२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

तुइन विस्थापन गरी झोलुंगे पुल

-४ वर्षमा २२ वटा झोलुंगे पुल निर्माण
 -भदौमा औपचारिक रूपमा तुइनमुक्त जिल्ला घोषणा गरिने
तुलाराम पाण्डे

(कालीकोट) — तिलागुफा नगरपालिका–५ स्थित धनाडादेखि भात्तडी जोड्ने तिला नदीको पुल निर्माण सम्पन्न भएसँगै कालीकोट पूर्ण रूपमा तुइनमुक्त जिल्ला बनेको छ । पुल बनेपछि आवतजावत गर्न सहज भएको छ । 

तुइन विस्थापन गरी झोलुंगे पुल

कर्णाली नदीको खुलालु तुइनमा झुन्डिएर तर्ने क्रममा ८ वर्षअघि नदीमा खसेर बेपत्ता माल्कोट ७ का ३० वर्षीय मञ्जन बोहराका काका रतने नदीमा पुल बनेपछि खुसी छन् । ‘पहिले त नदी तर्नै मुस्किल हुन्थ्यो,’ ६३ वर्षीय रतनेले भने, ‘तुइनमा झुन्डिँदा काउदो (कता) खसिन्छ भन्ने डरले सात्तो जान्थ्यो ।’ उनलाई खुलालुमा पुल बनेपछि आउजाउ गर्न सजिलो मात्र भएको छैन, काम परेको बेला नदी तर्न पनि सहज बनेको छ । सशस्त्र द्वन्द्वमा बाबियाको लठ्ठामा झुन्डिएर कर्णाली वारपार गर्ने यही ठाउँका स्थानीयले ०६४ वैशाख १ मा सुधारिएको तुइन पाएका थिए । त्यही तुइन तर्ने बेला तुइनबाट खसेर ०६७ मा रतनेका भतिजाले ज्यान गुमाए ।

नरहरिनाथ गाउँपालिकालाई सदरमुकामसहित कर्णाली राजमार्गमा पुग्न खुलालुका स्थानीयलाई तत्काल नदी तर्न बाबियाको लठ्ठाको सठ्ठा सुधारिएको तुइन बनाइएको थियो । ०७३ चैतदेखि तुइन विस्थापन गरी पुल सञ्चालनमा आएको छ । पुल बनेपछि स्थानीयलाई गाउँमा उत्पादित तरकारी, घिउ र जंगलबाट संकलित जडीबुटी बजार पुर्‍याउन सहज भएको छ ।


कर्णाली नदीको खुलालुमा तुइनको सट्टा झोलुंगे पुल बनेपछि स्थानीयले दुई दिनसम्म नाचगान गरेर खुसियाली मनाएको लालुका रमेशकुमार विष्ट सुनाउँछन् । पुल कर्णाली पारी पर्ने लालु, माल्कोट, कुमालगाउ, रुप्सा र कोटवाडाका जोड्ने पुल बनेपछि स्थानीयले तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएको उनको भनाइ छ । सरकारले ४ वर्षअघि तुइन विस्थापन घोषणा गरेर अभियान सञ्चालन गरेपछि कालीकोटमा २२ वटा झालुंगे पुल निर्माण भएका छन् ।


सशस्त्र द्वन्द्वमा क्षतिग्रत बनाइएका तिला र कर्णाली नदीका ६ वटा पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै ०६४ मै निर्माण भए पनि अन्य ठाउँमा तुइन विस्थापन हुन सकेका थिएनन् । तुइन विस्थापन गर्ने कार्ययोजनासहित काम सुरु गरिएपछि कालीकोटमा १६ वटा पुल निर्माण सम्पन्न भएको जिल्ला समन्वय समितिका इन्जिनियर चक्रबहादुर शाहीले बताए । कालीकोटका नदी र खोलामा पुल बनाउन ०६४ यता मात्र १२ करोडभन्दा बढी रकम खर्च भएको जिल्ला समन्वय समितिको अनुमान छ ।


विगतमा दुर्गम क्षेत्र विकास समिति, जिल्ला विकास समितिलगायतले पुल निर्माणमा सहयोग गरेका भए पनि दुई वर्षको अवधिमा बनेका धेरैजसो पुल नेपाल सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको सहयोगमा निर्माण भएका हुन् । पुल बनाउन हेल्भेटास, हुरेन्डेकलगायतले प्राविधिक सहयोग र सहजीकरण गरेका थिए । जिल्ला इन्जिनियर शाहीका अनुसार कालीकोट जिल्लामा पुराना र नयाँ गरी ६९ वटा झोलुंगे पुल निर्माण भइसकेका छन् ।


०५८ यता तुइनबाट खसेर कालीकोटमा मात्र ११ जनाले ज्यान गुमाएका थिए भने डेड सय जनाका हातका औला च्यापिएर काटिएका छन् । ०४६ को परिवर्तनअघि कालीकोटको रेगिंलमा मात्र झोलुगे पुल थियो । केही ठाउँमा फलामे डिब्बाको गेज थिए त धेरैजसो ठाउँमा स्थानीयले बनाएको बाबियाको डोरीमा झुन्डिएर तुइन तर्दा १०/१२ जनाले अकालमा ज्यान गुमाउने गरेको कालीकोटका अगुवा तुलाराज विष्टले सुनाए । ‘उति बेला त लठ्ठा बाटेर आफैं तागुलो (तुइन) तर्ने गर्थे,’ ७१ वर्षीय विष्टले सम्झिए, ‘नदी तर्न डराउनेले त अर्काको पर्खाइमा नदी किनारामै बास बस्नुपर्थ्यो ।’ नदी तारेबापत एक माना चामल दिने चलन थियो । उनका अनुसार ०३२ मा रेगिंल पुल बन्न सुरु गरेर ०३४ मा सकिएपछि पुल हेर्न ३ दिन हिँडेर स्थानीय रेगिंल आएका थिए । ५ दिनसम्म रेगिंलमा पुल बनेको अवसरमा नाचगान र देउडा खेल लगाइएको थियो ।

कर्णाली नदीको रेगिंल पुल कालीकोट, बाजुरा, हुम्ला मुगु, जुम्लाका बासिन्दाको नुन, तेल लत्ताकपडा ल्याउन कर्णाली चिसापानी हुँदै कैलाली कटासे, बर्दियाको राजापुर पुग्ने मूल बाटो थियो । यहींबाट कर्णालीका भेडा, बाख्रा, घोडा–खच्चड पनि आवतजावत गर्थे ।


जिल्लाको खुलालु, भात्तडी, लालीघाट, जिते, लाफा, पान्तडी, पिली, भिग्मलगायतका ठाउँमा तिला र कर्णाली नदीका पूरै तुइन विस्थापन भइसकेका छन् । रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायतका खोलामा पनि झोलुंगे पुल बनेका छन् । कालीकोटको सबैभन्दा बढी जनताले आवतजावत गर्ने खुलालु तुइन विस्थापन भएर झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका बासिन्दालाई आवागमनमा निकै सहज भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही बताउँछन् ।


पुल बनेपछि खुसी हुँदै लालुकी धनसरा विष्टले पुलले कर्णाली राजमार्गसँग जोडिन पाएको बताइन् । ‘नाउ (डुंगा) चढ्यौ, बाबियाको डोरीमा झुन्डियौं, पछि फलामको तुइन बनेपछि त्यसैमा झुन्डियौं,’ स्थानीय लबजमा विष्ट भनिन्, ‘झोलुंगे पुल बन्दा गाडी रोड बनेजस्तो खुसी लागेको छ ।’ उनी तुइन तर्ने क्रममा यस क्षेत्रका १ सय ५० बढीका औंला काटिएको अनुमान गर्छिन् ।


गाउँ पुग्ने झोलुंगे पुल बने पनि यही ठाउँमा कर्णाली करिडोरको पक्की पुल शिलान्यास भएको ७ वर्ष बित्दा समेत काम भएको छैन । ठेकेदारको लापरबाहीले काम अघि बढ्न नसकेको हो । त्यति बेलाको ठेक्का सरकारले रद्द गरेर नयाँ ठेकेदारलाई काम दिए पनि नदीको किनारामा खाल्डो खन्ने काम मात्र भएको छ । पक्की पुल नबन्दा कर्णालीपारि गाडी लैजान र ल्याउन कठिनाइ छ । हिउँदमा सञ्चालनमा आउने जिते गडाको फेरी पनि वैशाखदेखि नदी बढेपछि बन्द छ ।


नदी तर्न वैकल्पिक साधनको रूपमा कालीकोटमा निर्माण भएका तुइनको संख्या ११ भएकोमा हाल सबै विस्थापन भइसकेको हेल्भेटासका इन्जिनियर नन्दलाल धराला बताउँछन् । उनका अनुसार गत वर्ष ८ वटा झोलुंगे पुल निर्माण भए भने यस वर्ष थप १६ वटा पुल बनेका छन् ।

प्रकाशित : असार २२, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?