१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्वास्थ्य स्वयंसेविका 'दुर्गमका डाक्टर’

स्वास्थ्य चौकीको अभाव र जनचेतनाको विकास नभएका गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा दिनु कम चुनौतीपूर्ण छैन
मेनुका ढुंगाना

अछाम — मंगलसैनकी ४५ वर्षीया मंगला बिक महिला स्वास्थ्य स्वयम्सेविकाको काम गर्दै आएकी छिन् । जातीय विभेद धेरै भएको समाज भएपनि दलित समूदायको बाहुल्यता भएकाले २६ वर्षअघि उनलाई नै स्वयम्सेविका बनाउन सबै गाउँलेहरू राजी भएका थिए । त्यस यता उनी निरन्तर गाउँघरमा स्वास्थ्य सेवा दिइरहेकी छिन् ।

स्वास्थ्य स्वयंसेविका 'दुर्गमका डाक्टर’

सुरुसुरुमा गैरदलितका घरमा पुग्दा उनले कैयौ पटक जातीय विभेद खेप्नु नपरेको होइन । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकी हुँ । तर पछि उनीहरूको घरमा जाँदा पनि धेरै गाली पाइयो । कुटाइ खाने अवस्थासमेत आयो’ उनले भनिन्, ‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’


खोप लगाए घाउ बन्छ, गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको सम्झिदै उनले भनिन् ‘ठुलै डाक्टर भएर आइ, हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ।’ आमा समूह बनाएपछि काम गर्न अलि सहज भएको उनको भोगाई छ । ‘त्यसयताको समयमा भने कतिका ज्यान बचाइयो हिसाव छैन । अहिले परिस्थिती बदलिएको छ । गाउँका बासिन्दा मलाई नै डाक्टर ठान्छन्’ उनले भनिन् ।


पछिल्ला वर्षहरूमा गाह्रो अप्ठ्यारो परेका बेला गाउँलेहरूले सुरुमा सम्झनै पात्र उनै मंगला हुन् । अहिलेसम्म उनले आफ्नो टोलका बिरामी र धेरै गर्भवती महिलालाई बोकेर स्वास्थ्य चौकी पुर्‍याएकी छन् । उनी गाउामा स्वास्थ्य स्यवयमसेविका हुादासम्म कसैलै दुःख पाउदैनन् भन्ने गाउाका बासिन्दाको सोचाई छ । घरमै सुत्केरी हुनेबेला साल र बच्चाको घाँटी एकै ठाउँमा बेरिएपछि १० वर्षअघि मंगलसैन ५ की गंगा विष्टको ज्यान स्वयमसेविकाकै कारण जोगियो । स्वयमसेविका मंगललाले २ जना मान्छे जुटाएर गंगालाई जिल्ला अस्पताल पुर्‍याएकी थिइन् ।


‘मंगला दिदी नभए म साह्रै दुःख पाउाथे, मेरो लागि भगवान नै भएर आउनु भयो’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् ।’ उनी जस्तै गाउाका सबै महिलाहरू स्वास्थ्य समस्या देखिने बित्तिकै महिला स्वास्थ्य स्वयमसेविकाको खोजी गर्छन् ।


समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान, सासुससुरालाई भन्दा पहिला आफुलाई सुनाउने गरेको अर्की स्वयम्सेविका मथुरा ढुंगानाले बताइन् । ‘आफु गर्भवती भएको कुरा श्रीमान सासु, ससुरालाई पहिला भन्यो भने झााक्री खोज्न निस्किहाल्छन् । त्यो भन्दा तपाईसँग सल्लाह लिन आएको हुँ भन्छन् ।’


बच्चाले जन्मने वित्तिकै श्वास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता समस्या देखिए जोखिम हुने भन्दै अस्पताल जानुपर्ने सल्लाह दिने गरेको उनले बताइन् । त्यसका लागि नियमित गर्भ जाँच गर्न सबैलाई सम्झाउँने गरेको उनी बताउँछिन् । स्वास्थ्य सम्बन्धि आधारभूत जानकारी भएपनि धेरैका ज्यान जोगिने अवस्था आउने उनले बताइन् ।


समुदायका निमोनिया भएका बालबालिकाको उपचार गर्ने तथा जटिल निमोनियाका बिरामीहरूलाई स्वास्थ्य संस्थामा रिफर गर्ने काम समेत आफुहरूले गरीरहेको अर्कि स्वाथ्य स्यवमसेविका अमृता आउजीले बताइन् । ‘धेरै पटक मैले पनि स्टेचरमा गर्भवतीलाई स्वास्थ्य चौकी पुर्‍याएकी छुा । अमृताले भनिन् ‘सबैले आफ्नो ठान्छन्, जेठानी देउरानी सुखदुख साटासाट गर्छन् यसैमा खुसी छु ।’


आफूले समुदायमा सुरक्षित प्रसूति सेवा, खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन, शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्वका बारेमा तालिम पाएको उनले बताइन् । भनिन् ‘अहिले घरमा नै सुत्केरी हुने महिला कोही छैनन् ।’


पछिल्ला दिनमा स्वास्थ्य संस्थामा पनि दक्ष स्वास्थ्यकर्मीबाट मात्रै सुत्केरी सेवा लिनुपर्छ भन्ने जानकारी बढै गएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?