गर्मी छल्न बतासे झर्ना

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ को चुरे फेदमा निकै गर्मी छ । माथि उक्लिँदा गर्मी झनै बढ्छ । तर एक घण्टाको पैदल यात्रापछि जब चुरेको डाँंडामा रहेको झर्नासम्म पुगिन्छ उखर्माउलो गर्मी र उकालो चढदाको पीडा सबै बिर्साउँछ ।

गर्मी छल्न बतासे झर्ना

झर्नाको फेदमा बनेको तालमा पौडी खेल्दाको आनन्द बेग्लै छ । झर्नासंँगै बगेर तालमा झर्दा झनै आनन्द । यतिबेला शुक्लाफाँटा नगरपालिका ८ को चुरेमा रहेको बतासे झर्ना गर्मी छल्ने प्रमुख माध्यम बनेको छ ।


पश्चिम तराईमा गर्मी दिन प्रतिदिन बढदै गएको छ । यहांँका स्थानीय गर्मी छल्न खोला नाला र होटेलका स्विमिङ पुलमा पौडी खेल्न गइरहेका छन् । यी सबैका लागि गर्मी छल्न बतासे झर्ना उपयुक्त माध्यम बनेको छ । केही दिनयता बतासे झर्ना हेर्न र यहांँ पौडी खेल्न जानेको लर्को नै लागेको छ ।


‘अहिले बतासे झर्नामा पौडी खेल्न आउनेको भीड लागेको छ, बिदाका दिन त झन स्कुले विद्यार्थी र शिक्षकहरू समेत पिकनिकमा रमाउन पुग्छन्,’ शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महराले भने, ‘बतासे झर्ना गर्मी छल्ने माध्यमसँगै पर्यटनका लागि पनि प्रमुख गन्तब्य बनेको छ ।’ बनहरा नदीको शिरानमा रहेको बतासे झर्ना हालै पत्ता लागेको हो । सामाजिक सञ्जाल फेसबुकलगायत विभिन्न सञ्चार माध्यममा यसबारे जानकारी बाहिर आएपछि यहांँ जानेको भीड बढेको छ ।


बतासे झर्नामा जनप्रतिनिधिदेखि सञ्चारकर्मी पुग्न थालेका छन् । पत्रकार महासंघ कञ्चनपुर शाखाले यसै साता आफ्नो बैठकसमेत बतासे झर्नामै राख्यो । सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीका लागि वनभोज खान जाने प्रमुख स्थल पनि बनेको छ । बिदाका दिन चुरेफेदीदेखि झर्नासम्मै विभिन्न ठाउँमा खाना पकाइरहेको दृश्य देख्न सकिन्छ । बतासे झर्ना र त्यसभन्दा केही तल रहेको सानो झर्नामा पौडी खेल्नेको घुइँचो पनि त्यतिकै देखिन्छ ।


‘बतासे झर्ना हेर्न विभिन्न ठाउँबाट आउनेको संख्या बढेको छ,’ स्थानीय अर्जुन सिंहले भने, ‘झर्नाले बनेको नीलो तालमा पौडनुको बेग्लै मज्जा छ ।’ उनले झर्नासम्म पुग्ने व्यवस्थित बाटो र वनभोजका लागि उपयुक्त ठाउँ निर्माण भएमा अझै पर्यटकको संख्या बढ्ने बताए । शुक्लफाँटा नगरपालिकाको झलारी बजारदेखि उत्तरतिर करिब आधा घण्टामा मोटरसाइकल वा अटो रिक्साको यात्रापछि चुरे फेदीको धारापानी बस्ती आउँछ । बतासे झर्नाबाटै आएको पानीलाई कुलो निर्माण गरी यो बस्तीमा सिंँचाइको व्यवस्था मिलाइएको छ ।


यतिबेला धारापानी बस्तीमा समेत चैते धान र मकै लगाइएको छ । यहांँसम्म ठूला खालका सवारीसाधन पनि रिजर्भ गरी लैजान सकिन्छ । धारापानीबाट करिब एक/डेढ घण्टा उकालो चढेपछि बतासे झर्ना पुगिन्छ । झर्नासम्म पुग्न पैदल बाटो राम्रो नहुँदा हिँड्न अप्ठ्यारो छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?