डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

रासस

अमरगढी — डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि उपचारको क्रममा जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । आसर १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि पुनः बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए । वडाध्यक्ष खड्काले शव परीक्षण नगरी लगेको अपस्पतालले जनाएको छ ।

आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका थिए ।

प्रहरीले बुधबार बिहान ११:३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले ११ बजेर ३५ मिनेटतिर शव परीक्षण सुरु गरेका थिए । वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुंगा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चिकित्सकमाथि आक्रमण हुदाँ डा दिनेश उपाध्यलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्किने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख मेसु डा जितेन्द्र कँडेलले बताए । पटक–पटक चिकित्सकमाथि आक्रमण भइरहेकाले राज्यले सुरक्षाको प्रत्याभूति नगरेसम्म नियमित सेवामा नफर्किने कँडेलले बताए । घटनाको नेपाल चिकित्सक संघले पनि विरोध गरेको छ ।

प्रकाशित : असार २७, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

बगेर युवक बेपत्ता, महिलाको उद्धार

माधव घिमिरे

विराटनगर — अबिरल वर्षापछि आएको बाढीले मोरङका विभिन्न स्थामा क्षति पुर्‍याएको छ । बाढीमा बगेर एक युवक बेपत्ता भएका छन् । दाउरा खोज्न खोलामा गएकी एक महिलालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी बचाएका छन् ।

पानी परेपछि जलमग्न विराटनगर । तस्बिर : माधव घिमिरे

रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सवारी आउजाउ बन्द भएको छ । मोटरसाइकलमा सवार एक युवक उक्त स्थानमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । अन्दाजी ३० वर्षका उनको पहिचान खुलेको छैन ।

विराटनगर महानगरपालिका वडा १, २ मा सिंगिया खोला आसपासका जोखिममा परेका सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातारको वर्षाका कारण सिंगिया, बक्राहालगायत खोलाहरुमा बाढी आएको छ । बाढीका कारण खोला आसपास क्षेत्रका डेढ सयभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सयौं घरहरु डुबानमा परेका छन् । विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

बगेकी महिलाको उद्धार
यसैबीच मोरङको उर्लाबारी र दमकबीच बग्ने मावा खोलामा आएको बाढीमा बगेकी एक महिलालाई प्रहरीले उद्धार गरी बचाएको छ । बाढीमा बगेर आएको दाउरा खोज्ने क्रममा बगेकी स्थानीय ४६ वर्षीीया सुमित्रामाया कुमाललाई स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी बचाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्