कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वडा कार्यालयको काम होटलबाट

मोहन शाही

डोटी — बडीकेदार गाउँपालिका ४, मान्नाकापडीका गणेश बोहोरालाई विवाह दर्ता गर्नुपर्ने भयो । बोहोरा दम्पती विवाह दर्ताका लागि दुइत्यारमा रहेको शेरबहादुर बोहोराको होटलमा गए । होटलमा उनीजस्तै दर्ता, सिफारिसलगायत विभिन्न सेवा लिन आएकाको घुइँचो थियो । पालो कुरेरै भए पनि दर्ता प्रमाणपत्र लिएर बोहोरा घर फर्किए ।

वडा कार्यालयको काम होटलबाट

होटल सामान्यतः चिया, खाजा, खाना पाइने स्थान हो तर मान्नकापडीमा यतिबेला सिफारिस लिन वडा कार्यालय नगएर होटलमा जानुपर्ने अवस्था छ । ‘मान्नकापडीमा अहिले सेवा लिन पनि होटलमै आउनुपर्ने अवस्था छ,’ स्थानीय रमेश मौनीले भने, ‘बडीकेदार गाउँपालिका ४ स्थित दुइत्यार गाउँका शेरबहादुर बोहोराको होटल कार्यालय जस्तो भएको छ ।’ तर होटलबाटै कार्यालय सञ्चालन गर्नु कर्मचारी र त्यहाँका जनप्रतिनिधिको रहर नभई बाध्यता हो ।


वैशाख २३ मा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेपछि जनप्रतिनिधिहरू होटलबाट सेवा दिन बाध्य भएका हुन् । कार्यालयका महत्त्वपूर्ण कागजातसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि सर्वपक्षीय भेलाले तत्कालका लागि बोहोराको चिया पसलबाट सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।


‘वडा कार्यालय आगजनीबाट ध्वस्त भएपछि सेवा दिन गाह्रो भयो, पछि सबैको सल्लाहअनुसार होटलबाटै सेवा दिँदा फरक नपर्ने सल्लाह भएको हो,’ वडाध्यक्ष वीरेन्द्र कोटकेनीले भने, ‘सेवाप्रवाह गर्न अन्यत्र सार्वजनिक तथा सरकारी कार्यालय नभएकाले तत्कालका लागि त्यो व्यवस्था गरेका हौं ।’ ‘वडा कार्यालय बस्तीभन्दा केही नजिक, एकान्त ठाउँमा थियो,’ स्थानीय चक्र बोहोराले भने, ‘दुइत्यारमा रहेको होटल सबैलाई पायक पर्ने ठाउँ पनि छ ।’


वडा कार्यालयले आफ्ना महत्त्वपूर्ण कागजात लेटरप्याड, छाप, रसिदलगायत सामग्री नजिकै रहेको सामुदायिक अध्ययन केन्द्रको कार्यालयमा राख्ने गरेको वडाध्यक्ष कोटकेनीले बताए । उनले एउटै कोठा भएकाले अध्ययन केन्द्रमा साँझ सामान राखेर बिहान झिक्ने गरेको बताए ।


होटलका अगाडि राखिएका बेन्चमध्ये एउटामा वडाध्यक्ष, वडासचिव र कर्मचारी बस्ने गर्छन् । खाली ठाउँ भए सेवाग्राही पनि बेन्चमा बस्छन् । सेवाग्राही चौरमा । सानो छाप्रामा रहेको होटलले अघिल्तिर जस्तापाताले छाएर ग्राहकलाई बस्ने ठाउँ बनाएको छ । त्यसैको एकछेउमा चिया–खाजा पकाउने गरेको छ ।


कार्यालयको आफ्नै जमिन भए पनि भवन नभएको वडाध्यक्ष कोटकेनीले बताए । उनले यसै आर्थिक वर्षभित्र भवन निर्माणका लागि गाउँपालिकाले टेन्डर गर्न लागेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?