तरकारी र फलफूल आयात गर्न दुई दिन

कञ्चनपुर — एक सातादेखि बन्द रहेको तरकारी र फलफूलको आयात सुरु भएको छ । कैलालीको अत्तरिया स्थित प्रयोगशालामा विषादीको मात्रा परीक्षणपछि तरकारी र फलफूल आयात हुन लागेको हो । विगतमा एक/दुई घण्टामै महेन्द्रनगर बजार पुग्ने तरकारी आयात गर्न २ दिन लाग्ने भएको छ । 

कञ्चनपुर भन्सार कार्यालयका अनुसार बिहिबार २ ट्रक तरकारी र फलफूल भित्रिएको छ । दुवै ट्रकमा १४ देखि २८ प्रतिशत सम्म विषादी देखिएको भन्सार कार्यालयले जनाएको छ । तरकारी तथा फलफूल आयातकर्ताहरूले कैलालीको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षण गराउने गरेका छन् ।


‘आज (शुक्रबार) पनि ६ ट्रक फलफूल र तरकारी भन्सारमा आएको छ’ भन्सार अधिकृत रामप्रसाद पोखरेलले भने, ‘हामीले विषादी परीक्षणका लागि पठाएका छौं ।’ बाणिज्य विभागले विषादी परीक्षण अनिवार्य गरेपछि एक सातादेखि भारतबाट आयात भईरहेको तरकारी र फलफूल रोकिएको थियो ।


व्यवसायीहरूले अत्तरियामा परीक्षण गराउन सुरु गरेपछि पुनः तरकारी भित्रिन थालेको हो । परीक्षण अनिवार्य गरिएपछि पश्चिमी नाकाबाट तरकारी र फलफूल भित्र्याउन झन्झट हुन थालेको व्यवसायी बताउछन् । नाकामै परीक्षणको व्यवस्था नहुँदा समस्या भएको उनीहरूको गुनासो छ । अत्तरियामा विषादी परीक्षण गराएर भित्र्याउदा दुई दिन लाग्ने गरेको व्यवसायीको भनाइ छ ।


गड्डाचौकी नाकाबाट मात्रै दैनिक ३ देखि ५ ट्रक तरकारी र फलफूल भित्रिने गरेको छ । अझ चाडपर्वका बेला दोब्बर तेब्बर मात्रामा भित्रिने गरेको व्यवसायीहरू बताउछन् । ‘दुई घण्टामा हुने कामका लागि अब दुई दिन लाग्ने भयो’ भारतबाट तरकारी र फलफूल आयातकर्ता नरेन्द्र साउँदले भने, ‘परीक्षणको व्यवस्था नाकामै गरिए सहज हुने थियो ।’ उनले परीक्षणको रिपोर्ट आउन र आउजाउ गर्न हुने ढिलाईले तरकारी बाटोमै बिग्रिन सक्ने समस्या समेत रहेको बताए ।


भारतबाट आयात हुने तरकारी र फलफूलमा कडाइ गरिएपछि स्थानीय स्तरमा उत्पादन भएको तरकारी र फलफूलमा मूल्यवृद्धि भएको छ । प्रतिकिलोमा १०/२० रुपैंयासम्म मुल्य बृद्धि भएको उपभोक्ताहरू बताउछन् । भारतबाट मात्रै आयात हुने तरकारी र फलफूलमा अझ बढी मुल्य बृद्धि भएको उनीहरू बताउछन् ।


तर सब्जिमण्डी व्यवस्थापन समिति अध्यक्ष विशाल सोनार भने भारतबाट तरकारी नआएको बेला मुल्य बृद्धि गर्ने व्यवसायीलाई कारवाहृी गरिने बताउछन् । उनले केही स्थानीय उत्पादनले सम्मानजनक बजार पाएकाले व्यवसायीहरूले मुल्य बृद्धि नगर्ने प्रतिबद्धता जनाएको बताए । ‘हामीले अनुगमन पनि गरिरहेका छौं र उपभोक्ताबाट मुल्य बृद्धि भएको गुनासो आए सम्बन्धित व्यवसायीलाई कारवाही गर्छौ’ उनले भने, ‘तर भारतबाट आयात हुने तरकारी विषादी परीक्षणपछि मात्रै भित्रिन दिनुपर्छ ।’


उनले ठुला साधनमा नभित्रिएपछि साइकल र मोटरसाइकलमा कुनै परीक्षण विना नै तरकारी भित्रिएर सब्जिमण्डीमा चर्को मुल्यमा बिक्रि भईरहेको बताए । त्यसकै कारण केही तरकारीको मुल्य बृद्धि भएको हुन सक्ने उनले बताए । तरकारी र फलफूलमा ३५ प्रतिशतसम्म विषादी भेटिएमा उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केहि दिन स्टोर गरी पुन: परीक्षण गर्नुपर्ने हुन्छ । ४५ प्रतिशत भन्दा बढी विषादी भेटिएमा नष्ट गर्नुपर्ने विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको परीक्षण रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार १४, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?