२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

किसानलाई रोपाइँको चटारो

किसान भन्छन्, ‘राखेको बीउ विगत जस्तो खडेरीले डढेको छैन, केही दिन यस्तै मौसम भयो भने रोपाइँ पनि सुरु हुन्छ’
मोहन शाही

डोटी — केही दिनयताको वर्षातले पहाडी जिल्लाका किसानलाई राहत भएको छ । विगतजस्तो खडेरी नपर्ने भन्दै किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन् । खेत खनजोत गर्ने, प्रांगारिक मल हाल्ने, बीउ राख्ने काम भइरहेको छ । केही स्थानमा भने रोपाइँ नै सुरु भइसकेको छ । लेकाली क्षेत्रहरूमा दैनिक वर्षा भइरहेकाले किसानहरू रोपाइँको चटारोमा छन् ।

किसानलाई रोपाइँको चटारो

‘केही दिनयता साँझ–बिहान पानी परिरहेको छ, त्यसले जमिन भिजेको छ,’ सायल गाउँपालिका ३ का दीर्घ बोगटीले भने, ‘राखेको बीउ विगत जस्तो खडेरीले डढेको छैन, केही दिन यस्तै मौसम भयो भने रोपाइँ पनि सुरु हुन्छ ।’ केही दिनयताको वर्षातले जोरायल क्षेत्रमा रोपाइँ सुरु भइसकेको वडा ३ का दिनेश मल्लले जनाए ।


सिँचाइ कुलो भएकाले पनि रोपाइँका लागि सहज भएको उनले बताए । जिल्लाको जोरायल क्षेत्र सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । स्थानीय बासमती चामल उत्पादन हुने जोरायलमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले धान उत्पादनका लागि सिँचाइँ, बीउ तथा कृषि प्रणालीमा सहयोग गर्दै आएका छन् ।


जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा करिब ३० प्रतिशत धान रोपाइँ भइसकेको छ । डोटीमा कुल १० हजार ६६५ हेक्टरमा धान रोपाइँ गरिन्छ । सिँचाइ पर्याप्त नहुँदा अधिकांश किसानले पाखो जमिन बाँझो छोड्ने गरेका छन् । कतिपय किसान भने पाखो जमिनमा पानी नहुँदा धानको बीउ छर्ने गर्छन् ।


केन्द्रको तथ्यांकअनुसार गत वर्ष जिल्लामा अघिल्लो वर्षभन्दा प्रति हेक्टरमा २.१४ प्रतिशतले धान उत्पादनमा बढेर २२ हजार ४ सय ४४ टन धान फलेको थियो । यद्यपि अझै बजारबाट चामल किनेर खाने परिवार उलेख्य छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका सचिव महेशराज विष्टले केही दिनयताको वर्षाले किसानलाई राहत भएको बताए ।


यद्यपि कतै पानी पर्ने कतै नपर्ने भएकाले अहिल्यै मनसुन सुरु नभएको उनको भनाइ थियो । जिल्ला सदरमुकाममा भने पानी नपर्दा धानको बेर्नासमेत राख्न सकिएको छैन । पूर्वीचौकी गाउँपालिकामा पनि पानी परेको छैन । जमिन सुक्खा भएकाले बीउसमेत राख्न नपाएको पूर्वीचौकी गाउँपालिका काडामाण्डौंका हेमराज जोशी बताउँछन् ।


उनले आकाशे पानीको पर्खाइमा किसानहरू रहेको बताए । किसानहरूले पाखो जमिनमा उजगले नामको धान लगाउने गर्छन् । अन्य पानी लाग्ने जमिनमा जोरायल बासमती, धनहास, हंसराज, खुम्लचार, ठेसे, थापाचिनीलगायत जातका धान लगाउने गरेको किसान दीपकबहादुर थापाले जनाए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?