२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुर्गममा महिलाका गुनासैगुनासा

मेनुका ढुंगाना

अछाम — एउटै मात्र भए पनि गाउँमै कुटानीपिसानी मिल होस्, बाटोमै सुत्केरी हुन नपरोस् । बाटोघाटो सहज होस्, अछामको ग्रामीण क्षेत्रका महिलाका माग र अपेक्षा झट्ट सुन्दा सामान्य लाग्छन् ।

दुर्गममा महिलाका गुनासैगुनासा

‘कुटानीपिसानीको सारै समस्या छ,’ मंगलसैन नगरपालिका १३ बाँडा गाउँकी गोमा धामी भन्छिन्, ‘सजिलो स्वास्थ्य सेवा भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ गाउँबाट स्वास्थ्य चौकी पुग्न ५ घण्टा लाग्छ । सुत्केरी व्यथा लागेका महिलालाई धेरै जोखिम रहेको बताउँदै धामीले भनिन्, ‘मेरो कान्छो छोरा जंगलको बीच बाटोमै जन्मिएको हो ।’


त्यो दिन आफू भाग्यले बाँचेको उनले बताइन् । ‘गाउँमा सडक छैन । बिजुली छैन । न त गाउँ नजिक विद्यालय छ,’ उनले भनिन् ‘हाम्रा समस्या कति छन् कति । सबै भन्दा बढि महिलाले नै दुःख पाउने गरेका छन्,’ वडा सदस्य सरु धामीले भनिन्, ‘बाँडा, डाँडीगडेका महिलालाई सुत्केरी हुन टाढा जानुपर्छ , सहज छैन भनेर पटकपटक वडाको बैठकमा पनि कुरा राख्छु । तर कसैले कुरा सुनिदिंदैनन् ।’


उनका अनुसार अहिले पनि घरमै सुत्केरी गराउने चलनमा कमी आउन सकेको छैन । ‘स्वास्थ्य चौकी टाढा भएकाले बाटोमा सुत्केरी भइहाल्यो भने झन् असुरक्षित भइन्छ’ वडा सदस्य सरुले भनिन्, ‘जंगलको सानो गोरेटो बाटोमा एक/दुइ जनाले हिंड्न पनि डर लाग्छ । जंगली जनावरको डर उस्तै छ ।’


अर्की वडा सदस्य मैसरी थापा पनि वडाको बैठकमा महिलाले बोलेको कुराहरू कसैले वास्ता नगरेको बताउँछिन् । ‘गाउँमा दिदिबहिनी हाम्रा लागि केही गरी दिनुपर्‍यो भन्छन् । वडा बैठकमा महिला सदस्यले बोलेको कसैले वास्ता गर्दैनन्’ उनले भनिन्, ‘सदस्य हौं भनेर परिचय दिनु बाहेक अरु जिम्मेवारी हामीलाई केही छैन ।’


नगरक्षेत्र भित्रका महिलालाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा दिन सुरु गरेको मंगलसेन नगरपालिकाको स्वास्थ्य शाखा उपसंयोजक सुशीला ढुंगाना बताउँछिन् । ‘अरू ठाउँभन्दा बस्ती विकट पनि छ । नगरपालिकाको केन्द्रबाट टाढा पनि छ । गाउँमै पुगेर सेवा दिन सुरु गरेका छौं,’ उनले भनिन् ।


चालु आर्थिक वर्षका कार्यक्रमहरू ग्रामीण क्षेत्रका महिलाका आधारभूत समस्यालाई ख्याल गरेर बनाउन थालेको नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय बताउँछिन् । ‘नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रका महिलालाई राहत पुर्‍याउने कार्यक्रम समेटिएका छन् । अब समयमै समुदायसम्म पुगेर समस्या समाधानका लागि पहल गर्ने छौं,’ उनले भनिन् ‘अब वितरणमुखी नभई लक्षित वर्गलाई फाइदा हुने कार्यक्रम ल्याउँछौं ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?