किसानलाई रोपाइँको चटारो

किसान भन्छन्, ‘राखेको बीउ विगत जस्तो खडेरीले डढेको छैन, केही दिन यस्तै मौसम भयो भने रोपाइँ पनि सुरु हुन्छ’
मोहन शाही

डोटी — केही दिनयताको वर्षातले पहाडी जिल्लाका किसानलाई राहत भएको छ । विगतजस्तो खडेरी नपर्ने भन्दै किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन् । खेत खनजोत गर्ने, प्रांगारिक मल हाल्ने, बीउ राख्ने काम भइरहेको छ । केही स्थानमा भने रोपाइँ नै सुरु भइसकेको छ । लेकाली क्षेत्रहरूमा दैनिक वर्षा भइरहेकाले किसानहरू रोपाइँको चटारोमा छन् ।

धान रोपाइँको तयारीका लागि हलो जोत्दै डोटीको शिखर नगरपालिका गोपघाटका किसान । तस्बिर : मोहन/कान्तिपुर

‘केही दिनयता साँझ–बिहान पानी परिरहेको छ, त्यसले जमिन भिजेको छ,’ सायल गाउँपालिका ३ का दीर्घ बोगटीले भने, ‘राखेको बीउ विगत जस्तो खडेरीले डढेको छैन, केही दिन यस्तै मौसम भयो भने रोपाइँ पनि सुरु हुन्छ ।’ केही दिनयताको वर्षातले जोरायल क्षेत्रमा रोपाइँ सुरु भइसकेको वडा ३ का दिनेश मल्लले जनाए ।

सिँचाइ कुलो भएकाले पनि रोपाइँका लागि सहज भएको उनले बताए । जिल्लाको जोरायल क्षेत्र सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । स्थानीय बासमती चामल उत्पादन हुने जोरायलमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले धान उत्पादनका लागि सिँचाइँ, बीउ तथा कृषि प्रणालीमा सहयोग गर्दै आएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा करिब ३० प्रतिशत धान रोपाइँ भइसकेको छ । डोटीमा कुल १० हजार ६६५ हेक्टरमा धान रोपाइँ गरिन्छ । सिँचाइ पर्याप्त नहुँदा अधिकांश किसानले पाखो जमिन बाँझो छोड्ने गरेका छन् । कतिपय किसान भने पाखो जमिनमा पानी नहुँदा धानको बीउ छर्ने गर्छन् ।

केन्द्रको तथ्यांकअनुसार गत वर्ष जिल्लामा अघिल्लो वर्षभन्दा प्रति हेक्टरमा २.१४ प्रतिशतले धान उत्पादनमा बढेर २२ हजार ४ सय ४४ टन धान फलेको थियो । यद्यपि अझै बजारबाट चामल किनेर खाने परिवार उलेख्य छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमका सचिव महेशराज विष्टले केही दिनयताको वर्षाले किसानलाई राहत भएको बताए ।

यद्यपि कतै पानी पर्ने कतै नपर्ने भएकाले अहिल्यै मनसुन सुरु नभएको उनको भनाइ थियो । जिल्ला सदरमुकाममा भने पानी नपर्दा धानको बेर्नासमेत राख्न सकिएको छैन । पूर्वीचौकी गाउँपालिकामा पनि पानी परेको छैन । जमिन सुक्खा भएकाले बीउसमेत राख्न नपाएको पूर्वीचौकी गाउँपालिका काडामाण्डौंका हेमराज जोशी बताउँछन् ।

उनले आकाशे पानीको पर्खाइमा किसानहरू रहेको बताए । किसानहरूले पाखो जमिनमा उजगले नामको धान लगाउने गर्छन् । अन्य पानी लाग्ने जमिनमा जोरायल बासमती, धनहास, हंसराज, खुम्लचार, ठेसे, थापाचिनीलगायत जातका धान लगाउने गरेको किसान दीपकबहादुर थापाले जनाए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्

सडक सञ्जालमा जोडिए सबै स्थानीय तह

मनोज बडू

दार्चुला — जिल्लाका सबै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । अपीहिमाल, व्यास, दुहु र लेकम गाउँपालिकामा यसै वर्ष सडक यातायातको पहुँच पुगेको छ । यससँगै दार्चुलाका ९ वटै स्थानीय तहमा सडक यातायातको पहुँच पुगेको हो ।

मालिकार्जुन गाउँपालिका ७, जौलजिवीनजिक महाकाली करिडोरमा गाउँपालिकाद्वारा निर्माणाधीन शंकरपुर–जौलजिवी खण्ड । तस्बिर : मनोज/कान्तिपुर 

व्यासको केन्द्र सुन्सेरा, लेकम रअपीहिमाल गाउँपालिकाको केन्द्रनजिक सडक पुग्दै छ । यी गाउँपालिका भौगोलिक रुपमा विकटमा मानिन्छन् । यही वर्ष यी पालिकाहरूमा सडक पहुँच पुगेको हो । अन्य स्थानीय तहमा भने यसअघि नै सडक सञ्जालमा जोडिइसकेका थिए । ‘जिल्लाका सबै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन्,’ नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भने ।

मार्मा र नौगाड गाउँपालिकाका विकट बस्तीहरूमा पनि सडक निर्माण भइरहेको छ । स्थानीय तहहरूले सडकलाई पहिलो प्राथमिकतामा राखेपछि यातायातको पहुँच पनि बढ्दै गएको हो । नौगाडले पनि विभिन्न बस्ती जोड्ने गरी सडक निर्माण गरिरहेको अध्यक्ष धामीले बताए ।

शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी सडक निर्माण भएका छन् । उक्त नगरपालिकामा नगरपालिका र प्रदेश सरकारले ग्रामीण सडक निर्माण गरिरहेका हुन् । व्यास गाउँपालिकाको सुन्सेरा सदरमुकामदेखि ३३ किमि दूरीमा पर्छ । तिंकर सडक सुन्सेरासम्म पुग्न १० वर्ष लाग्यो ।

निर्माण सुरु भएपछि छिटै पुग्ने आश गरेका स्थानीय बासिन्दा गाडी गुड्न दशक लागेपछि दिक्क भए पनि अहिले खुसी लागेको बताउँछन् । ‘अब पिठ्युमा भारी बोक्नु नपर्ने भयो,’ सुन्सेराकी ५५ वर्षीया शकुन्तला कुँवरले खुसी हुँदै भनिन्, ‘सुरुमा तिंकर सडक सर्भे हुँदा ४/५ वर्षमै सुन्सेरालगायत आसपास क्षेत्रमा गाडी गुड्ने आश्वासन पाइएको थियो ।’

व्यास गाउँपालिकाको मुख्य सडकै यही हो । गाउँपालिकाले हालसम्म अन्य शाखा सडक बनाएको छैन । यो सडकले व्यास गाउँपालिकाका सिना र राप्लाबाहेक अन्य सबै गाउँ जोड्ने भएकाले शाखा सडक आवश्यक नभएको स्थानीय बताउँछन् । अहिलेको सडकमा सुधार गरी ग्रेड मिलान गर्न सके यातायात सञ्चालनमा सजिलो हुने जिप व्यवसायी महादेव जोशीले बताए । तिंकर सडकले श्रीबगड, बम्हमदेव, धारी, हिकिला, पीपलचौरी, हुती, धौलाकोट, सुन्सेराका दर्जनौं बस्ती जोडेको छ ।

अपीहिमाल गाउँपालिका ४, खण्डेश्वरीका शोभानसिंह लोथ्याललाई घरबाट सदरमुकाम आउन ३ दिन लाग्थ्यो । अहिले उनी एक दिनमै सदरमुकाम पुगेर काम गर्न भ्याउँछन् । मकरीगाडसम्म सडकले छोएपछि एकै दिनमा सदरमुकाम पुग्न सकिने उनले बताए । अपीहिमालका घुसा र खण्डेश्वरी गाउँका स्थानीयले पनि हाल सदरमुकाम पुग्न ३ दिन हिँड्नु पर्दैन । मकरीगाडसम्म गाडी पुगेपछि उनीहरूलाई सदरमुकाम आवतजावत सहज भएको हो ।

अपीहिमाल गाउँपालिकाको ओखलसम्म सडक पुगेको छ । ‘पारिबगड(खण्डेश्वरी सडके नबनेसम्म यहाँका स्थानीयले दैनिक उपभोग्य वस्तु पनि मार्मा गाउँपालिकाको लटिनाथ बजारबाट भारी बोक्नुपर्ने अवस्था थियो,’ मकरीकोटका कमलसिंह धामीले भने, ‘अहिले मकरीकोट माथिसम्म गाडी गुडिरहेका छ ।’

उक्त सडकले पारिबगड, धरमघर, मकरीकोटलगायत माथिल्लो क्षेत्रका बस्तीलाई सडक सञ्जालमा जोडेको छ । लेकम गाउँपालिकामा महाकाली कोरिडोर निर्माणाधीन छ । प्रदेश र स्थानीय तहले विभिन्न ठाउँहरूमा सडक निर्माण गरिरहेका छन् । लेकममा ५ सडक निर्माणाधीन अवस्थामा छन् । राष्ट्रिय राजमार्गसहित स्थानीय सरकारले सडक निर्माण गरिरहेको हुनाले गाउँपालिकाको केन्द्र रातामाटासम्म चाँडै सडक पुग्ने लेकम १, सर्मोलीका रमेशसिंह साउँद बताउँछन् ।

‘माथिबाट रातामाटानजिक रिठाचौपातासम्म सडक पुगिसकेको छ । तलबाट खरकडा नजिक पुग्दै छ,’ उनले भने, ‘लेकमका प्रत्येक बस्तीमा केही वर्षभित्रै सडकको पहुँच पुग्ने देखिन्छ ।’ सडक पुगेपछि ग्रामीण क्षेत्रको विकासले फडो मार्नेमा स्थानीय बासिन्दा आशावादी छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्