कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दर्ताबिनै औषधि पसल

झलारीमा अनुगमन

कञ्चनपुर — औषधि व्यवस्था विभाग नेपालगन्जले मंगलबार गरेको अनुगमनका क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रका मेडिकल दर्ताबिना सञ्चालन भइरहेका भेटिएका छन् । कतिपयले दर्ता बिनाका औषधिसमेत बिक्री गरिरहेको पाइएको छ । 

विभागका फार्मेसी अधिकृत विजय कार्की नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा एउटा मेडिकल र एउटा एग्रोभेट सिल गरिएको छ । झलारी बजारमा दर्ता नभई सञ्चालनमा रहेको अशोक क्लिनिक र कैलालीको अत्तरियामा दर्ता प्रमाणपत्र भई झलारीमा सञ्चालनमा रहेको शुभम बासुलिंग एग्रोभटलाई सिल गरिएको हो ।


‘मेडिकल र एग्रोभेटले दर्ता तथा ठाउँसारीको प्रमाणपत्रसहित विभागमा उपस्थित भई दर्ता हुन निर्देशन दिएका छौं,’ विभागका फार्मेसी अधिकृत कार्कीले भने, ‘२ वटा मेडिकल सञ्चालक भागेका छन्, अनुगमनलाई असहयोग गरेको छ ।’ उनीहरूलाई पनि विभाग र नगरपालिकामा उपस्थित हुन निर्देशन गरिएको छ । कार्कीका अनुसार झलारीमा रहेका वीर क्लिनिक र शिवशक्ति मेडिकल सञ्चालक भागेका हुन् ।


यसैगरी झलारी क्षेत्रका ३ मेडिकलले दर्ताबिनाको औषधि बिक्री गरिरहेको भेटिएको कार्कीले जानकारी दिए । उनीहरूलाई पनि विभाग र नगरपालिकाको कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको उनले बताए । अनुगमन टोलीमा शुक्लाफाँटा नगरपालिकाका प्रतिनिधिसँगै विभागका फार्मेसी सुपरभाइजर लोकेश गिरी र यादव ढकाल थिए ।


झलारी क्षेत्रका १ एग्रोभेट र ८ औषधि पसलमा अनुगमन गरिएको हो । ‘दर्ताबिनाको औषधि सञ्चय गरी बिक्री गर्नेलाई पनि विभागमा उपस्थित हुन निर्देशन गरिएको छ,’ कार्कीले भने, ‘त्यसपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ औषधि व्यवस्था विभागले बेलाबेलामा मेडिकलको अनुगमन गर्दै आएको भए पनि अनुगमनपश्चात कानुनविपरीत गर्नेलाई कारबाही भने विरलै हुने गरेको पाइन्छ । ‘नियमित अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउने तयारी छ,’ कार्कीले भने ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?