधिक विष्टका अनुसार नेपालमा २ सिजनमा मात्र आलु उत्पादन हुने गरेकोमा अब वर्षमा ३ पटक आलु उत्पादन गर्ने प्रयास सुरु गरिएको छ । आलु मात्र नभई आलुको बीउ उत्पादनबाट बढी मुनाफा हुने भएकाले कृषकको आकर्षण त्यसतर्फ पनि बढेको छ । आलु सुपरजोन कार्यक्रमकाप्रमुख खेमराज जोशी भन्छन्, ‘व्यावसायिक रूपमा गुणस्तरीय बीउ उत्पादनका क्षेत्रमा पनि ठूलो लगानी भइरहेको छ ।’

युवाहरूलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न स्थानीय तहको पनि मुख्य भूमिका रहेको छ । भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘कृषि क्षेत्रमा काम गर्न चाहने युवाहरूका लागि हरेक स्थानीय तहले विषेष कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।’ आलु सुपरजोन कार्यक्रमका कारण आलु खेतीमा युवाहरू प्रोत्साहित भएजस्तै स्थानीय तहले अन्य उत्पादनका क्षेत्रमा पनि युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने प्रमुख भट्टले बताइन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

पढ्न पाउँदैनन् फरक क्षमताका बालबालिका

मेनुका ढुंगाना

अछाम — मंगलसेन–५ का १३ वर्षीय रोहित ढुंगाना बोल्न र सुन्न सक्दैनन् । सांकेतिक भाषा भने बुझ्छन् । मंगलसेनको विद्यालयमा समान्य अरू विद्यार्थी जसरी उनले कक्षामा पढ्न सकेनन् ।

परिवारमा सल्लाह गरेर उनीजस्तै बालबालिका पढाउने साँफेबगर नगरपालिकाको श्रीकोटमा रहेको विद्यालयमा रोहितलाइ पठाइयो । तर, उनी त्यहाँबाट घरै फर्किए । पढाइ रोकियो ।

विद्यालयमा पढाइभन्दा अन्य काम धेरै गराउने, पढाइमा बेवास्ता गर्ने भएकाले घरमा फिर्ता ल्याउनुपरेको आमा गोमा ढुंगानाले बताइन् । ‘स्कुलले अपांग केटाकेटीको बेवास्ता गरेको थियो । धेरै हेरचाह र माया गर्नुपर्ने अवस्थाका बालाबलिकालाई नराम्रो व्यवहार गरेको देख्यौं,’ उनले भनिन्, ‘झन्झटबाट मुक्त हुन स्कुलबाट फिर्ता ल्याएका हौं ।’ उनका अनुसार एक वर्षसम्म स्कुलमा बसेका रोहितले बल्ल नाम मात्र लेख्न जानेका छन् ।

उनलाई घर ल्याइएपछि अरूतिर पढ्न पठाउने अवस्था छैन । उनीजस्तै विभिन्न प्रकृतिका अपांगता भएका बालबालिकाका लागि जिल्लाका छुट्टाछुट्टै ठाउँमा कक्षा सञ्चालन गरिएको छ । बहिरा बालबालिकाका लागि महेन्द्र मावि बयालपाटा, दृष्टिविहीनका लागि शोडषा मावि मंगलसैन र बौद्धिक अपागंताका लागि विद्यामन्दिर मावि विनायकमा पढाउने व्यवस्था गरिएको छ । यी तीनवटै विद्यालयमा १० जनाभन्दा बढी विद्यार्थी भर्ना गरेर पढाउन सक्ने अवस्था छैन । सबैमा स्रोत साधन अभाव छ । कतै पढाउने व्यवस्था गरे पनि रेखदेख राम्रो गरिँदैन ।

१० जना विद्यार्थी कोटा हो । अहिले १२ जना बौद्धिक अपांगताका भएका बालबालिका भर्ना गरेका छौं,’ विद्या मन्दिरका प्रधानाध्यापक वीरबहादुर शाहले भने, ‘धेरै अपांग बालबालिका सम्पर्क आउँछन् । स्रोत र साधनको अभावले भर्ना लिन सकिंदैन । यो वर्ष मात्रै १२ जना बौद्धिक अपांगताका भएका बालबालिकालाई फर्काएका छौं ।’ उनीहरू पढाइसँगै सीप सिक्न पाउने अवसरबाट वञ्चित भएको उनले बताए ।

अपांग विद्यार्थीलाई आवासीय सुविधा दिन भवन नभएर सबैलाई एकै कोठामा व्यवस्थापन गर्न बाध्य भएको विद्या मन्दिरका व्यवस्थापन अध्यक्ष टेकबहादुर शाहीले बताए । ‘६ जना छात्रा र ६ जना छात्रलाई एकै कोठामा राख्नुपरेको छ । ७ देखि १५ वर्षका छात्रछात्रालाई एकै कोठामा बसाउँदा निम्तिन सक्ने घटनाको जोखिम धेरै छ,’ उनले भने, ‘सीमित स्रोतका कारण हामीसँग व्यवस्थापनको क्षमता नभए पनि गाह्रो परेको छ ।’ १२ जना बौद्धिक अपांगता भएका बालबालिकाका लागि रेखदेख गर्ने र पढाउने शिक्षक एक/एक जना छन् । दुइ जनाले मात्रै फरक क्षमताका बालबालिकालाई सीपसहितको शिक्षा दिने जिम्मेवारी छ ।
एउटा गाउँमा एकाध हुन्छन् त्यस्ता बालबालिका । तिनलाई शिक्षाको अवसर दिनुपर्छ भन्नेमा सरकारको ध्यान पुगेन,’ शिक्षक टोपबहादुर कडायतले भने, ‘सुस्त श्रवण, बहिरा, दृष्टिविहीनहरूले शिक्षाको उज्यालो पाएनन् । सरकारले सबै नागरिकमा शिक्षाको पहुँच पुर्‍याउन विभिन्न अभियान सञ्चालन गर्‍यो तर, व्यवस्थापन गर्न सकेन ।’

ग्रामीण भेगमा रहेका फरक क्षमता भएका बालबालिकालाई शिक्षा दिन कसैले पहल नगरेको उनी बताउँछन् । फरक शारीरिक क्षमता भएर विद्यालयबाहिर रहेका र बीचैमा पढाइ छाडेका बालबालिकाको कक्षामा टिकाउने जुक्तिका साथ नयाँ अभियान सुरु गर्नुपर्ने उनको तर्क छ । ‘सरकारको सबैका लागि शिक्षा कार्यक्रमलाई सफल बनाउन सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन सक्नुपर्छ,’ उनले भने, ‘नारा राम्रा छन् । आवश्यकताअनुसारको बजेट र कार्यक्रम नहुँदा बालबालिकाले अवसर नपाएको स्थिति छ ।’

अपांगता भएका बालबालिकाका लागि शिक्षा दिन निकै चुनौती रहेको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा बताउँछन् । ‘सबै बालबालिकालाई अनिवार्य निःशुल्क शिक्षा दिने अभियान हो । तर, फरक क्षमता भएकाहरूलाई निकै समस्या देखेका छौं,’ उनले भने, ‘सुस्तश्रवण, दृष्टिविहीन बालबालिकालाई सबै विद्यालयमा अध्यापन गराउन नसकिने र परिवारबाट विछोड गराउन पनि समस्या छ ।’

जनप्रतिनिधि, स्थानीय समाजसेवी र सरोकारवाला निकाय मिलेर उनीहरूको खोजी गरी विद्यालयमा पुर्‍याउन सके स्थानीय तहले योजना दिने उनले बताए । उचित व्यवस्थापन गर्न सके मात्रै सबै फरक क्षमता भएका बालबालिका शिक्षाको मूलधारमा ल्याउन सकिने जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवर बताउछन् । ‘सबै ठाउँमा फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउन आर्थिक समस्याले पिरोल्छ,’ उनी भन्छन्, ‘तर, उचित व्यवस्थापन गरी सबैलाई समेट्नका लागि आवश्यकता हेरिनेछ ।’

प्रकाशित : श्रावण ५, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्