हिंसाका घटनामा मिलापत्र

निर्मला खडायत

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा नजमा खान (नाम परिवर्तन) मलिन अनुहार लाएर भित्र पसिन् । ४ वर्षअघि धनगढीमा मजदुरी गर्ने एक युवकसँग उनको विवाह भएको थियो । अहिले ४ सन्तान छन् । अर्को बच्चा गर्भमा हुर्किरहेको छ । इद मनाउन ससुराली गएका उनका श्रीमान्ले नजमाकी आफ्नै बहिनी भगाएर लगे । 

केही समयपछि महिला सेलकै कक्षमा अर्को हूल पस्यो । कञ्चनपुरका १८ वर्षीय युवकले दाङबाट विवाहित महिलालाई भगाएर ल्याएको प्रकरणमा उक्त समूह प्रहरी कार्यालय पुगेको थियो ।


माइतीबाट दाइको घर जान्छु भनेर आएकी महिला र घरबाट भारत रोजगारीका लागि जान भनी निस्केका एक युवा भागेर जाने योजनामा रहेका बेला आफन्तले पक्रेर ल्याएका रहेछन् । हिजोआज यस्तै गुनासा र उजुरीको संख्या महिला सेलमा बढेको छ । दैनिक १० वटासम्म उजुरी आउने गरेको महिला सेलकी एक प्रहरीले बताइन् ।


यस्ता उजुरी सकभर मिलापत्रमा टुंग्याइने गरेको छ । महिला सेलका प्रहरी दुवै पक्षलाई झिकाएर सम्झाउने, उनीहरूका अभिभावकसँग छलफल गरेर समस्या समाधान गर्नतर्फ लाग्छन् । धेरैजसो घरायसी झगडाबाट उत्पन्न सम्बन्धविच्छेदसम्मको अवस्था मिलापत्रमा टुंग्याउने गरिएको उनीहरू बताउँछन् ।


कैलाली जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आर्थिक वर्ष ०७२/७३ मा परेका १ सय ८५ उजुरीमध्ये १ सय ५ वटा मिलापत्रमा टुंगो लगाइएको छ । जसमा २० जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ६० जना सम्पर्कमा नै आएनन् । ०७३/७४ मा १ सय ९७ उजुरी परे । तीमध्ये १ सय ३२ उजुरीमा मिलापत्र गरियो ।


२२ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको प्रहरी कार्यालयले जनाएको छ । ४३ जना सम्पर्कमै आएनन् । यस्तै आर्थिक वर्ष ०७४/७५ का १ सय ७३ उजुरीमध्ये १ सय १३ वटामा मिलापत्र भएको कार्यालयले जनाएको छ । २३ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ३७ जना सम्पर्कमा नै आएका छैनन् ।


चालु वर्ष ०७५/७६ को हालसम्म परेका ६४ उजुरीमा ३९ वटा मिलापत्रमै टुंग्याइएको छ । १२ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ६ जना सम्पर्कमा नै आएका छैनन् । महिला सेलमा आउने यस्ता घटना अधिकांशमा मेलमिलाप हुने गरेको छ । जघन्य प्रवृत्तिको घटनामा मात्र अनुसन्धान गरेर मुद्दा चलाइन्छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?