कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोरायलमा एफएम सुरु नहुँदा विवाद

मोहन शाही

(डोटी) — एम्बुलेन्स सञ्चालन, फिल्म निर्मातालाई रकम र एमएम सञ्चालनको विषयमा जोरायल गाउँपालिकामा विवाद भएको छ । एफएम सञ्चालनका लागि गाउँपालिकाले गत वर्ष दिएको बजेटको दुरुपयोग भएको भन्दै अलोचना सुरु भएपछि जनप्रतिनिधि प्रतिवादमा उत्रेका छन् । 

सामुदायिक रेडियो घण्टेश्वर एफएम सञ्चालन गर्न गाउँपालिकाले गत वर्षको असारमै ११ लाख दिएको थियो । सम्बद्ध पक्षले भुक्तानी लिएर पनि हालसम्म सञ्चालनमा नल्याउँदा रकम दुरुपयोग भएको भन्दै विवाद भएको हो । गाउँसभाको बैठकले निर्णय गरेअनुसार रेडियो सञ्चालन गर्न आवश्यक सामग्रीहरू खरिद गर्न भुक्तानी दिइएको गाउँपालिका अध्यक्ष दुर्गा ओझाले बताए । ‘सञ्चारमाध्यमको प्रवर्द्धन र विकासका लागि सहयोग गर्नु गल्ती हो भने मेरो भन्नु केही छैन,’ उनले भने, ‘सुरुमा पत्रकार शंकर थापाले सञ्चालनका लागि २५ लाख बराबरको प्रस्ताव ल्याउनु भएको थियो । हामीले आवश्यक सामग्री खरिदका लागि ११ लाखसम्म दिनसक्ने सर्तसहित सम्झौतासहित भुक्तानी दिएका हौं ।’


प्रमुख प्रशासकीय अधिकृत समीर भण्डारीले सामाग्री खरिद गरेर ल्याइसकेकाले आफूले भुक्तानी दिएको दाबी गरे । ‘प्रक्रियागत रूपमा बजेट विनियोजन भएको छ । त्यहीअनुसार सम्झौता पनि गरिएको छ,’ उनले भने, ‘उहाँले सामग्री खरिद गरेका यथार्थर् बिल भर्पाइ ल्याएपछि भुक्तानी दिइएको हो । सञ्चालन किन भएन भन्ने कुरा मलाई थाहा भएन ।’


एफएमका अध्यक्ष शंकर थापा व्यक्तिगत रिसिइबीका कारण आफूलाई बद्नाम गर्ने प्रयत्न भएको बताउँछन् । गाउँपालिकाबाट प्राप्त रकमले टावर र ट्रान्सफर्मरलगायतका सामग्री खरिद भइसकेको दाबी उनले गरे ।


‘गाउँपालिकाले दिएको रकम बराबरको सामान ल्याएको छैन भने मैले दुरुपयोग गरेको मान्न सकिन्छ । त्यो हेर्दै नहेरी मेरो चरित्रहत्या गर्ने काम भएको छ,’ उनले भने, ‘सामुदायिक रेडियो भएकाले सञ्चालनको रकम र प्राविधिक व्यवस्थापन अप्ठ्यारो भएर सञ्चालनमा आउन ढिलाइ भएको हो । दुरुपयोग भएको छैन ।’ टावर जडान कार्य केही दिनमा सुरु भई आगामी दसैंअघि नै एफएम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।


स्थानीय स्तरमा भने एफएम सञ्चालनका नाममा विभिन्न ठाउँबाट बजेट संकलन गरेर रकम अपचलन गरिएको आरोप छ । ‘खरिदका लागि पेस भएका सबै बिल भर्पाइको अनुसन्धान गरिरहेका छौं,’ जोरायल गड्सेराका कांग्रेस नेता सोपान बोहराले भने, ‘पर्याप्त स्रोत र तयारीबिना गाउँपालिकाको बजेट लगेर एक बर्षसम्म कसैले थन्काउन मिल्छ ?’ दिपायलमा निर्माण नै हुन नसक्ने एफएमका टावर केबी स्टिल तथा फर्निचरबाट बनाएको भनेर फर्जी बिल पेस गरिएको उनको आरोप पनि छ । साथै टावर ढुवानी गरेको भन्दै गलत भपाई बनाइएको बोहराको दाबी छ । दिपायलमा टावर बन्नै नसक्ने दाबी गर्दै उनले पुरानो टावर अन्तबाट उठाएर ल्याएको जिकिर गरे ।

प्रकाशित : असार २२, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?