१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘दिगो विकासमा योगदान पुग्ने बजेट ल्याऊ’

अर्जुन शाह

(धनगढी) — आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा दिगो विकास लक्षित बजेट ल्याउन विभिन्न क्षेत्रका अगुवाहरूले सरकारलाई सुझाएका छन्  । नीति तथा कार्यक्रम पारित गरिसकेको सुदूरपश्चिम प्रदेश सरकारले असार १ मा २९ अर्बको बजेट ल्याउने तयारी गरिएको जनाएको छ  ।

‘दिगो विकासमा योगदान पुग्ने बजेट ल्याऊ’

‘कनिका छरेजस्तो बजेट नल्याई दिगो विकासमा योगदान हुने बजेट ल्याउन सुझाव दिएका छौ’ उद्योग बाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले भने ‘ठूलो योजना ल्याउनु पर्‍यो ।’ आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको तयारीका क्रममा राजनीतिक दल, स्थानीय तह, विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग सुझाव लिइरहेको छ । सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमका सहभागि अधिकांशले कृषि, उद्योग, जलविद्युत, पर्यटन विकासमै जोड दिएका छन् । ‘प्रदेशकै बासिन्दा, नीजि क्षेत्र र सरकारको सहभागिता जुटाउने जलविद्युतको ठूलो योजना ल्याउन सकिन्छ’ ओझाले भने ।

मन्त्रालयले ८८ वटै स्थानीय तहका जनप्रतिनिधि र कार्यकारी अधिकृतहरूसँग पनि बजेटका बारेमा छलफल तथा अन्तर्क्रिया गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले उत्पादनमूखी बजेट ल्याउनु पर्नेमा जोड दिएका छन् । ‘प्राकृतिक साधनस्रोतको उपयोग गर्दै रोजगारी बढाउने बजेट योजना ल्याउन सुझाएका छौ’ बडिमालिका नगरपालिका बाजुराका प्रमुख पदमबहादुर बडुवालले भने ‘विकट तथा मानव विकासमा पछाडी परेको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन अनुरोध गरेको छौ । सेती लोकमार्ग अछाम, बझाङ र बाजुराको विकासका लागि मेरुदण्ड हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छौ ।’

पर्यटन तथा स्थानीय विकास क्षेत्रका योजनाकार डा. प्रेम शर्माले प्रदेश विकासको महत्वपूर्ण आधार पर्यटन भएपनि हालसम्म धेरैले हलुका रुपमा पर्यटन भन्ने गरेको बताउँछन् । गुरु योजना बनाएर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारले लगानी गर्नुपर्ने उनले बताए । ‘पर्यटन विकासका नाममा दामासाहीका नाममा रकम बाँड्ने प्रवृतिले विकास हुन्न’ उनले भने । साथै उनले हरेक योजना जनस्तरीय तहबाट माग भई आउनुपर्ने बताए । ‘अहिले प्रदेशसँग योजना छैन । सरकारले योजनाका नाममा पैशा अन्धाधुन्ध छरिरहेको छ’ उनले भने ‘कतिपय योजनाहरूको जनतासँग कुनै सम्बन्ध देखिदैन् । त्यसो हुने भए ठूलो त्रुटी हुन्छ ।’

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विजय कुँवरले सेती लोकमार्ग, ताक्लाकोट पुग्ने सडकमा प्राथकिता दिनुपर्ने बताए । कृषिमा आधुनिकीकरण गर्नुका साथै जैविक विविधताको संरक्षणमा प्राथमिकता दिइनुपर्ने बताउँदै कुँवरले भने ‘वन, खानी लगायत प्राकृतिक स्रोतमा लगानी गरेर आत्मनिर्भरता बढाउने योजना ल्याउनु पर्छ ।’शिक्षाविद डा. हेमराज पन्तले जिविकोपार्जनका कार्यक्रममा प्राथमिकता दिइनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?