कञ्चनपुरमा विपद्को पूर्व तयारी

रासस

कञ्चनपुर — मुलुकभर वर्षापछि बाढीपहिरोले जनधनको क्षति भइरहेका बेला कञ्चनपुरमा भने त्यसको पूर्वसावधानीका लागि स्थानीय निकाय अग्रसर भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तह गैरसरकारी संस्था तथा सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ।

कञ्चनपुर जिल्लाका बाढी प्रभावित हुनसक्ने क्षेत्रमा सुरक्षित ठाउँको समेत पहिचान गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। यहाँको लालझाडी गाउँपालिका र महाकाली नगरपालिकाका केही बस्ती डुबानको उच्च जोखिममा रहेका छन्।

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई पनि सचेतना अपनाउन आग्रह गरिएको छ। विपद् व्यवस्थापन समितिले यहाँको महाकाली नगरपालिकाको कुतियाकवर, मायापुरी, जामुनघाडी, राप्ती टोललाई डुबानको उच्च जोखिममा राखिएको छ।

लालझाडी गाउँपालिकाको नन्द गाउँ, डुंगा, बल्मी, गौरी, होरीमोहना गाउँलाई पनि डुबान हुनसक्ने क्षेत्रमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। महाकाली नगरपालिका महाकाली र जोगबुढा नदीमा आउने बाढीको उच्च जोखिममा रहेको छ भने यहाँको दक्षिण क्षेत्रमा दोदा र मछेली नदीले बढी नोक्सान पुर्याउँदै आएको छ। 'सुरक्षा निकायलाई तयारी हालतमा राखिनुका साथै विभिन्न नदीमा पानीको सतहमापन गर्न साइरन जडान गरिएको छ' प्रजिअ वैद्यले भने,'जिल्लामा दातृ संस्थासित रहेको राहतको लगत पनि बुझ्दैछौं।'

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्लाभरी रहेका उप–शाखाहरुमार्फत पूर्व तयारीमा जुटेको छ। 'बाढी आउँदा बढी क्षति हुने दक्षिण क्षेत्रमा नदी किनारमा हामीले समूह बनाएर उद्धार तथा प्राथमिक उपचार तालिम पनि दिएका छौं।'

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्रमुख मनोजप्रसाद उप्रेतीका अनुसार मछेली नदीको उद्गमस्थलमा पनि ‘वायोमेट्रिक सिस्ट्म’ जडान गरिएको छ।

महाकाली नदीमा दार्चुलाको दत्तु र डडेल्धुराको परिगाउँमा बाढीको पूर्व सूचना दिने मेसिन जडान गरिएको छ। परिगाउँबाट कञ्चनपुर पानी पुग्न करिब ८ घण्टा समय लाग्ने भएकाले त्यो समयमा बाढी प्रभावित क्षेत्रमा पूर्व तयारीको पर्याप्त रहेको जिल्ला रेडक्रस सोसाइटीले जनाएको छ।

रेडक्रसको जिल्ला शाखामा २ सय परिवार र क्षेत्रीय स्टोरमा चार हजार परिवारलाई पुग्ने गैरखाद्य राहत भण्डारण गरिएको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको गत वर्षको तथ्यांकले वर्षात्‌का बेला जिल्लामा ६० हजारदेखि ६५ हजार जनसंख्या प्रभावित भएका थिए।

प्रकाशित : असार २९, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीमा पाँच दिनपछि घाम

रासस

बर्दिबास — महोत्तरीमा पाँच दिन लामो वर्षा आज मध्यान्हपछि थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।

आकाश उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझैं आक्रान्त छन् । जिल्लाका गाउँ/नगर वर्षा र बाढीको पानीले अझै डुबेका छन् ।

पछिल्लोपटक पाँच दिनको वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ/नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

जिल्लामा यसपटक बाढीले बगाएर बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गको भब्सीपुल बगाएपछि अझै सो ठाउँमा यातायात सञ्चालन हुनसकेको छैन् । वर्षा र बाढीले धेरै नोक्सान सडक, पुल–पुलेसा र निर्माणाधीन योजनामा पुर्‌याएको छ । यसबाहेक सयौं बिघा उप्जाउ जग्गा बाढीले कटान गरेको छ ।
धेरै दिनपछिको वर्षाले पानी पर्याप्त भए पनि खेत खनजोत गर्न खेतमा जमेको बाढी पानीले अप्ठ्यारो परेको छ । अघिल्लो मध्य जेठताका राखिएको धानको ब्याड खडेरीले सकेपछि राखिएको ब्याडको बीउ अझै रोप्ने बेला पनि नभएको किसानले बताएका छन् ।

किसानलाई अहिले धेरै सकस घरपालुवा पशु बस्तुबाट भएको छ । चरणक्षेत्र पानीले डम्म भरिएपछि बस्तु डुलाउने ठाउँ नभएको र भूइँ घाँस पनि पानीले छोपिएकाले आहारा जुटाउन सकस भएको किसान बताउँछन् ।

पाँच दिनपछि घाम झुल्किँदा अब राम्ररी काम गर्न पाइने किसानको आशा छ । तर, आकाशमा बादल अझै मडारिन रहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन् ।

प्रकाशित : असार २९, २०७६ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्