भारततर्फ पक्की, नेपालमा तारजाली

मनोज बडू

(दार्चुला) — : महाकाली नदी किनारका बस्ती तारजाली तटबन्धको भरमा छन्  । तटीय क्षेत्रका दर्जनौं बस्ती तटबन्धकै भरमा हुँदा बर्खामा ठूलो बाढीले बगाउने खतरा उत्तिकै छ  ।

भारततर्फ पक्की, नेपालमा तारजाली

तटीय क्षेत्रका बासिन्दा महाकालीमा २०७० मा आएको बाढीपछिका दिन त्रासमै बिताइरहेकोलेकम गाउँपालिका ३, लालिका तारासिंह भण्डारीले बताए । ‘बाढी आएपछि तटबन्ध निर्माण सुरु भएको हो । कामचलाउ मात्रै,’ उनले भने, ‘बढीमा दुई/तीन तह तारजालीको तटबन्ध निर्माण भएको छ । २०७० मा जस्तै महाकाली उर्लिएर आए यसले धान्ने अवस्था छैन ।’ नदीको सतह बढ्नेबित्तिकै तटीय क्षेत्रमा जमिन कटान हुने हुँदा जोखिम नभएको ठाउँमा तारजालीकै भए पनि तटबन्ध निर्माण गर्नुपर्छ ।

२०७० मा आएको बाढीले दार्चुलामा नदी किनारका बस्तीमा ठुलो क्षति गरेपछि सदरमुकाम खलंगा क्षेत्रमा पक्की तटबन्ध निर्माण भईरहेको छ । महाकाली नदी नियन्त्रण आयोजनाले खलंगालगायत आसपास क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्ने बताए पनि यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । धेरै ठाउँमा नदीको बहाव नेपालतिर छ । उक्त ठाउँमा तारजालीको तटबन्ध निर्माण गरिए पनि बर्खामा त्यस माथिबाट पानी बग्ने र तटीय क्षेत्रको जमिन बर्सेनि कटान हुने गरेको लालीका किशनसिंह विष्ट बताउँछन् ।

भारतले आफ्नोतर्फको नदी तटीय क्षेत्रमा बस्ती भएको सबै ठाउँमा पक्की तटबन्ध बनाएको छ । ‘भारततिर पक्की र नेपालतर्फ तारजालीको कमजोर तटबन्धले गर्दा स्थानीयमा त्रास बढेको हो,’ मालिकार्जुन गाउँपालिका ६ का चन्द्रबहादुर पालले भने, ‘यसले नदीको वहाब हाम्रोतर्फ फर्केको छ । पारिको पक्की तटबन्धले नदीको धार परिवर्तन भई नेपालतिर बढी कटान हुँदै आएको छ ।’ चट्टान नभएको ठाउमा बर्षेनी ठूलो मात्रामा क्षति पुर्‍याउँदै आएको छ ।

तटीय क्षेत्रमा सदरमुकामभन्दा तल धाप, असिकाडा, सकार, काकडा, दत्तु, बेत, जौलजिवि, भोल्यानी, उकु, बाकु, लाली, राडमलगायत बस्तीमा कटान हुने गरेको हो । त्यहाँ केही ठाउँमा तारजालीको अस्थायी तटबन्ध निर्माण गरिएको छ । आयोजनाले सदरमुकामको कोर एरिया बाहेक महाकाली तटीय क्षेत्रमा यसअघि ८ किमिमा तटबन्धको काम पूरा गरेको जनाएको छ । आयोजनाका अनुसार व्यास गाउँपालिकाको तिग्रमदेखि लेकम गाउँपालिकाको लाली राडमसम्मका जोखिमयुक्त ठाउँमा तारजालीको तटबन्ध निर्माण गरिएको आयोजनाका निमित्त प्रमुख दामोदर सापकोटाले बताए ।

२०७० मा महाकालीमा आएको बाढी र त्यसपछिका विभिन्न समयमा पुर्‍याएको क्षतिले तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको भागमा तटबन्ध निर्माण गर्नुपर्ने हुँदा २० प्याकेज बनाएर उक्त कार्य सम्पन्न गरिने लक्ष्य छ । उक्त प्याकेजमा अहिले बगिरहेको नदीको सतहसम्म पक्की र त्यसमाथि तारजालीको तटबन्ध निर्माण गरिने आयोजनाले जनाएको छ । तटबन्ध ब्यास गाउँपालिकाको सुन्सेरादेखि लेकम गाउँपालिकाको लालीका विभिन्न भागमा निर्माण गरिने आयोजनाका निमित्त प्रमुख सापकोटाले बताए । अहिले करिब १ किमिमा तटबन्ध निर्माणका लागि प्राविधिक प्रतिवेदन बनाएर विभागलाई पठाएको र उक्त प्रतिवेदन विभागले पास गरेर छिटै टेण्डर खोलिने उनको भनाई छ ।

तटीय क्षेत्रमा नदीले कटान सुरु गरिसकेको र गर्ने तयारीमा रहेको ठाउँहरूमा तटबन्ध निर्माण गर्न सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराईरहेको लेकम गाउँपालिका ३ का वडाध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । बस्ती भएको ठाउँमा पक्की र अन्य ठाउँमा तारजालीकै भए पनि तत्काल तटबन्ध निर्माण सुरु गर्न महाकाली नदी नियन्त्रण आयोजना कार्यालय र अन्य सरोकारवाला निकायको धेरै पटक ध्यानाकर्षण गरिएको उनले बताए । ‘एक महिना अगाडी महाकाली नदी नियन्त्रण आयोजनाका प्राविधिक टीमले स्थलगत निरिक्षण गरेका छन छन्,’ जोशीले भने, ‘जोखिमयुक्त सम्भावित ठाउँमा तटबन्ध निर्माणको काम चाडै अगाडि बढाइने आश्वासनसमेत दिएका हुन् ।’

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?