कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रोपाइँ सकेर भारत 

कञ्चनपुर/धनगढी — एक हातमा रोटी । रोटी माथि लसुनको अचार । जिब्रोमै झुन्डिने थारू अचारको स्वादसँग चौतारोमा बसेर हतारहतारमा रोटी खाँदै युवाको एक समूह । नेपाल–भारत सीमा क्षेत्रनजिकै गड्डाचौकीमा भेटिएको थारू युवाको समूह शनिबार कामको खोजीमा भारत पस्दै गर्दा भेटिएको हो । 

रोपाइँ सकेर भारत 

गाउँमा रोपाइँ सकिएपछि सुदूरपश्चिमका पहाडी र तराई तथा कर्णाली प्रदेशका अधिकांश पुरुषको यतिबेला कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट कामको खोजीमा भारत जानेको लर्को देख्न सकिन्छ । ‘घरबाटै ल्याएको रोटी र अचार खाएर चाँडै बस चढ्ने हतारोमा छौं,’ कैलालीको घोडाघोडी नगरपालिका ५ पहलमानपुरका लालबहादुर चौधरीले भने, ‘चाँडो बस भेटायो भने ऋषिकेश पनि चाँडै पुग्छौं ।’


६ जनाको समूहमा आएका उनीहरू वनबसाबाट हरिद्वारको बसमा चढ्छन् । हरिद्वारबाट २ घण्टाको यात्रापछि ऋषिकेश पुगिन्छ । उनको टोली ऋषिकेशबाट १ घण्टा टाढा ढौसर भन्ने ठाउँमा मजदुरी गर्न हिँडेको हो । उनीहरूले घरबाटै ठेकेदारसंँग कुरा गरेर ज्याला मजदुरी र कामको बारेमा तय गरिसकेका छन् । मिस्त्रीको भारु ६ सय र मजदुरको ३ सय ज्याला पाउने तय भएकोलालबहादुरले सुनाए ।


मुलुकमा संविधान कार्यान्वयनसँंगै तीन तहको सरकार बनेको छ । स्थानीयदेखि प्रदेश र संघीय सरकारले काम गरिरहेका छन् । ग्रामीण भेकदेखि सहर बजार जताततै सडक, पुल र तटबन्ध तथा ठूला भवन बनिरहेका छन् । विगतको तुलनामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले तीव्रता पाएका छन् । रोजगारीका अवसरहरू सिर्जना भए पनि स्थानीयले काम खोज्न भारतै जानुपर्ने बाध्यता छ ।


अहिले पनि जनप्रतिनिधिहरूको आसोपासे र कार्यकर्ताहरूकै हाली मुहाली हुँदा वास्तविक बेरोजगारले काम पाउन सकेको छैन । ‘सजिलो काम नेताका आफन्तले पाउँछन्, गाह्रोमा पारिश्रमिक छैन,’ कैलाली पहलमानपुरका सरोज चौधरीले भने, ‘जथाभावी डोजर चलाउँदा पनि गाउँमा काम पाइने अवस्था छैन ।’


सरोज ५ वर्षदेखि भारत उत्तराखण्डको ऋषिकेशमा मजदुरी गर्दै आएका छन् । यस वर्ष वर्षा ढिलो हुँदा पहाडी भेकमा अझै रोपाइँ सकिएको छैन । बर्सेनी रोपाइँ सकिएपछि कामको खोजीमा भारत पस्नेको यतिबेला सीमानाकामा भीड बढ्ने गर्छ । काम खोज्दै भारत पस्ने चलन वर्षौंअघिको हो ।

‘जस्तोसुकै परिवर्तन भए पनि हामीजस्ता युवाले गाउँमै रोजगारी पाउने कुरा नारामै सीमित रहने भयो,’ बैतडीको सुर्नया गाउँपालिका ३, बांँसका केशवबहादुर विष्टले भने, ‘हाम्रा पुर्खाले भारतमै दिन काटे, हाम्रो जीवन पनि उतै मजदुरी गरेरै बित्ने भयो ।’ उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि अधिकांश डोजर मालिक बनेका छन् ।


सरकारले १ करोडमुनिका योजनामा डोजर प्रतिबन्ध गरे पनि गाउँमा २/४ लाखका योजनामा पनि डोजर लगाइने गरेको विष्ट बताउँछन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश पुरुषका कामको खोजीमा जान उत्तराखण्डका विभिन्न ठाउँ र हिमाञ्चल रोजाइमा पर्छ । त्यहाँ सडक निर्माण, नयांँ सडकको ट्र्याक खोल्ने र कृषि, भवन निर्माणलगायत क्षेत्रमा नेपालीले काम पाउँछन् ।


पहाडी क्षेत्रमा नयाँ सडक निर्माणमा जोखिम हुने भए पनि बिमा तथा कामदारको सुरक्षाको कुनै व्यवस्था हुँदैन । सडक निर्माणकै क्रममा यहांँका थुप्रै कामदारहरूले ज्यान गुमाएका छन् । पीडित परिवारले किरिया खर्चसमेत पाउने अवस्था भने छैन । जोखिमयुक्त काममा न्यून ज्याला दिने तथा समयमा नदिने समस्याहरू नेपाली कामदारले झेल्दै आएका छन् ।


तर स्थानीय तहदेखि प्रदेश तथा संघीय सरकारले भारतको रोजगारीलाई व्यवस्थित गर्न हालसम्म कुनै योजना ल्याएको छैन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदभार ग्रहण गरेलगत्तै भारतमा काम गर्ने नेपालीको लगत संकलन गर्ने र विस्तारै भारतमा काम गर्न जाने वातावरण अन्त्य गर्ने बताएका थिए । तर हालसम्म नत भारत पस्ने कामदारको लगत संकलन सुरु भयो न उनीहरूको सरोकारका विषयमा प्रदेश तहमा कुनै प्रवेश नै पायो ।


त्रिनगरमा पनि उस्तै

जेठ पहिलो साता बर्खे खेती लगाउन भारतको दिल्लीबाट फर्केका अछामका नवलसिंह नेपाली पत्नी, छोराछोरी र वृद्धा आमालाई आफूसँगै लिएर भारत जाँदै थिए । कैलालीको त्रिनगर भन्सार नाकामा भेटिएका उनले भने, ‘गाउँघरमा रोजगारी नपाएपछि भारत पस्नै पर्‍यो ।’ आफू २५ बर्षदेखि भारतमै काम गर्दै आएको उनले बताए ।


‘स्थानीय र प्रदेशको चुनावका बेला नेताहरूले गाउँठाउँमै रोजगारी पाइन्छ भन्थे, खोई हामीले भारत धाउनुपर्ने दिन अन्त्य नहुने भए,’ उनले भने, ‘गाउँघरमै काम पाए भारत जाने थिएनौं ।’


खेतीपाती र चाडपर्वका बेला घर फर्किनु र त्यसपछि फेरि भारत फर्किनु उनीहरूको नियत बनिसक्यो । ‘गाउँमा आएका कार्यक्रम पनि सरकारले गरिब जनताका लागि कहिल्यै ल्याएन,’ भारत जाँदै गरेका अछामकै पदम नेपालीले भने, ‘भारत नगएर मेरो परिवारको गुजारै हुन्न ।’ उनले घरपरिवारलाई चटक्क छाडेर परदेश जाँदा मन कटक्क हुने भए पनि अरु उपाय नभएको दुखेसो पोखे ।


अछामकै केशव साउँदको मनको पीडा झन् झल्किन्थ्यो । ‘आफ्नै गाउँठाउँमा काम पाएको भए लालाबाला र बूढी आमालाई छाडेर जानु किनपर्थ्यो र ?’ उनले भने ‘गरिबीले परिवारको माया मान्न दिँदो रहेनछ ।’ जुनसुकै सरकार आए पनि गरिब र बेरोजगारीका लागि महसुस हुने काम गर्न नसकेको उनको गुनासो उनीहरूको थियो ।

प्रकाशित : असार ३१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?