सत्तापक्षकै सांसद असन्तुष्ट

बजेटमाथिको छलफल
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभा बैठकका क्रममा बजेटमाथिको छलफलमा भाग नलिएर सोमबार मौन असहमति जनाएका सत्तारुढ दल नेकपाका सांसदहरूले मंगलबार भने सरकार र बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गरे । उनीहरूले आफ्नै सांसदलाई बेवास्ता गरे सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी पनि दिए ।

‘मुटुमाथि ढुंगा राखी हास्नु पर्‍या छ,’ नेकपा सांसद महेशदत्त जोशीले भने, ‘बजेटमा मनपरि गरिएको छ । यस्तो तरिकाले हुन्न ।’ आफ्नै सांसदलाई बेवास्ता गरेर सरकार धेरै दिन टिक्न नसक्ने बताउँदै उनले २५ सांसदले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीलाई ध्यानाकर्षणसहित हस्ताक्षरण बुझाइएको स्मरण गराए । उनले बेवास्ता गरे दुर्घटना हुनसक्ने चेतावनीसमेत दिए ।


सांसद जोशीले बजेटमा असन्तुष्टि जनाउँदै आएका दल कांग्रेस र राजपासँग भएको भद्र सम्झौताको पनि आलोचना गरे । नेकपाका दुईतिहाइ (२५) सांसदहरूले बजेट संशोधनको माग गर्दै मुख्यमन्त्रीसमक्ष लिखित हस्ताक्षर बुझाएका सांसदहरू सरकारले विपक्षीलाई महत्त्व दिएर योजना थप्ने भद्र सहमति गरेकोप्रति पनि रुष्ट देखिए । सोमबारको बैठकमा नेकपाका सांसदहरूले मौन असहमति जनाउँदै छलफलमा सहभागी नभएपछि दलका तर्फबाट प्रमुख सचेतक तारा लामा तामाङले बोलेका थिए । त्यसक्रममा उनले पनि घुमाउरो ढंगले सरकार र बजेटप्रति आलोचना गरे ।


बैठकमा नेकपाकातर्फबाट अक्कल रावल, पूर्णा जोशी, दुर्गा कामी, कुन्ती जोशी, सुशीला बुढाथोकी र शान्ति नेपालीलगायतले धारणा राखेका थिए । कांग्रेस सांसद भरत खड्का र राजपा सांसद मालामति राना बजेटमाथिको छलफलमा सहभागी भए । बोल्ने सबै नेकपाका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाए । ‘बजेट सन्तुलित छैन । योजना दोहोरिएका छन् । सच्च्याइनुपर्छ,’ सांसद पूर्णा जोशीले भनिन् । सांसद कामीले झ्यालबाट योजना जाने प्रवृत्ति अनुचित भएको बताइन् । राजपा सांसद रानाले मन्त्रीभन्दा पनि उनीहरूका पीएहरूको दबदबा भएको बताइन् ।

प्रकाशित : असार २५, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?