कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लोप हुँदै परम्परागत पेसा

डीआर पन्त

डडेलधुरा — नन्दी टमटाले बनाएका पित्तलका आकर्षक पानस कुनै बेला डडेलधुरादेखि राजधानी काठमाडौं हुँदै जर्मनीसम्म पुग्थे । जर्मनी मात्र होइन, बौद्ध धर्मावलम्बी भएका विभिन्न देशमा उनले बनाएका पानस मात्र पुगेनन् घण्टा र अन्य पूजामा चाहिने पित्तलका भाँडा पनि पुगे ।

लोप हुँदै परम्परागत पेसा

सीपमा प्रख्याती कमाएका उनी दशक यता आफ्नो पेसा छोडेर दैनिक मजदुरी गरेर गुजारा गरिरहेका छन् । उनी जस्तै भागेश्वर ४ डुंगरीका दर्जनौं दलित परिवारले पनि आफ्नो पेसा छोडेको दशक बितिसकेको छ ।


कुनै समय डडेलधुराका विभिन्न गाउँमा बसोवास गर्दै आएका विश्वकर्मा समुदायले बनाएका पित्तल, तामा र फलामका भाँडाको बजार टाढा टाढासम्म फैलिएको थियो । ‘डडेलधुराका टमटाले बनाएका भाँडावर्तन भनेपछि सुदूर र मध्य पहाडी क्षेत्रमा हातोहात बिक्री हुन्थे,’ ९६ वर्षीय कालु टमटाले भने ‘अब त सबैले यो पेसा छोडेर कोही तराई पलायन भए कोही रोजगारीका लागि भारत छिरे । गाउँमै रहेकाले पनि दैनिक मजदुरी गरेर गुजारा गर्न थालेका छन् ।’


भाँडा मात्र होइन, बाँस, निंगालो जस्ता वन पैदावारबाट आकर्षक घरायसी सामान बनाउने पार्की र कैनी जातका दलितले पनि आफ्नो परम्परागत पेसा छोडिसकेका छन् । जंगलमा सहज रूपमा पाइने बाँस र निंगालोबाट डोको, डालो, नाङ्लो, चाल्नी, टपरी, भकारी, छाप्री लगायतका घरायसी प्रयोजनका सामान बनाएर बिक्री गर्ने उनीहरूले जंगल विनाश भएपछि परम्परागत पेसा छाड्न बाध्य हुनु परेको हो । सुदूरका पहाडी जिल्लामा महाभारत जंगल क्षेत्रमा बाँस र निंगालो पाइन छाडेपछि उनीहरूको परम्परागत कला र सिप पनि लोप हुँदै गएको हो ।


दलित सुमदायका यी जातिबाहेक लावड, ओड, सार्की लगायतका सबै जातजातिको परम्परागत पेसा संरक्षण र संवर्द्धन हुन नसक्दा लोप हुँदै गएको छ । उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्न राज्यले कुनै चासो नदिएकाले कलाका धनी दलित समुदाय मजदुरमा परिणत भएका छन् ।


तिब्बती व्यवसायी दोर्जी लामा भन्छन्, ‘पछिल्लो २ दशकदेखि बिस्तारै यस क्षेत्रका दलितले बनाएका सामग्री तिब्बती बजारमा आउनै छाडेका छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?