१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जागरण ल्याउँदै आमा समूह

मेनुका ढुंगाना

अछाम — विनायककी बलिसरा २ वर्ष पहिले घरायसी खर्चका लागि पनि भारतबाट श्रीमान्ले पैसा पठाउने दिन कुर्थिन् । मजदुरी गरेर श्रीमान्ले पठाएको पैसाले घरमा रहेका ७ जनाको परिवारको गुजारा गर्नुपर्थ्यो । 

हाल उनको आर्थिक अवस्था बदलिएको छ । गाउँमा आमा समूह गठन भएपछि महिनाको ५० रुपैयाँ बचत गर्छिन् । घर नजिकैको बारीमा तरकारी खेती गरेर बिक्री गर्छिन् । त्यसैको आम्दानीले उनको परिवारको घरखर्च भ्याउँछ ।


‘पहिलेभन्दा अहिले आर्थिक रूपमा सुधार भएको छ । श्रीमान्ले पैसा पठाउने दिन कुर्नै पर्दैन । समूहमा बचत गर्न थालेपछि आवश्यक परेको बेला निकाल्छु । फेर िबचत गर्छु ।’ बलिसरा भन्छिन्, ‘श्रीमान्लाई पैसा चाँडो पठाउनुस् भन्दै धेरै पटक भनाभन पनि भयो । तर आफूले बचत गर्न थालेदेखि पारिवारिक सम्बन्ध बलियो भएको छ ।’ महिलाहरू आर्थिक रुपमा सक्षम भए पारिवारिक सम्बन्ध पनि राम्रो हुने उनको बुझाइ छ ।


विनायककै लक्षिमा शाही पनि आमा समूहमा आबद्ध भएपछि क्षमता, नेतृत्व विकास र घरायसी कामभन्दा बाहिरी वातावरणमा घुलमिल हुने अवसर पाएकोमा खुसी देखिन्छन् । ‘समूहमा आबद्ध भएपछि मैले समाजलाई नजिकबाट चिन्ने मौका पाएँ,’ लक्षिमा भन्छिन्, ‘जेठानी देवरानीसँगको आत्मीयता बढ्यो । आत्मनिर्भर बन्ने अवसर पाइयो ।’


सुरुसुरुमा सामान्य परिचय मात्र दिन सिकाउने आमा समूहहरूले हाल भने सरसफाइ, स्वास्थ्य प्रजनन, परिवार नियोजन, शिक्षा, लैंगिक विभेदको अवस्था, घुम्ती ऋणकोष सञ्चालन जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेका उनले बताइन् । ‘घरको चुलोचौको छोड्न नसक्ने हामी महिला आमा समूहमा आबद्ध भएपछि आफ्ना समस्या र आवश्यकताहरू सबै समक्ष सहजै राख्न सक्ने भएका छौं ।’


आमा समूहमा जुटेकी अर्की सदस्य नारु शाही भन्छिन्, ‘खास गरी हाम्रो आमा समूहले स्वास्थ्य प्रजननसम्बन्धी सिक्ने र सिकाउने गरेको छ ।’ सहकारी तथा समूहहरूमा जोडिन थालेपछि महिलाहरू स्वास्थ्य प्रजनन र सरसफाइमा धेरै सचेत भएका छन् ।


अझै पनि कतिपय महिलालाई आफूले सिकेका कुरा घरमा जानकारी गराउने उचित वातावरण भने नभएको उनीहरूको भनाइ छ । आमा समूहमै सदस्य रहेकी रूपा शाहीले भनिन् ‘पहिलेको तुलनामा हामी दिदीबहिनीमा धेरै परिवर्तन आएको छ । बरु पुरुषहरूबाट सोचेजस्तो सहयोग पाइएको छैन ।’


समुदायमा सक्रिय भएका समूहलाई विभिन्न संघसंस्था र स्थानीय तहले पनि विभिन्न कार्यक्रम गर्न खोज्छन् । महिलाहरू सक्रिय सहभागिता जनाउँछन् । सामाजिक कुसंस्कार जस्ता विकृति हटाउनका लागि बुहारी उमेरका मात्रै होइन, सासूहरू पनि समूहमा आबद्ध हुन थालेका छन् ।


‘हामी विभिन्न कार्यक्रम, बैठकमा गएर धेरै कुरा सिक्छौं । तर घरमा सासूलाई बुझाउन नसके फाइदा नहुने भएपछि सासूलाई पनि आबद्ध गरेका छौं ।’ सल्लारुख स्वास्थ्य आमा समूहकी सदस्य धनशोभा बुढाले भनिन्, ‘महिनावारी भएका बेला घरमा बस्छौं त भन्छौं, तर सासूससुराले बस्न दिँदैनन् । ’

प्रकाशित : असार ३, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?