२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

स्थानीय तहका महिला जनप्रतिनिधिको गुनासो–'काम गर्ने जिम्मेवारी दिइएन’

महिला सदस्यलाई बैठकका बेला मात्रै खोजी गरिने र अघिपछि कुनै सल्लाह र छलफलमा समावेश नगर्ने गुनासो 
मेनुका ढुंगाना

अछाम — स्थानीय तहमा निर्वाचित वडा तहसम्मका महिला सदस्यले जिम्मेवारी नपाएको गुनासो गरेका छन् । बैठकका बेला मात्रै खोजी हुने र अघिपछि कुनै सल्लाह र छलफलमा समेत नबोलाइने गरिएको उनीहरूले बताए । 

स्थानीय तहका महिला जनप्रतिनिधिको गुनासो–'काम गर्ने जिम्मेवारी दिइएन’

‘गाउँले र मतदाता हामीले नेता बनायौं । जान्ने बुझ्ने हुनुभयो, अहिले हाम्रा कुरा सुन्नै हुन्न भन्छन्,’ मंगलसैन नगरपालिका १३ बस्तीकी महिला वडा सदस्य सरु धामीले भनिन्, ‘हाम्रा समस्याका बारेमा बोल्नु हुन्न भनेर महिला गुनासो गरिरहेका हुन्छन् ।’


महिलालाई भेटिएपछि के गुनासो गर्ने हुन भन्ने पीर लाग्ने गरेको उनले बताइन् । मंगलसैन नगरपालिका– २ की भुन्टी ढोली दलित महिला सदस्यमा निर्वाचित भइसकेपछि उनीसँग समूदायका महिलाले विभिन्न गुनासो गरिरहेका हुन्छन् ।


तर आफुले वडामा हुने बैठकमा हस्ताक्षर गर्नेबाहेक अन्य कुनै पनि जिम्मेवारी र भूमिका नपाएको बताइन् । ‘दलित वर्गको अधिकारका लागि यो गर्छु, त्यो गर्छु भनेर भोट मागेँ तर अहिले केही पनि गर्न नसक्दा खिन्न भएकी छु,’ उनले भनिन्, ‘वडाअध्यक्षले पनि खासै समन्वय गर्दैनन् । हामीले बोलेको कुरा सुन्ने पनि कोही छैनन् ।’


वडा ५ की सदस्य पारु नगार्जीको गुनासो पनि उस्तै छ । ‘सामान्य परिवेशबाट राजनीतिमा आइयो । केही जानिएला, बुझिएला र समुदायका लागि केही गर्न सकिएला भन्ने लागेको थियो । तर, अहिलेसम्म कुनै अवसर पाएको छैन,’ उनले भनिन्, ‘खुल्लाबाट जितेका वडा सदस्यलाई त कुनै जिम्मेवारी छैन भने हामीले त कोटामा जितेका भएर होला कसैले टेर्दैनन् ।’ दलित कोटाबाट निर्वाचित सदस्य आफ्नो भूमिका र जिम्मेवारीका विषयमा अनभिज्ञ छन् । ‘हाम्रो भूमिका के भन्ने पनि थाहा छैन,’ नगार्जीले भनिन्, ‘बैठकमा बोलाए जाने हो । नत्र घरकै काममा व्यस्त हुन्छु । हस्ताक्षर गर्ने बाहेक अरू काम छैन ।’


आफ्नो जिम्मेवारी खोज्दाखोज्दै कामविहीन बनेको अर्की महिला सदस्य गंगा थापाले बताइन् । ‘वडामा योजना छनोट कसरी हुन्छन्, अनुगमन र भुक्तानी कहिले हुन्छ, हामीलाई केही जानकारी हुँदैन । खोजीनिति गरेपनि जानकारी पाइँदैन ।’ उनले भनिन्, ‘स्नातक तहसम्म अध्ययन गरेकी छु । क्षमता पनि छ । तर मुल्याकंन कसैले गर्दैनन् । जिम्मेवारी दिँदैनन् ।’


वडाका महिलाले आफूहरूलाई के योजना छन् भनेर सोधपुछ गर्दा जवाफ दिन नसकेको उनको भनाइ छ । ‘महिला लक्षित योजना खै भनेर दिदीबहिनी सोध्छन् । कतिपय अवस्थामा त गाली पनि सहनुपरेको छ,’ उनले भनिन्, ‘वडा अध्यक्ष बाहिर हुँदा एक पटक कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी थिएँ । त्यो बेला पनि खासै केही गर्न सकिएन ।’


समुदायमा राम्रो काम गरे पुरुषले गरेको भनिन्छ, तर नराम्रो भयो भने महिलाले गरेको भन्दै भ्रम सिर्जना गर्ने गरिएको मंगलसैन ४ की सदस्य भावना केसीले बताइन् ।


‘अध्यक्ष नहुँदा महिलालाई कार्यवाहक दिन पनि अप्ठ्यारो मान्छन् तर म बोलेरै कार्यवाहक पनि भएँ । वडामा अध्यक्ष र सचिवको मात्रै काम देखिन्छ,’ उनले भनिन् । काम गर्ने जिम्मेवारी नपाएकामा उनीहरू सबैको साझा गुनासो छ ।

प्रकाशित : असार ५, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?