१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तरकारी भित्र्याउनै दुई दिन

भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुर भन्सार कार्यालयले विषादी परीक्षणविनाको तरकारी र फलफूल आयात गर्न रोक लगाएपछि व्यवासायीहरूले महेन्द्रनगर र धनगढीका लागि नेपालगन्ज नाकाबाट तरकारी भित्र्याउन थालेका छन् ।

तरकारी भित्र्याउनै दुई दिन

सीमावर्ती बजार खटिमाबाटै फलफूल तथा तरकारी खरिद गरी झन्डै ६ सय किमि टाढाबाट आइरहेको व्यवसायीहरू बताउँछन् । यसरी तरकारी भित्र्याउदा दुई दिनभन्दा बढी समय लागिरहेको छ ।


अहिले धनगढी, अत्तरिया र महेन्द्रनगरका लागि दैनिक ४/५ ट्रक तरकारी र फलफूल नेपालगन्ज नाकाबाट आयात भइरहेको छ । ‘यहांँबाट आयात हुन नसक्ने भएपछि नेपालगन्ज भएर आयात गर्न थालेका हौं,’ व्यवसायी नरेन्द्र साउँदले भने । उनका अनुसार शुक्रबारसम्म परीक्षणविनै र शनिबारदेखि परीक्षण गराएर मात्रै भित्रिएका हुन् । खटिमामा लोड भएको गाडी भारतकै रुपैडिया हुँदै नेपालगन्ज नाकाबाट भित्रिएर दोस्रो दिन मात्रै महेन्द्रनगर पुग्ने उनले बताए । यसरी आयात गर्दा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म ढुवानी भाडा महँगो पर्ने उनले बताए ।


‘महेन्द्रनगरमा दैनिक १/२ ट्रक मात्रै आउँछ, धनगढी र अत्तरियामा पनि २/३ ट्रक आउँछ,’ उनले भने, ‘अहिले आयात भइरहेको आलु, प्याज र आँप मात्रै हो, हरियो तरकारी त दुई दिनसम्म खराब हुन्छ ।’


भारत उत्तराखण्डको खटिमाबाट महेन्द्रनगर पुग्न बढीमा १ घण्टा लाग्छ । क्वारेन्टाइन जाँंच र विषादी परीक्षण गर्दा पनि एक दिनमा सहजै भित्र्याउन सकिन्छ । तर अहिले तरकारी र फलफूल आयात गर्न खटिमाबाट भारतकै बाटो भएर पुरनपुर, माताटाँडा, सीतापुर हुँदै ४ सय किमि टाढा रुपैडिया पुग्नुपर्नेछ । सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरी विषादी परीक्षण पछि मात्रै तरकारी र फलफूल आयात गर्ने निर्णय कार्यान्वयन गरेको थियो । तर केही दिनमै उक्त निर्णय फिर्ता गरेपनि कञ्चनपुरको गड्डाचौकी नाकाबाट तरकारी र फलफूल आयात हुन सकेको छैन ।


स्थानीय विद्यार्थी र सर्वसाधारणले विरोध जनाएपछि आयात परीक्षणविना आयात हुन नसकेको हो । कैलालीको अत्तरिया स्थित प्रयोगशालामा उपकरण खराब भएकाले व्यवसायीहरूले नेपालगन्ज नाकाबाट आयात गर्न लागेका हुन् ।


पछिल्लोपटक सर्वोच्च अदालतले पनि विषादी परीक्षणपछि मात्रै तरकारी र फलफूल भित्र्याउन आदेश गरेपछि केही नाकामा विषादी परीक्षणपछि मात्रा आयात भइरहेको छ । ‘विषादी परीक्षण र क्वारेन्टाइन प्रक्रिया पूरा गरी आउने व्यवसायीलाई हामी सेवा दिन तयार छौं,’ कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘सर्वोच्चको आदेशअनुसार विषादी परीक्षण गराएर मात्रै तरकारी तथा फलफूल भित्र्याउनुपर्छ ।’


उनले अब विषादी परीक्षणविना भित्रिन नदिइने उनले बताए । उनका अनुसार अहिले गड्डाचौकी नाकाबाट तरकारी र फलफुल आयात बन्द भएको छ । असार दोस्रो सातासम्म विषादी परीक्षण गराएर करीब १२ ट्रक भित्रिए पनि त्यसपछि भने यहांँको नाकाबाट तरकारी भित्रिएको छैन ।


मुख्य नाकाबाट नआए पनि लुकाइछिपाइ साइकल र मोटरसाइकलमा तरकारी आयात भईरहेको महेन्द्रगर सब्जिमण्डी व्यवस्थापन समिति अध्यक्ष विशाल सोनार बताउछन् । उनका अनुसार अहिले भारतबाट आलु, प्याज र आँप मात्रै आयात भइरहेको छ । यहांँको उत्पादन पनि सकिएको र भारतबाट आयातमा पनि केही कमी आएकाले तरकारी र फलफुलका मुल्य भने बढेको छ ।


आलु, प्याज र हरियो तरकारीसंँगै आँपको मूल्यवृद्धि भएको हो । हरेकको मूल्य प्रतिकिलो २०/२५ रुपैयाँसम्म बढेको छ ।


प्रकाशित : असार ३०, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?