कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोल्टी काकाकुल

बाजुरा — बिहान होस् या बेलुका, सबैको झर्को एकनास छ । बाजुराको पूर्वोत्तर क्षेत्रको मुख्य बजार कोल्टीमा पानीको हाहाकार नयाँ समस्या होइन । 

संघीयता कार्यान्वयनसँगै कोल्टी बुढीनन्दा नगरपालिकामा गाभिएको छ । नगरका २, ३ र ४ नम्बर वडा बनेको कोल्टीमा बाजुरा विमानस्थल छ । ६ हजार २ सय ६४ जनसंख्या रहेको कोल्टीलाई खानेपानी पर्याप्त हुने योजना छनोटमा जनप्रतिनिधिहरूको अग्रसरता नदेखिएको बुढीनन्दा–२ का जन्म रेग्मीले बताए । ‘पुरानो बजार हो, जिल्लाको व्यापारिक गतिविधि यहीँछ, सरकारी कार्यालय यहीँ छन्,’ उनले भने, ‘खानेपानी आधारभूत आवश्यकता हो । जनजीवन पुरै खानेपानीका कारण प्रभावित छ ।’


पूर्वोत्तर क्षेत्रकै मुख्य व्यापारिक केन्द्रमा खानेपानीको चरम अभाव हुँदा स्थानीयलाई त अप्ठ्यारो छँदैछ, होटल व्यवसायीलाई झन सास्ती छ । ‘बिहानै उठेर पानी लिन एक घण्टाको पैदल बडीगाड खोलामा पुग्नुपर्छ,’ कोल्टीमा होटल सञ्चालन गर्दै आएकी बुढीनन्दा–६ की शीला शाहीले भनिन्, ‘खानेपानीको सुविधा भए कोल्टीले जुनी फेर्ने थियो ।’ बजार क्षेत्रका बालबालिका र गाउँबाट बजारमा पढ्नका लागि कोठा लिएर बसेकाहरूको धेरै समय पानी बोक्नमै गुज्रिने गरेको उनले बताइन् । ‘हामी हाम्रो भविष्य बनाउनको लागि घरमा आमाबुवालाई ऋण माग्न लगाएर पढ्नका लागि आउँछौं,’ जगन्नाथबाट कोल्टीमा डेरा गरेर पढ्दै आएकी विन्पुरा सिंहले भनिन्, ‘यहाँ त पानी बोक्नै ठिक्क छ । कतिबेला पढ्नु, कतिबेला अरू काम गर्नु ।’


बजार क्षेत्रमा खानेपानीका पुराना धारा छन् । कहिलेकाहीमात्रै पानी झर्छ । नगरपालिकाकै कालगोठीबाट सानो ट्यांकी बनाएर भीरमा पाइप चढाएर ल्याइएको पानी नियमित नआउने कोल्टी–२ का स्थानीय प्रदीप जैसीले बताए । ‘खानेपानीको चरम अभाव पुरानै समस्या हो,’ उनले भने, ‘सबैले देखे भोगेको समस्यामा सरकारले ध्यान दिएन ।’


यता नगरपालिकाका जनप्रतिनिधि भने खानेपानी योजना ल्याउन ध्यान दिएपनि सहज नभएको दाबी गर्दै आएका छन् । निर्माणका लागि तत्काल नजिकै मुहान नभएकाले विकल्प निकाल्न नसकेको उनीहरूको भनाइ छ । ‘हामीले समस्या समाधानकै लागि बजेट विनियोजन गरेर सिराडीको पानी बड्डाल हुँदै कोल्टीमा ल्याउने योजना बनाएका छौं,’ नगरकी उपप्रमुख सृष्टि रेग्मीले भनिन्, ‘हामी पनि उत्तिकै चिन्तित छौं । सजिलो विकल्पमा काम गर्ने योजना पनि छ ।’

प्रकाशित : असार २२, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?