अध्यक्षले मनपरी गर्दा गाउँसभा बहिष्कार

कान्तिपुर संवाददाता

बझाङ — आर्थिक वर्ष ०७६/७७ का लागि योजना बाँडफाँड गर्दा गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै वडाध्यक्षहरूले गाउँसभा बैठक बहिष्कार गरेका छन् । खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले जनताको आवश्यकताभन्दा पनि आफ्नो चाहनाअनुसार बजेट वितरण गरेको भन्दै सबै वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् ।

आगामी आवका लागि विनियोजन भएको पुँजीगत ९ करोड ८२ लाखमध्ये ७ वटा वडाबाट माग भई आएका योजनाका लागि प्रतिवडा ३० लाखका दरले २ करोड १० लाख विनियोजन गरेको र बाँकी ७ करोड ७२ लाख आफ्नै मनोमानीले वितरण गरेको वडाध्यक्षहरूको आरोप छ । ‘स्थानीय सरकार सञ्चालन ऐन र नीति विधिले निर्देशित गरेअनुसार गाउँपालिका चल्नुपर्ने हो । यसको कुनै पालना नभएर व्यक्तिको आदेशका भरमा चल्न थालेपछि हामीले विरोध गरेका हौं,’ वडा ६ का अध्यक्ष तिलकबहादुर खडकाले भने, ‘वडास्तरबाट माग भई आएका जनताका आवश्कतामा आधारित योजना सम्बोधन नहुने भएपछि हामीले गाउँसभा बहिष्कार गरेका हौं ।’ उनले गाउँसभा बैठक बोलाउँदासमेत आफूहरूसँग सल्लाह नगरिएको बताए ।

योजना बाँडफाँड गर्ने विषयमा अघिल्ला वर्षमा पनि अध्यक्षले मनोमानी गर्दै आएको र अति भएपछि गाउँसभा नै बहिष्कार गर्नुपरेको वडाध्यक्षहरूको गुनासो छ । ‘आफ्नै वडामा हालिएका योजनाबारे हामीलाई थाहा हुँदैन । एकैपटक उपभोक्ता समिति वनाएर वडामा सिफारिस माग्न आएपछि मात्र योजना परेको रहेछ भनेर थाहा पाउछौं,’ वडा २ का अध्यक्ष डबलबहादुर सिंहले भने, ‘न कार्यपालिकामा यो विषयमा निर्णय हुन्छ । न अरू बैठकहरूमा छलफल हुन्छ । आफ्नै मनोमानीले योजना वितरण हुने गरेका छन ।’

गाउँ कार्यपालिका बैठकमा समेत आफ्ना विचार राख्न नदिने, आफुलाई मन लागेको व्यक्तिलाई मात्र बोल्न दिने र कुनै पनि विषयमा छलफल नगरीकन दवावका भरमा निर्णय गर्ने प्रवृत्ति हावी हुँदै गएको वडाध्यक्षहरूको भनाइ छ । ‘जनताका समस्याबारे कहिल्यै छलफल हुँदैन । हामी जनप्रतिनिधिहरूलाई रबर स्ट्याम्प जस्तै बनाइएको छ,’ एक वडाध्यक्षले भने, ‘आफू मात्र जनप्रतिनिधि हुँ । मैले जे भन्यो त्यही लागू हुनुपर्छ भन्ने दम्भ अध्यक्षको छ । हामीले जनताका समस्याको विषयमा छलफलै गर्न पाएका छैनौं ।’

यता खप्तड छान्ना गाउँपालिका अध्यक्ष रोकायाले गाउँसभामा आफुले नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्न खोजेको तर बजेटको बाँडफाँड नगरिसकेकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताए । उनले भने, ‘त्यो दिन नीतिमा छलफल गर्ने कार्यक्रम मात्र थियो बजेटको कुरै थिएन । विषयगत शिर्षकमा बजेट छुट्याएर बाँकी रहेको सबै मिलेर बाँडौं भनेकै छु । उहाँहरूको चाहाना के हो ? बुझ्नै सकिएन ।’

प्रकाशित : असार १०, २०७६ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

श्रमिकले पाएनन् औजार

कान्तिपुर संवाददाता

डोटी — प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको छनोटमा परेका श्रमिकहरूले निर्माणमा आवश्यक औजार नपाइएको गुनासो गरिरहेका छन् । कामका क्रममा चोटपटक लाग्दा पनि उपचार नपाएको उनीहरूले दुखेसो पोखे । 

निर्माण कार्यमा आवश्यक फरुवा, घन, गैंटी, बेल्चा, साबल, बाटा जस्ता सामग्री स्थानिय सरकारले उपलब्ध गराउन नसकेको उनीहरूको दुखेसो छ । आफूहरूले घरबाट सामग्री ल्याएर काम गरिरहेको उनीहरूले बताए ।

‘काममा खटिएको ४ दिन भइसक्यो अझै हातमा निर्माण सामग्री दिइएको छैन,’ केआईसिंह गाउँपालिका ५ रानागाउँस्थित सरस्वती माविमा पर्खाल निर्माणमा जुटेकी गंगादेवी मल्लले भनिन्, ‘घरबाटै आफ्ना औजार ल्याएर काम गरिरहेका छौं ।’ उनी वडा ५ मा रहेका श्रमिक समिति संयोजकसमेत हुन् । उनले सामग्री नभएर काम गर्न समस्या भइरहेको बताइन् । अर्की श्रमिक विष्नादेवी राणाले कामका क्रममा चोटपटक लाग्दा उपचारका लागि समस्या भएको गुनासो गरिन् ।

केआईसिंह गाउँपालिकामा ३ सय ७० श्रमिक छन् । गाउँपालिकाले उनीहरूलाई सडकका नाली मर्मत तथा विद्यालयका पर्खाल निर्माणमा खटाएको छ । तर रोजगार संयोजक सुरेन्द साउँदले भने सामग्री खरिदमा केही ढिला भएकाले मात्र औजारहरू नपाएको बताए । जिल्लामा १ महिनाका लागि १ हजार ७ सय ४२ श्रमिक छन् ।

प्रकाशित : असार १०, २०७६ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT