३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नगरपालिकामा तालाबन्दी

बाजुरा — बूढीनन्दा नगरपालिकाको कार्यालयमा लगाइएको ताला अझै खुलेको छैन । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्नेबारे गरेको विवादित निर्णय खारेज गर्न माग गर्दै स्थानीयले कार्यालयमा जेठ २२ देखि तालाबन्दी गरेका हुन् ।

नगरपालिका ५ र ७ वडाका बासिन्दाले जनजीवनको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रूपमा डम्पिङ साइट निर्माण गर्ने निर्णय खारेजीको माग गरी कार्यालय बन्द गरिएको वडा ५ का छक्क विकले बताए ।


कार्यालयमा तालाबन्दी गरिएपछि कर्मचारी आउने र घर फर्किने गरेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि वडा ५ र ७ को बीच भागलाई जोड्ने चाटाबगर रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरू बताउँछन् । कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको वडा ७ का भरत विकले बताए ।


दुवै वडाका वडाध्यक्ष समेतले जनताको मागलाई ध्यान नदिएर नगर प्रमुखको आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनतालाई पर्ने असरको बेवास्ता गरिएको आरोप लगाएका छन् । तालबन्दीसँगै दिनभर कोल्टीमा नारा जुलुससहित विरोध प्रदर्शन भए ।


खोलानजिकै फोहर व्यवस्थान गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिंगो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदुषित हुने असन्तुष्ट पक्षको दाबी छ ।


आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिफारिस बनाउनकै लागि पनि ४ दिन कुर्दा पनि कार्यालय बन्द हुँदा बनाउन नसकेको स्थानीय जसी कडाराको गुनासो छ । कडारा जनता आवासअन्तर्गतको घर निर्माणको भुक्तानीका लागि सिफारिसका बनाउन ४ दिनदेखि नगरपालिका धाइरहेकी छन् ।


नगरपालिकाले काम सुरु भइसकेकाले लगानी डुब्ने हुँदा त्यसै स्थानमा निर्माण गर्ने बताएको छ । ठेक्का लगाउनेदेखि विकास निर्माणका काममा समेत नगरपालिका विवादित बन्दै आएको आन्दोलनरत पक्षको आरोप छ । नगरपालिकाले ताला खुलाउन प्रयास जारी राखेको बताएको छ ।


प्रहरी लगाएरै भए पनि ताला खुलाउने अन्त्यमा बल प्रयोग योजना नगरपालिकाले बनाएको छ । पहिलो साता सबै प्रकारका सम्झौतालाई जिल्लामा पठाइसक्नुपर्ने र भुक्तानीको समयमा कार्यालय बन्द हुँदा थुप्रो काममा बाधा पुग्ने नगरपालिकाले बताएको छ । वार्तामा बस्ने र छलफल गर्ने क्रम पाँच दिन देखि चलिरहेको र कार्यालयमा तालाबन्दी रहेको उपप्रमुख सृष्टी रेग्मीले स्वीकार गरेकी छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?