मुक्त हलियालाई घर

जिल्लामा १ हजार ६ सय ३३ मुक्त हलिया छन् । त्यसमध्ये गर्त वर्ष ७ सय ५७ को पुनःस्थापना भइसकेको छ ।

बाजुरा — मुक्त हलियाको घरबासका लागि सरकारले उपलब्ध गराएको रकमले बाजुराका विभिन्न ठाउँमा नयाँ घर निर्माण भएका छन् । पुस्तौँदेखि खरको साना झुपडीमा बस्दै आएका हलिया परिवार अहिले आफ्नै जग्गा र  अरूसरहको घर हुँदा दंग छन् । 

मुक्त हलियालाई घर

बुढीनन्दा नगरपालिका ५ को वीरसैन बस्ती अहिले रमणीय देखिन्छ । मुक्त हलियाको घरबासका लागि सरकारले रकम निकासा गरेपछि पुराना झुपडीका ठाउँमा नयाँ घर निर्माण हुँदा पुरानो बस्तीको रूप नै परिवर्तन भएको हो ।


वीरसैन बस्तीमा हलियाको रकमले २०७३ मा सम्पूर्ण हलियाका घर मर्मत गरियो । दोस्रो वर्ष २०७४ मा ३ दलित परिवारलाई छनोट गरी उनीहरूको पनि अहिले आफ्नै जग्गासहित घर पनि बनेको छ । २०७५ सालमा ५ जना निम्न आय भएका मुक्त हलिया छनोट गरी उनीहरूका लागि घर निर्माण कार्य सम्पन्न भएको हो ।


‘हुन त पुर्खौंदेखि हामी यही ठाउँमा बस्दै आएको भए पनि आफ्नो घरजग्गा नहुँदा हामीलाई निकै समस्या थियो,’ घर निर्माणपछि दंग परेका स्थानीय मुक्त हलिया कुम्भ विकले भने, ‘यसअघि हामीले साहूको कति हलो जोतरै चित्त बुझायौँ त्यो भनी साध्य नै छैन ।’ सरकारले अहिले हलियाका पीडामा केही आशा थपेको उनले बताए ।


रिथीहरूको जग्गामा हामी बस्दै आएको भए पनि बेलाबेलामा हामीलाई आफ्नो जग्गा खाली गर्नु भनेर साहूले धम्की दिने गरेका थिए । ‘अब भने ढुक्क भएका छौँ,’ हलिया तुला ल्वारले बताए । मुक्त हलिया आवास निर्माणका लागि सरकारले ‘घ’ वर्गमा परेकालाई २ लाख २५ हजारको पहिलो र दोस्रो किस्ता हस्तान्तरण गरेको छ ।


‘ख’ वर्गका हलियालाई ३ लाख २५ हजार प्रदान गरेको बुढीनन्दा ५ का गोरख चँदाराले बताए । ‘म ‘ख’ वर्गमा परेको थिएँ । पहिलो किस्तामा १ लाख २५हजार निकालेर जग्गा खरिद गरी ऋण निकालेर नयाँ घर निर्माण गरेको हुँ,’ उनले भने, ‘दोस्रो किस्ताको रकम लिनका लागि सदरमुकाम मार्तडी आएको छु ।’


‘घर निर्माण भएपछि निकै राहत भएको छ,’ मुक्त हलिया गोरख चँदाराकी श्रीमती रेला चँदाराले भनिन् । सँगै घर हुँदा, बस्ने ठाउँ साँघुरो हुँदा, दिनदिनै झगडा हुन्थ्यो अहिले सुनसान छ, शान्ति भएको छ ।’ जिल्लाको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, जगनाथ गाउँपालिका, बुढीनन्दा नगरपालिका र बुढीगंगा नगरपालिकामा मुक्त हलियाहरूको कार्यक्रम सञ्चालन छ ।


जिल्लामा १ हजार ६ सय ३३ मुक्त हलिया छन् । त्यसमध्ये गर्त वर्ष ७ सय ५७ को पुनःस्थापना भइसकेको छ । ४७ जनालाई जग्गा खरिद, ३६ जनालाई घर निर्माण र ६ सय ७६ जनालाई घर मर्मतको रकम भुक्तानी गरिसकेको मालपोत कार्यालय प्रमुख लक्ष्मी पाण्डेले बताए ।


यस आर्थिक वर्षमा ८ सय ६८ जनामध्ये जग्गा खरिदका लागि क र ख वर्गका ९५ जना, घर निर्माणका लागि क र घ वर्गका २ सय ३४ जना छन् । घर मर्मतका लागि ख र घ वर्गका ५ सय ३१ जना छन् । यो कार्यक्रम नेपालका १२ जिल्लामा लागू गरिएको छ । १२ जिल्लामध्ये बाजुरा जिल्ला पहिलो स्थानमा रहेको मुक्त हलिया समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले बताए ।

प्रकाशित : असार १०, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?