१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

शल्यक्रिया गराएर बच्चा जन्माउने बढे

धनगढी — पछिल्लो समयमा शल्यक्रिया गरी बच्चा जन्माउने प्रवृत्ति बढेको छ । ‘अवस्था जटिल भएकाले पहिलो पटकमै अप्रेसन गराएर बच्चा जन्माएँ । ७ वर्ष भइसक्दा अझै पनि घाउ दुखिरहन्छ,’ धनगढीकी सानु बोहराले भनिन् । १८ वर्षको उमेरमा विवाह गरेकी सानुले १९ वर्षमा बच्चा जन्माइन् । उनले सकभर प्राकृतिक अवस्थामै बच्चा जन्माउँदा सहज हुने सुझाउँछिन् ।

शल्यक्रिया गराएर बच्चा जन्माउने बढे

कैलालीमा पछिल्लो समय शल्यक्रिया गरी बच्चा जन्माउने बढेका छन् । धनगढीस्थित सेती अञ्चल अस्पतालको तथ्यांकमा बर्सेनि यो क्रम बढदै गएको सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । आव ०७२/७३ मा सुत्केरी भएका ६ हजार २ सय २२ मध्ये १ हजार ४ सय ५५ जनाले शल्यक्रियाद्वारा बच्चा जन्माएका हुन् ।


त्यसैको पछिल्लो वर्ष सुत्केरी भएका ७ हजार १ सय महिलामध्ये १ हजार ७ सय ६२ जनाले शल्यक्रिया गराए । आव ०७४/७५ मा सुत्केरी भएका ७ हजार, ५ सय ५३ महिलामध्ये १ हजार ८ सय ८० जनाले अप्रेशन गरी बच्चा जन्माएका हुन् ।


यो संख्या चालु आवमा अझ बढेको तथ्यांक छ । चालु आवको वैशाख मसान्तसम्म सुत्केरी भएका ६ हजार ४ सय ८७ मध्ये १ हजार ४ सय ४ जनाले शल्यक्रिया गराएका छन् । प्रसूति व्यथा सहन नचाहेर शल्यक्रिया गराएर बच्चा जन्माउन इच्छुक हुने अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट बताउँछन् । ‘खानपान र रहन सहनका कारण बच्चा जन्माउने बेला हुने कष्ट सहन उनीहरू तयार नभएर शल्यक्रिया गराउन खोज्छन्,’ डा. भट्टले भने, ‘गर्भवती अवस्थामा कसरत गरेनन् र खानेकुरामा ध्यान दिएनन् भने उनीहरूलाई बच्चा जन्माउँदा पीडा हुन्छ ।’


कतिपय निजी अस्पतालहरूले आर्थिक आम्दानीकै लागि शल्यक्रिया गर्न उक्साउने गरेको समेत डा. भट्ट बताउँछन् । ‘शल्यक्रिया गरे डाक्टर र अस्पताल दुवैलाई राम्रो आम्दानी हुने भएकाले सामान्य अवस्थामा पनि अप्रेसनका लागि उत्प्रेरित गर्ने चलन बढेको छ,’ उनले भने । सरकारी अस्पतालमा भने अस्पतालमा भएको सेवा सुविधा, बिरामीको चापले पनि शल्यक्रियाको दरमा फरक पार्ने उनले बताए ।


तत्कालका लागि सहज भए पनि शल्यक्रियाको दीर्घकालीन असर भने राम्रो नहुने डा. भट्ट बताउँछन् । सामान्य अवस्थामा भएका सुत्केरीको तुलनामा शल्यक्रियाद्वारा बच्चा जन्माएका महिलामा पछि गएर संक्रमण देखिने वा घाउ पाक्ने सम्भावना रहने उनको भनाइ छ । ‘आमा–बच्चा दुबैको ज्यान जोखिममा भए जोगाउन मात्रै शल्यक्रिया गर्नु उपयुक्त विकल्प हो,’ उनले भने ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?