निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीले अदालतको अवहेलना गरेको ठहर

तीन दिनभित्र आत्मालोचना वा १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला
भवानी भट्ट

काठमाडौँ — अदालतको मानहानी विषयमा परेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले मानसखण्डा दैनिकका सम्पादक तथा प्रकाशक खेम भण्डारीलाई आत्मालोचना वा एक घण्टा कैद सजाय सुनाएको छ । जिल्ला बार एसोसिएसनले तीन महिनाअघि दायर गरेको मुद्दामा सोमबार जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।

निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीले अदालतको अवहेलना गरेको ठहर

जिल्ला अदालतका रजिष्ट्रार हरिकृष्ण अवस्थीका अनुसार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले यस्तो फैसला गरेको हो । ‘अदालतको अवहेलना गरेको ठहर भएको छ,’ अवस्थीले भने, ‘तर यसमा विभिन्न अप्सन दिइएको छ ।’ उनका अनुसार अदालतको अवहेलना भएको विषयमा भण्डारीले ३ दिनभित्र आत्मालोचना गर्ने वा १ घण्टा कैद र १ रुपैयाँ जरिवाना हुन सक्ने फैसला आएको छ ।


पत्रकार भण्डारीले पुनरावेदन गर्ने समयभित्र आत्मालोचना वा सजाय भुक्तान गर्ने समय रहेको बताए । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको घटनामा यातना र प्रमाण नष्टको अरोपमा मुद्दा लागेका तत्कालीन प्रहरी अधिकारीको विषयमा अदालतले मागेको एमिकस क्युरीको विषयमा जिल्ला बारले विष्टको नातेदार पठाउन खोजेको भन्दै पत्रकार भण्डारीले आफू सम्पादक रहेको पत्रिका मानसखण्डमा समाचार प्रकाशित गर्नुका साथै आफ्नो फेसबुक वालमा समेत राखेका थिए । बारले एमिकसमा पठाएका व्यक्तिले पनि प्रहरी अधिकारीलाई जोगाउने खालको धारण राखेको मानसखण्ड दैनिकमा छापिएको थियो ।


‘पत्रकार भण्डारीले आत्मालोचनासँगै फेसबुकमा लेखेका स्टाटससमेत हटाउने र उक्त कुरा आफ्नो पत्रिकामा प्रकाशित गरेर आत्मालोचना गर्नुपर्ने फैसला आएको हो,’ अवस्थीले भने, ‘त्यसो नभए एक घण्टा कैद र एक रुपैयाँ जरिवाना हुनेछ ।’ भण्डारीले भने अदालतको फैसलालाई सम्मान गर्दै यसविरुद्ध पुनरावेदन जाने बताएका छन् । उनले आफूले अदालतको गरिमा जोगाउन समाचारसँगै फेसबुक वालमा लेखेका कुरा नहटाउने जनाएका छन् । ‘अदालतको फैसलाको सम्मान गर्छु, तर गल्ती नगरी आत्मालोचना गर्दैन,’ उनले भने, ‘जिल्ला अदालतको फैसलामा पुनरावेदन गर्छु ।’


जिल्ला बार अध्यक्ष प्रकाश पाण्डेले अदालतको फैसला आफूले अध्ययन गरिनसकेकाले अहिल्यै धारणा बनाइनसकेको बताए । उनले फैसला आएपछि बारको बैठक बसेर आधिकारिक धारणा बनाउने बताए । ‘हामीले अदालतको मानहानी भएको देखेर मुद्दा दायर गरेका हौं, त्यही अनुसार फैसला भयो,’ उनले भने, ‘फैसला अध्ययनपछि आधिकारिक धारण राखिनेछ ।’

प्रकाशित : असार ३१, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?