विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

अछाम — अछामको मेल्लेख गाउँपालिका ७, नन्देगडाको दुर्गादेवी माविका शिक्षकहरू एक साता विद्यालय बन्द गरी आइतबारदेखि भ्रमणमा निस्किएका छन् ।

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

नमुना विद्यालयको भ्रमण गर्ने भन्दै बुटवल, पोखरालगायत ठाउँमा शिक्षकहरू भ्रमणमा निस्किएको विद्यार्थीको भनाइ छ । शिक्षकहरू फर्किएपछि मात्रै पढाइ चल्ने उनीहरू बताउँछन् । शिक्षकहरू भ्रमणमा निस्केपछि कक्षा १ देखि १० सम्मका करिब साढे ५ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ ।


शिक्षकहरूको भ्रमण सम्बन्धमा विद्यालय व्यवस्थापन समितिलाई पनि केही जानकारी छैन । ‘आफैं बैठक बसालेर विभिन्न जिल्लाका नमुना विद्यालय घुम्न जाने योजना बनाएकोबारे जानकारी छैन,’ व्यवस्थापन समिति अध्यक्ष नरबहादुर साउँदले भने, ‘व्यवस्थापन समितिबाट शिक्षकहरूको भ्रमणका सम्बन्धमा कुनै निर्णय भएको छैन ।’


अध्यक्ष साउदका अनुसार कृषितर्फको जेटीए पढ्ने विद्यार्थीको शैक्षिक अवलोकन भ्रमण गर्ने मिति भने तय भएको थियो । ‘तर शिक्षकहरूको बारेमा निर्णय भएको थाहा छैन,’ उनले भने । देशका नमुना विद्यालय भ्रमण गरी आफ्नो विद्यालय पनि नमुना बनाउने उद्देश्यले १८ शिक्षक भ्रमणमा निस्केको दुर्गा माविका का प्रधानाध्यापक कृष्ण विकले बताए ।


‘५ दिन भ्रमण गर्ने भनेर निस्केका हौं । अहिले छुटेको पढाइ वर्षे बिदामा पढाउँछौं । दुर्गा माविका मात्रै १३ शिक्षक छौं । अन्य विद्यालयका प्रधानाध्यापकहरू पनि भ्रमणमा हुनुहुन्छ,’ विकले भने । उनका अनुसार २६ गते मात्रै विद्यालयमा पढाइ सुरु हुनेछ ।


कार्यतालिकाविपरीत पढाइ ठप्प पारेर भ्रमणमा निस्कनु शिक्षा नियमावलीविपरीत हुने शिक्षा विकास तथा समन्वयका निमित्त एकाइ प्रमुख डम्बर रावलले बताए । भ्रमणमा मेल्लेख गाउँपालिका ७ भित्रका जानकी निमावि ग्वलेकोट, मंगलासैनी निमावि दुपाल्त, पुरानाकोट आधारभूत विद्यालय, सरस्वती प्राविका प्रधानाध्यापकहरू पनि सहभागी छन् ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?