कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बन्दमा आगजनी, विस्फोटन

धनगढी — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार गरेको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । अछामका २ वडा कार्यालयमा आगजनी भएको छ । कैलाली, बैतडी र बझाङमा विस्फोटक वस्तु भेटिएका छन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ मा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले बताएका छन् ।


पन्चदेवलको वडा कार्यालयमा राती २ बजेतिर आएको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीय बासिन्दाले बताए । आगजनीबाट एक थान कम्प्युटर, प्रिन्टर, २ कुर्सी, टेबुललगायत कागजात जलेका छन् ।


यता ढकारीको वडा कार्यालयमा गरिएको आगजनीबाट प्लास्टिक कुर्सी १२ थान, कुर्सी २ थान, काठको वेन्च, राजस्वको ठेली, फोटोसहितको परिचय पत्र, ज्येष्ठ नागरिक र वालबच्चाको ४ सय कार्ड थानलगायत सबै कागजात नष्ट भएको प्रहरीले जनाएको छ । ‘घटनामा चन्द समूहका कार्यकर्ताको संलग्नता देखिएको छ,’ डिएसपी शाहीले भने, ‘घटनामा संलग्नको पहिचान भएको छ । खोजीका लागि सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको छ ।’


कैलालीको गौरीगंगा नगरपालिका कार्यालयमा बम विष्फोट भएको थियो । क्षति खासै भएन । बैतडीमा २ बम भेटिएका छन् । महाकाली राजमार्गअन्तर्गत सतबाँझ र गोकुलेश्वर खण्डको धरमघरमा सडकबीचमा प्रेसर कुकुर बम भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै बझाङको चैतलीको मेलास्थलबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ । छबिस पाथिभेरा गाउँपालिका ३, बान्नीचौर नजिकैको जंगलबाट नेकपाका कार्यकर्ताले छोडेको विस्फोटक पदार्थ बरामद भएको हो ।


धनगढीबाट लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायात ठप्प रहे । बन्दमा यात्रुले सास्ती खेप्नुपर्‍यो । सवारी साधन नचल्दा बसपार्कमा अलपत्र परेका यात्रु बिहानैदेखि अलपत्र परे । बसपार्कमै भेटिएकी सुशीला पाण्डले गाडी नपाएर घर फर्कन नसकेको बताइन् । ‘गाडी नपाएर बसपार्कमै तातो हावा खाएर बस्नु परेको छ,’ उनले भनिन् ।


भारतमा रोजगारी गरी फर्केकाहरू पनि गाडी नचल्दा बसपार्कमै अलपत्र परे । ‘गाडी चलेको भए अहिलेसम्म आघा बाटो कटिसक्ने थियो,’ भारतबाट धनगढी आएकी पुर्तीदेवि बान्याले भनिन्, ‘गाडी बन्द भएर बसपार्कमा बस्नु परेको छ ।’ बन्दले व्यापारीहरू पनि खाली देखिन्थे । ‘ग्राहक आए पो ब्यापार हुन्छ,’ धनगढी २ का होटल ब्यवसायी भगतबहादुर थापाले भने, ‘बन्दकर्ताले विरोधका लागि अर्को विकल्प खोज्नुपर्छ ।


बन्दले कञ्चनपुरको जनजीवन पनि प्रभावित भयो । यातायात, शिक्षण संस्था र बजार पूर्ण ठप्प बने । आसपासका बजार पनि खुलेनन् । महेन्द्रनगरबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन पनि पूर्ण रुपमा बन्द भए । छोटो दुरीमा चल्ने अटो रिक्सा र विद्युतिय रिक्सासँगै मोटरसाइकलमा सवारी बोक्नेहरूले असुलेको चर्को भाडाको मारमा सर्वसाधारण परेको यात्रुहरूले बताए ।

प्रकाशित : असार ११, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?