जिप दुर्घटना : बझाङको मस्टा शोकमग्न

वसन्तप्रताप सिंह

बझाङ — एउटै गाउँका १० जनाको ज्यान गएको दुर्घटनाले बझाङको मस्टा गाउँपालिकाका बासिन्दा शोकमग्न छन् । सोमबार भएको जिप दुर्घटनामा मारिनेको बुधबार शवयात्रासहित सामूहिक दाहसंस्कार गरिएको छ ।


बझाङको मस्टा–१ मा भएको दुर्घटनाका दिवंगतको शवयात्रामा सहभागी ।तस्बिर ः वसन्तप्रताप/कान्तिपुर

कोटदेवल गाउँका ९ जनाको बुधबार सदरमुकाम नजिक सेती किनारको धौलाबगरमा र जिन्नाडा घर भएका जिपचालक सुरेन्द्र थापाको जिन्नाडीगाडमा अन्त्येष्टि गरिएको हो । बझाङमा भएको यो अहिलेसम्मकै ठूलो सडक दुर्घटना हो ।

कोटलदेवल तथा जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका स्थानीय शवयात्रामा सहभागी भएका थिए । दलका नेताहरू र स्थानीय तहका जनप्रतिनिधिसमेत जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्म पुगे । दुर्घटनामा आमाबुबा र भाइ गुमाएका कोटदेवलका सन्देश खड्काले मृतकहरूलाई सामूहिक दागबत्ती दिएका थिए ।

अन्त्येष्टिको दृश्य देख्दा मृतकका आफन्त र परिवारका सदस्य शोकमग्न थिए । गहिरो शोकमा परेका केहीको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । ‘यस्तो डरलाग्दो घटना कहिल्यै नहोस्,’ कोटदेवलका ७० वर्षीय गोरख खड्काले भने, ‘हाम्रो त गाउँ नै सोत्तर भयो ।’ एउटा परिवारका दुई जनाबाहेक सबैको मृत्यु भएको र ५ परिवारका नाबालक केटाकेटीले अभिभावक गुमाएको उनले बताए ।

जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको से१झ १०७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । घटनामा १० जनाको मृत्यु भएको थियो भने ५ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा एउटै गाउँका बासिन्दा परेका हुन् । मृत्यु हुनेमा मस्टा–१ कोटदेवलका कलकबहादुरखड्का, उनकी श्रीमती जुनधारा र छोरा सरोज खड्का छन् ।

यस्तै नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, लक्ष्मी द्धाल र जिपचालक सुरेन्द्र थापाको पनि मृत्यु भएको थियो । गम्भीर घाइते गणेश खड्का, अनीता बोहरा र गोकुल शाहीको नेपालगन्ज र अन्य दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मस्टा–१ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको जिप करिब एक हजार मिटर तल अनागाड खोला किनारको भीरमा अडकिएको थियो । मान्छे सजिलै पुग्न नसकिने भीर भएकाले शव र घाइते निकाल्न निकै गाह्रोपरेको थियो ।

दुर्घटनाले गाउँपालिका शोकमा डुबेको भन्दै मस्टा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकले शोक प्रस्ताव पारित गर्दै सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको थियो । बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत नगद ५ हजार र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताए ।

‘अभिभावक गुमाएर बिचल्ली परेका बालबालिकाको पालनपोषण र शिक्षादीक्षाबारे पनि के गर्न सकिन्छ भने हामी छलफल गरिरहेका छौं,’ उनले भने । जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको रोहबरमा भएको छलफलमा जिपधनीले मृतकका परिवारलाई नगद ३ लाख क्षतिपूर्ति र घाइतेको उपचारका लागि सबै खर्च बेहोर्ने सहमति भएको मस्टा–१ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए ।

प्रकाशित : असार ५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

निःसन्तान महिलामाथि हिंसा बढ्दो

माया श्रेष्ठ

काठमाडौँ — हुम्लाकी ३२ वर्षीया सुनीता कार्कीको विवाह भएको १३ वर्ष भयो । आठ वर्षसम्म पनि सन्तान नभएपछि श्रीमान्ले सौता भित्र्याए । सौताबाट पनि सन्तान भएन । ‘जाँच गर्दा श्रीमानको समस्या देखियो,’ काठमाडौंमा भेटिएकी उनले भनिन् । 

सुनिता अंशबाट समेत वञ्चित छिन् । घरमा सासूससुराले अंशबन्डा गर्दा सन्तान नभएको भन्दै दिन नमानेको उनले बताइन् ।
काठमाडौंकी अर्की महिला विवाहको १४ वर्षसम्म पनि सन्तान नभएपछि श्रीमान्सँग विभिन्न अस्पताल धाइन् । ‘दुई पटकसम्म उपचारमा डाक्टरले लापरबाही गर्‍यो,’ ती महिलाले भनिन्, ‘फेरि आसले उपचार गर्दै छौं । उपचारपछि पनि सन्तान भएन भने कानुनी प्रक्रियाअनुसार धर्मपुत्र वा पुत्री पाल्छौं ।’ विवाह गरेपछि २/३ वर्षसम्म बच्चा भएन भने घरपरिवार र समाजले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन हुने उनले सुनाइन् ।

निःसन्तान हुँदा श्रीमान्, घरपरिवार र समाजबाट हिंसा खेपिरहेका महिला थुप्रै छन् । स्त्री रोग तथा हार्मोन विशेषज्ञ डा. उमा श्रीवास्तवका अनुसार विवाह गरेको दुई वर्षसम्म श्रीमान्/श्रीमतीसँगै बसेर अस्थायी साधन प्रयोग नगर्दा पनि महिनावारी रोकिएन वा गर्भ बसेन भने त्यो अवस्थालाई निःसन्तान भनिन्छ । श्रीमान् र श्रीमती दुवैका कारण निःसन्तान हुन सक्ने उनले बताइन् ।

‘पुरुषको शुक्रकिट उत्पादन नहुनु, हार्मोनको गडबडीे, यौनरोगको संक्रमण वा शुक्रकिट उत्पादन भए पनि बाहिर नआउने समस्या भए बाँझोपन हुन सक्छ,’ उनले भनिन् । यस्तै महिला महिनावारी हुँदा परिपक्व डिम्ब उत्पादन हुनुपर्छ । डिम्बाशय विकास नभएको अवस्थामा महिनावारी अनियमित भएर समस्या आउने उनले बताइन् । ‘महिलाको डिम्बबाहिनी नली बन्द भएको अवस्थामा पनि गर्भ बस्दैन,’ उनी भन्छिन््, ‘पाठेघरको छेउछाउमा मासु पलाउने, फोका आए पनि गर्भ नअडिने हुन्छ ।’

बच्चा बस्ने पाठेघर र नलीमा ट्युमर भए पनि बच्चा गर्भमा नबस्ने उनले बताइन् । असुरक्षित गर्भपतन गराउँदा, यौनरोगको संक्रमण हुँदा र हार्मोनको गडबडी महिलामा देखिने समस्या हुन् । दुवैको प्रजनन अंग स्वस्थ भए मात्रै सन्तान जन्मने उनले बताइन् । ‘सन्तान भएन भनेर श्रीमतीलाई जाँच गराउन आउँछन्,’ उनी भन्छिन्, ‘श्रीमान्/श्रीमती दुवैको जाँच गर्दा श्रीमानको समस्या भएको पनि पाइन्छ ।’

पूर्वजन्ममा पाप गरेकाले बच्चा जन्माउन नसकेको भन्दै समाजमा महिलालाई लान्छना लगाउने गरिएको डा. अरुणा उप्रेती बताउँछिन् । ‘निःसन्तान हुँदा एकाध शिक्षित परिवारबाहेकमा महिलामाथि हिंसा भइरहेको छ,’ उनले भनिन्, ‘महिलाको सम्पूर्ण व्यक्तित्व नै पाठेघरमा सीमित भयो । निःसन्तान हुनुमा महिलाको मात्रै दोष हुँदैन ।’

डा. उप्रेतीका अनुसार छोरी–छोरी जन्माएपछि छोराकै लागि अपवादबाहेक दोस्रो विवाह गर्ने चलन कायमै रहेकाले निःसन्तान महिलामाथि हिंसा हुने गरेको छ । ‘निःसन्तान किन भइन् भनेर उपचार गराउनु साटो महिलालाई दोषी देखाएर बहुविवाह गर्ने मानसिक र शारीरिक पीडा दिएका घटना गाउँगाउँमा देखिन्छ,’ उनले भनिन् ।

डा. श्रीवास्तवका अनुसार, प्रायः निःसन्तान महिला बढी चिन्तित हुन्छन् । नजिकका आफन्तले नराम्रो व्यवहार गर्दा डिप्रेसनको सिकार हुने गरेका छन् । ‘शिक्षित परिवारका सदस्य नै बुहारीबाट बच्चा हुन्छ कि हुँदैन भनेर सोध्छन्,’ उनी भन्छिन््, ‘बच्चा नभए छोराको अर्को विवाह गरिदिने भन्दै सल्लाह लिन आउँछन् ।’

सरकारले निःसन्तान दम्पतीहरूको पहुँचमा टेस्टट्युब बेबी (अर्थात् आईभीएफ) प्रदेश तह र क्षेत्रीयस्तरसम्म पुर्‍याउन सके महिलामाथि हुने हिंसा कम हुने जानकारहरू बताउँछन् । उपत्यका बाहिर एकाध स्थानमा मात्रै ‘आईभीएफ’ छ । लगभग ३० प्रतिशत सफल हुने यो प्रविधि निःसन्तान दम्पतीको पहुँचमा भए महिलामाथि हुने हिंसामा न्यूनीकरण हुन सक्ने डा. श्रीवास्तवले बताइन् । उनले यस प्रविधिलाई सरकारले करमुक्त गराएर प्रदेशहरूमा स्थापना गर्नुपर्ने बताइन् । ‘यसले शिशु चोर्ने/हराउने जस्ता समस्या कम हुन्छ,’ उनी भन्छिन्, ‘आत्महत्या र डिप्रेसनको अवस्थासम्म महिला पुग्दैनन् ।’

क्यान्सर, मिर्गौला, मुटु रोगको उपचारका लागि सहुलियत जस्तै निःसन्तान उपचारका लागि मापदण्ड बनाए सहज हुने उनले बताइन् । मध्यम वर्गीय परिवारका लागि बाँझोपनको विशेषज्ञ उपचार खर्चिलो भएको उनको भनाइ छ । ‘बाँझोपनको सामान्य उपचारमा कम खर्च भए पुग्छ,’ उनी भन्छिन्, ‘विशेषज्ञ उपचारका क्रममा खर्च धान्न नसकेर बीचमै छाड्छन् ।’ निजी अस्पतालमा भने यो उपचारका लागि शुल्क फरक–फरक लाग्छ ।

प्रकाशित : असार ५, २०७६ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्