२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कामदारले पाएनन् ज्याला

धनगढी — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका १८ र १९ मा काम गर्ने कामदारले ज्याला पाएका छैनन् । नगरले समयमै ज्याला नदिई आफूहरूलाई दुःख दिएको उनीहरूको भनाइ छ । धनगढी १४, १८ र १९ का सुपरभाइजर प्रकाश विकले काम थालेको १५ दिनमा पहिलो किस्ता दिने बताएका थिए । तर समय नाघिसकेपछिभने ज्याला दिने कुरा नगरिएको उनले बताए ।

‘वडाध्यक्ष र मैले समयमै ज्याला पाइन्छ भनेर कामदार खोज्यौं । तर नपाएपछि हामीसँग कामदार कराइरहेका छन्,’ विकले भने, ‘संयोजकले खासै चासो दिइरहेका छैनन् ।’ समयमै ज्याला नदिए धनगढी उपमहानगरपालिका घेराउ गरेर आन्दोलन गर्ने उनको चेतावनी छ ।


तर रोजगार कार्यक्रम संयोजक चन्द्रबहादुर महराले आवको अन्त्यतिरको चाप भएकाले समयमै प्राविधिक व्यस्त भएर ज्याला दिन ढिलाइ भएको बताए । असारभित्र सबैलाई ज्याला उपलब्ध गराइने उनको भनाइ छ । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि कामदार माग गरेपछि आवेदन दिनेको घुइँचो लाग्यो । असारदेखि प्रत्येक वडामा ३० जनाका दरले धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा कार्यक्रम सुरु भएको हो ।


‘प्रत्येक वडामा ३० जनाका दरले ५ लाख विनियोजन गरिएको थियो,’ धनगढी १ का वडाध्यक्ष सन्तोष मुडभरीले भने, ‘सुरुमा आवेदन दिनेमध्ये ३० जना छानेर उनीहरूलाई नाली सफाइको काममा लगाइएको छ ।’ आफ्नो वडामा कार्यक्रम अन्तिम चरणमा पुगेको उनले बताए । ‘यस वर्ष ३० दिनका लागि भनेर यो कार्यक्रम ल्याइएको छ । अर्को आवको सुरुदेखि नै दक्ष एवं अदक्ष सबैका लागि यो कार्यक्रम आउनेछ,’ उनले भने ।


बेरोजगारलाई उनीहरूको क्षमताका आधारमा वर्षमा सय दिन रोजगारी दिने भनेर सरकारले कार्यक्रम सुरु गरेको थियो । तर अहिले रोजगार कार्यक्रमको बहानामा युवालाई ३० दिनका लागि नाली सफाइमा लगाएर बजेट सक्ने काम भइरहेको सर्वसाधारणको गुनासो छ ।


‘असार मसान्तमा आएर बजेट सक्ने काम मात्र भएको छ । ३० दिनको नाली सफाइ कार्यक्रमले बेरोजगार युवाको समस्या समाधान गर्न सक्दैन,’ धनगढी उपमहानगरपालिका १६ का हेमराज जोशीले भने । सरकारले बेरोजगारलाई जीविकोपार्जनमा सघाउने खालका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।


प्रधानमन्त्री रोजगारीका कार्यक्रममा बजेट सक्ने मात्रै काम भएको धेरैको भनाइ छ । ‘रोजगारीका नाममा असारमा आएर नाली सफाइ गरी झारा टार्नु उचित होइन,’ धनगढी उपमहानगरपालिका ३ का शेरसिंह रावलले भने, ‘सरकारले स्वरोजगार कार्यक्रमका नाममा जनताको बजेट गलत रूपमा प्रयोग गरिरहेको छ । यसबाट बेरोजगारीको दिगो समाधान हुन सक्दैन ।’


वैशाख मसान्तसम्म रोजगारीका लागि भनेर धनगढीमा १४ हजार ४ सय ६७ जनाले आवेदन दिएका थिए । तर १८ वटा वडाका ५ सय ६२ जनाले मात्रै काम पाएको रोजगार संयोजक महराले बताए । १४ नम्बर वडामा निर्धारित काम गर्न इच्छुक नभएपछि कार्यक्रमै लागू हुन सकेन ।

प्रकाशित : असार २४, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?