२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

शैल्यशिखर मालिकार्जुन पुजन सुरु

दार्चुला — असार शुक्ल चतुर्दशीका दिनबाट देशकै सातौधाम शैल्यशिखर मालिकार्जुनको पुजन जात्रा सुरु भएको छ । शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पुजन जात्राको यात्रा आरम्भ सोमबारबाट सुरु भएको हो ।

मालिकार्जुन गाउँपालिका ३ स्थित मडमा रहेको भण्डारी घरबाट शिखरधामको यात्रा आरम्भ हुने गर्छ । शैल्यशिखर धाम पुजन गर्न श्रद्धालु भण्डारी घरबाट शिखर धुरा (धाम) का लागि हिँडेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।


पवित्र मनले शैल्यशिखरको दर्शन गर्दा मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुख हुने जनविश्वास छ । ‘हिन्दु धर्माबलम्बीको आस्थाको धरोहर दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुष १५ दिनअघि देखि नै शुद्ध भएर यात्रा गर्नुपर्ने जनविश्वास छ,’ धामीले भने, ‘शैल्यशिखर धाम यात्राका लागि अविवाहित महिला र व्रतबन्ध नगरेका पुरुषहरू जाँदैनन् ।’


शिवलिगंका रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेकाले विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनको भीड लाग्छ । शैल्यशिखर धामसम्म तलैबाट खाली खुट्टाले हिँडेर जानुपर्ने स्थानीय बताउँछन् ।


शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेलधुरालगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन मालिकार्जुन आउने गरेका छन् । टाढाबाट आउने भक्तजन आइतबार साँझ मालिकार्जुन मन्दिर पुगिसकेका छन् ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पुजन जात्रा लाग्छ ।


सरकारले पर्यटन विकासका लागि सय गन्तव्यभित्र पर्ने दार्चुलामा अवस्थित देशकै सातौधाम मालिकार्जुन मन्दिर र शैल्यशिखर धामसम्म जाने पर्यटन विकासका पूर्वाधार निर्माण भइरहेका छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?