३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

स्वरोजगार कार्यक्रममा पुरुषको आवेदन शून्य

मेनुका ढुंगाना

(अछाम) — यहाँका महिला ग्रामीण विकासका योजनामा अग्रसर हुन थालेका छन् । उनीहरू आफैं उपभोक्ता समितिमा बसेर गोरेटो बनाउने, भवन निर्माणलगायत सामुदायिक विकासमा सक्रिय हुन थालेका हुन् ।

स्वरोजगार कार्यक्रममा पुरुषको आवेदन शून्य

गाउँमा उपभोक्ताले निर्माण गर्ने योजनामा महिलाहरू धेरै सहभागी हुने गरेको मंगलसैन नगरपालिका ३ की पारु साउँदले बताइन् । ‘महिला र पुरुष काम गर्ने ठाउँमा पुरुषलाई बढी र महिलालाई कम ज्याला दिने गरिन्थ्यो । अहिले महिला धेरै र बोल्न सक्ने भएकाले ज्यालामा पनि समानता छ,’ उनले भनिन्, ‘गाउँमा महिला, बालबालिका र वृद्ध मात्रै छन् । गाउँमा आएका योजनामा काम गर्न बाहिरबाट मान्छे बोलाउनुभन्दा हामी आफैं लाग्छौं ।’


पहिले के योजना आउँथे र कसले काम गर्थे भन्नेबारे थाहै नपाउने महिलाहरू पछिल्ला दिनमा गाउँमा हुने विकासका योजना छनोट र निर्माणमा सक्रिय हुन थालेको स्थानीय मनसरा साउँद बताउँछिन् । ‘यसअघि महिलाले काम गर्ने अवसरै पाएका थिएनन् । महिलाहरूको काम चुलोचौको गर्ने र वनपाखा चहार्ने मात्रै थियो,’ उनले भनिन्, ‘पुरुषकै भर परेर गुजारा पनि चल्दैन् । मेसिनले गर्ने ठूला कामबाहेक अन्य हामी नै गर्न सक्छौं भनेर लागेका छौं ।’


उनका अनुसार महिलाले आफ्नो गाउँमै काम पाउँदा सडकमा पनि डोजर प्रयोग कम गरी काम दिनुपर्ने माग राख्न थालेका छन् । साउँदले भनिन्, ‘महिलाको नाममा आउने बजेटमासमेत पुरुषहरूकै हालिमुहाली हुन्थ्यो । छलफल गर्दै जाँदा महिलाहरूले अब यस्तो हुन नदिने गाउँमा आएको बजेटमा हिसाब खोज्न थालेका छौं ।’


अहिले यहाँका महिला आफ्ना लागि भनेर छुट्याइएको मात्र होइन समग्र नगरपालिका र वडाका हरेक योजनाको हिसाब माग्ने र त्यसबारे चासो राख्न थालेका छन् । ‘उपभोक्ता समिति गठन र भौतिक पूर्वाधार विकासमा मात्र होइन, कुसंस्कारविरुद्ध पनि हामी बोल्न थालेका छौं,’ स्थानीय भावना साउँदले भनिन् । उनका अनुसार बालविवाह, महिलामाथि हुने हिंसा, छाउपडी प्रथा, बहुविवाह सासूले बुहारीमाथि गर्ने हिंसा, पतिले पत्नी तथा छोरी–बुहारीलाई गर्ने हिंसाबारे पनि जानकारी गराउँछन् ।


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत वडा ३ मा १ सय ७२ जनाको दरखास्त परेकामा पुरुषको संख्या शून्य रहेको वडाध्यक्ष पदमसिंह भाटले बताए । ‘गाउँमै काम गर्नुपर्ने भएकाले प्रत्येक घरघरमा गएर बुझायौं । तर पुरुषले दरखास्त दिएनन्,’ उनले भने, ‘युवाहरू आफ्नो गाउँमा काम गर्नुभन्दा भारततिर जानु ठीक छ भन्ने प्रतिक्रिया दिन्छन् । यहाँका हरेक योजनामा काम गर्ने महिला नै हुन् ।’ वडाध्यक्ष भाटकाअनुसार अहिले गोरेटो बाटो निर्माणमा ४६ महिलाले काम गरिरहेका छन् । ‘कार्यालयमा काम गर्ने भए मात्र रोजगारी दिएको मान्छन् । गाउँमा काम गर्ने मान्छेको अभाव छ । पुरुषहरू सम्पर्क मै आउँदैनन्,’ उनले भने, ‘युवाहरूलाई बुझाउन गाह्रो छ । काम गर्न लाज मान्ने प्रवृत्ति हटाउनु नै हामीलाई ठूलो चुनौती छ ।’


प्रकाशित : जेष्ठ २७, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?