२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फोनबाटै १२ हजार बिरुवाको माग

संस्थागत मात्र नभई व्यक्तिगत रुपमा खरिद गर्नेको सिराडमा दैनिक लर्को लाग्छ
डीआर पन्त

रुपाल, डडेलधुरा — दार्चुलाको नौगाड गाउँंपालिकाका कृषि प्राविधिक मुकुन्द ठगुन्ना फलफूलका बोट बिरुवा खरिद गर्न डडेलधुराको सिराड पुगेका छन् । उनले टेलीफोनमा १२ हजार बिरुवाको अर्डर गरेपछि २ सय किलोमिटरको दुरी पार गरि खरिद गर्न भागेश्वर गाउँपालिका ५ को दुर्गम सिराड पुगेका हुन ।

फोनबाटै १२ हजार बिरुवाको माग

ठगुन्ना सहित विभिन्न स्थानीयतहका अन्य ५ जना पनि बिरुवा खरिद गर्न सिराड आइपुगेका छन् । यसरी संस्थागत रुपमा मात्र होइन व्यक्तिगत रुपमा बिरुवा खरिद गर्नेको सिराडमा दैनिक लर्को नै लाग्ने गरेको छ ।


दार्चुला नौगाडका ठगुन्नासमेत फलफूलका बिरुवा खरिद गर्न दुर्गम सिराडमा यतिबेला सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटी र बैतडीबाट पनि सिजनमा यसरी नै यो दुर्गम गाउँमा पुग्ने गरेका छन् । ‘गाउँका दुइजना साधारण कृषकले पुरै गाउँलाइ सुदूरभरि चिनाएका हुन्,’ स्थानीय गणेशबहादुर बुढाऐरले भने, ‘गरे के हुँदैन भन्ने उदाहरण वनेका छन दुवै जना कृषक ।’


हुनपनि डडेलधुराको महाभारत लेकको मध्य भागमा रहेका सिराड, चुल्ल, बुर्सा, चौड, खाल्टा र मेल्टा गाउँका बस्ती फलफूल खेतीका लागि पहिलेदेखि नै प्रख्यात हुन् । तर गाउँलाइ प्रदेश भरि चिनाउने कृषक राज भाट र चन्द्रबहादुर साउँद बनेका छन् । ७ वर्षअघि फलफूलका बिरुवा उत्पादन गर्ने काम सुरु गरेपछि यो गाउँ चर्चामा आउन थालेको हो ।


‘केही गर्ने चाहना र परिश्रम गर्न सके यसै माटोमा समृद्धि खोज्न सकिन्छ भन्ने दुवै साधारण कृषकबाट प्रेरणा लिन सकिन्छ,’ बुढाऐरले भने ‘३/४ रोपनी जग्गामा वर्षेनी ३/४ लाख आम्दानी गरेर दुवै सामान्य अवस्थाका कृषकले रोजगारीका लागि बिदेश जाने युवालाइ चुनौती समेत दिएका छन् ।’ रोजगारीका लागि विदेशिएका उनकै उमेरका युवाहरूले वर्षमा मुस्किलले ४ लाख कमाउन सक्छन् त्यो पनि मरुभूमीमा १२ घण्टा कठिन परिश्रम गरेर ।


बुढाऐरले भने जस्तै दुवै कृषकका वारीमा २० देखि २५ हजारसम्म बिभिन्न जातका फलफूलका बिरुवा छन । बिशेष गरि कागती, अमिलो, ज्यामिर, मौसमी, सुन्तला र अनारसमेत अन्य चुकजन्य बिरुवाको खेती गर्दै आएका छन दुवै कृषकले ।


२ वर्ष अघिदेखि धेरै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा फलफूल खेती प्रोत्साहन गर्न थालेपछि बिरुवाको माग पनि बढेको हो । नौगाड गाउँपालिकाका कृषि प्राविधिक ठगुन्नाले भने, ‘यस पटक १२ हजार वढी बिरुवा खरिद गरी गाउँपालिकाले कृषकलाई बितरण गर्नेछ ।’ गाउँपालिकाले ‘एक घर ४ फलफूलका बिरुवा’ रोप्ने नीति तथा कार्यक्रम वनाएकाले यसै वर्ष थप बिरुवा खरिद गरिने उनले बताए ।


रैथाने जातका फलफूलका बिरुवा पाइने भएकाले अछामबाट सहकारी संस्थामार्फत बिरुवा खरिद गर्न आएका तेजबहादुर रावलले पनि विभिन्न स्थानीय तहमा आफूले बोट बिरुवा पठाउने काम पाएकाले यहां आएको बताए ।


उनले भने, ‘रैथाने जातका बिरुवामा रोग कम लाग्ने, फल वढी दिने र स्याहार पनि कम गर्नुपर्ने भएकाले यहाँका बोट बिरुवाको वढी माग छ ।’ महाभारत पर्वतमा पाइने फलफूलका बिरुवालाइ कृषि प्राविधिकहरूले सबैभन्दा उत्कृष्ट भएको सिफारीस गरेका कारण यहाँ आउनेको संख्या अझै वढने पनि उनले बताए ।

प्रकाशित : असार १५, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?