पानी नपर्दा रोपाइँ ढिलाइ

निर्मला खडायत

धनगढी — धनगढी १३ की ६० वर्षीया बाटुदेवी बलायर खेततिर हेर्दै टोलाउँदै थिइन् । गत वर्ष यति बेलासम्म खेतमा रोपेको धान हरियो भइसकेको बताउँदै उनले यसवर्ष रोपाइँ गर्न ढिलो भइसकेको सुनाइन् । 

पानी नपर्दा रोपाइँ ढिलाइ

‘गतवर्ष त यतिबेला धान हरियो भइसकेको थियो, यो वर्ष बिउ जोगाउन पनि गाह्रो भएको छ,’ बलायरले भनिन्, ‘पानी नपरेर हैरान भएका छौं ।’ पानी नपर्दा ढिलो गरी बीउ छरेको भए पनि रोप्ने बेलामा पनि पानी नपर्दा किसानलाई समस्या भएको छ । ‘बोरिङ हुनेले रोपाइँ सुरु गरेका छन्, तर नहुनेले आकासे वर्षाको भर पर्नुको विकल्प छैन,’ उनले भनिन्, ‘अझै केही दिन वर्षा नभए बिउ सुकेर जाने भयो ।’


कैलालीका किसान वर्षाको प्रतीक्षामा छन् । उनीहरू कहिले पानी पर्ला र धान रोप्न सुरु गरौंला भन्ने आशामा छन् । समयमै वर्षा नहुँदा खेतमा धानको बिउ सुक्न थालिसकेको उनीहरूले बताए । कतिपयले बोरिङको पानीबाट रोपाइँ सुरु गर्न थालेका छन् ।

सामान्यतया बिउ छरेको १ महिनामा किसान रोपाइँ सुरु गर्छन् । तर यो वर्ष वर्षा ढिलो हुँदा किसान चिन्तामा छन् ।


उनीहरू समयमै धान रोप्न नपाए उत्पादन घट्ने बताउँछन् । ‘समयमा बिउ र मल नपाउँदाको चिन्ता एकातिर छ भने समयमै पानी नपर्दा रोपाइँको पिरलो छ,’ उनले भनिन् । एकछिन आकाशमा बादल लाग्दा किसानको मुहारमा खुसी झल्किन्छ । अहिले उनीहरू वर्षा हुने आशामा बसेका छन् । ‘बादल लागे वर्षा हुने आशा बढ्छ,’ बलायरले भनिन्, ‘केही दिनयता बादल लाग्न सुरु भएपछि आशा बढेको छ ।’ वर्षा अनिश्चित भएपछि केही किसान बोरिङको मद्दतबाट रोपाइँ सुरु गर्न थालिसकेका छन् ।


‘पानीको आश गर्दा गर्दै ढिलो भइसक्यो । त्यसैले वैकल्पिक सिँचाइको प्रबन्ध गरिरहेका छौं,’ गंगा चौधरीले भनिन् । यसवर्ष धान रोप्न ढिलो सुरु गरिएकोले उत्पादनमा ह्रास आउँछ कि भन्ने चिन्ताले उनलाई पनि सताएको छ । अर्की किसान पुनिया चौधरीले पोहोर समयमै रोपाइँ गर्न पाउँदा उत्पादन बढेको सुनाइन् ।


प्रदेश कृषि मन्त्रालयका उपसचिव यज्ञराज जोशीले लामो समयको धान रोप्नमा किसानलाई ढिलाइ भइसकेको बताए । उनले जेठ अन्तिम सातादेखि नै धान रोप्न सुरु गरिसक्नुपर्ने भए पनि वर्षा नहुँदा समस्या भएको बताए । ‘लामो समयको धान जेठ अन्त्यतिरबाट रोप्न थालिसक्नुपर्छ,’ जोशीले भने, ‘वर्षा नहुँदा अधिकांश किसानका खेत बाँझै छन् ।’ समयमै धान रोप्न पाएनन् भने उत्पादनमा ह्रास आउने उनले बताए ।


‘असोजको अन्त्यतिर धान फुलिसक्नुपर्ने हुन्छ,’ उनले भने, ‘नत्र उत्पादन घट्छ ।’ प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिवसमेत रहेका जोशीले अहिलेसम्म कैलालीमा ५ प्रतिशत किसानले मात्र रोपाइँ सकेको बताए ।

प्रकाशित : असार ५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?